समाजमा केही कन्जुस मानिस आफैंले कमाएको धन सम्पत्ति आफैंले खाँदा खाँदै आफैं सकिन्थ्यो तर केही दानी मानिसले आफूले कमाएको सम्पत्तिको केही अंश दान गरेर अरूलाई सहयोग पु¥याएर आफ्नो मन शन्तोष पार्दथे । कमाएको धन सम्पत्ति दान गर्ने चलन पनि मानिसहरूमा फरक फरक शैलीका छन् । यस्तै एउटा दानवीरले व्यापार व्यवसाय गरी केही धन सम्पत्ति कमाउँथ्यो । उसले कमाएको धन सम्पत्तिबाट हरेकवर्ष दान गर्ने गर्दथ्यो । यही क्रमलाई जारी राख्दै उसले आउँदो महिनामा धर्मकर्म गरेर पाठपूजा लगाएर ब्राम्हण भोजन गराउने आफ्नो सोच बनायो ।
उसले भ्रमणवर्ष २०२० नेपालका धार्मिक, पवित्र तीर्थस्थलहरूमा एक महिना लगाएर घुम्यो र घर फि¥यो । घरमा तिर्थभोज गर्न पूजापाठ, लगाउन ब्राह्मणहरूलाई निमन्त्रणा पठायो । पूजापाठ गर्न निमन्त्रणा गरेका सबै ब्राह्मणहरू आए । चिनेजाने जति सबैलाई पनि प्रसाद खान पनि निमन्त्रणा गरेको थियो । यो भूकमरिमा सित्तैमा खान पाउने भने पछि को आउँदैन र ? निमन्त्रणा गरेभन्दा पनि धेरै मानिसहरू घरभरि खचाखच भरिएका थिए । सबैलाई मेवा मिष्टान्न चौरासी ब्यञ्जन भोजन गरायो ।
निमन्त्रणा गरेका ब्राह्णहरूलाई यत्ति धेरै चौरासी ब्यञ्जन मेवा मिष्टान्न खुवायो कि कसैको पेटमा एक दाना अन्न पनि अट्ने ठाउँ थिएन । सबैजनाको पेट टन्न भरिएको थियो । बेला बेलामा ब्राह्मणहरु ढ्याउ–ढ्याउ गरेर डकार्दथे पनि । उनीहरुले बगलीमा दान दक्षिणा पनि सोचेभन्दा बढी नै पाएका थिए ।
उसको एउटा उद्देश्य थियो कि ब्राह्मणलाई भोजन गराउँदा सबैजना अति सन्तुष्ट हुन् ।
ब्राह्मणहरू भोज कार्यक्रममा सहभागी भएर मनग्ये भोजन गरेर दक्षिणा लिएर घर फर्कने तयारी गर्दै थिए ।
‘ब्राह्मण महोदय भोजको अन्तिम चीज त टक्¥याउन बाँकी नै रहेछ । क्षमा रहोस् । एकै क्षण त्यो महत्वपूर्ण मिष्टान्न लिएर मात्र विदा होऔंला । त्यो विशेष मिष्टान्न नखाए त भोज खाएको जस्तै हुँदैन ।’ व्यपारीले ब्राह्मणहरूलाई रोक्दै भने ।
व्यापारीको आग्रह सुनेर ब्राह्मणहरू छक्क परे । ‘के छ त अन्तिम चीज ?’ एउटा ब्राह्मणले अघि सर्दै बोले ।
व्यापारीले लालमनको भाँडो ब्राह्मणको अगाडि राख्दै भने, ‘लौ हेर्नूस त यही लालमन बाँकी रहेछ । जानेबेलामा सबैले आफ्नो मुख मीठो गुलियो पारौं ।’
धेरैले, ‘हामी खान सक्दैनौं ।’ भने तर एकजना ब्राह्मणले, ‘म खान्छु, ल्याउनुस ।’ भने । न भन्दै जहाँ गुलियो त्यहाँ बाहुन भुलियो भन्ने उखान चरितार्थ भयो ।
उनले दुईवटा लालमन कपाकप निलिदिए ।
ति ब्राह्मणले पहिले एक गाँस पनि घाँटीबाट तल जाँदैन भन्दै थिए । अहिले दुईवटा लालमन एकै गाँसमा ख्याप्लाक्कै पारिदिए । बिस्तारै अरु ब्राह्मणको मुखमा पनि पानी रसाउँदै थियो ।
व्यापारीले नम्रहुँदै सोधे, ‘अघि त एक गाँस पनि तल जाँदैन भन्नु भएको थियो, अहिले त दुईवटा लालमन एकै गाँसमा निलिदिनु भयो ?’
‘बाबु ! यो लालमन त भोजनको राजा हो । जसरी राजा आउँदा भिडम भिडको बाटो पनि खुल्ला हुन्छ । त्यसरी नै लालमनको लागि मेरो पेटमा अरू खानाले पनि आफ्नो ठाउँ छोडिदिन्छन् बाबु ।’ ब्राह्मण मुख मिठ्याउँदै थिए ।
ब्राह्मणले यसो भन्दै गर्दा अन्य ब्राह्मणहरूले भाडाभरिको लालमन एक–एक गरि बुत्याइदिए । व्यापारी लालमनको रित्तो भाँडो देख्दा एकाएक ट्वाँ प¥यो ।
व्यापारी मनमनै सोच्दै थिए, ‘अघाएका आजका राजाहरूले पनि यसरी नै एम्.सी.सी.को लालमन क्वाप्लाप्पै पार्छन् होला !’
वि.सं.२०७६ चैत ८ शनिवार १०:०७ मा प्रकाशित





























