गाउँ बहादुर कुम्लो बोकि जान लाएको देखेर सहर बहादुरले सोध्छ-ए ! काँ जान लाको ?
ठुस्किदै गाँउ बहादुरले भन्छ-आफ्नै ठाम ।
किन हतार ? अलि दिन बसेर जान -फकाउँदै सहर बहादुरले भन्छ ।
कुरा सुनेर गाँउ बहादुरले भन्छ-एक्छिन पनि बस्न नसकिने भो ? उकुस मुकुस भएर बान्ता आउला जस्तै भो ।
कुरा सुनेर सहर बहादुर सोध्छ-सञ्चो भेन जस्तो छ । हिन वीरमा जाम ।
झर्किदै गाउँ बहादुरले भन्छ–अहँ ! वीरमा धिर हुन्न । बरु आफ्नै ठामको हेल्थ पोष्ट्मा जान्छु ।
फकाउँदै सहर बहादुरले भन्छ-अलिदिन बस रमझम रमिता हेरेर जानू । रमाईलोले मन बहलिन्छ । दिमाग फ्रेस हुन्छ क्या ।
झर्किदै गाउँ बहादुरले भन्छ-के को रमाईलो ? टुकुचा हेरो उस्तै गन्हाउने । बाग्मती हेरो मेरी बाबै ! टेकु झन खपी नसक्नु । घरमात्र ठुला भेर के गर्नु । बाटो लम्बा चौडा पक्की भेर के गर्नु ? यता फोहर उता फोहर । सुटबुटका मान्छे लुट झुटमा । जताततै बैमान ठग लुच्चा फटा । ईमान्दार भेटिनै गाह्रो । तँ भन्दा मेरै ठाम राम्रो छ । हवा पनि सफा । मान्छे पनि सफा । यस्तोमा बस्नु भन्दा तँ पनि हिन मेरो ठाम । हरियो अर्गा्निक तरकारी गाई भैसिको ताजा दूध खाएर स्वस्थ हुन्छेस । मोटाउँछेस ।
कुरा सुनेर सहर बहादुर चुप लाग्छ । क्यै जवाफ फर्काउन सक्दैन ।
ल ! म हिने है । राम्रो संग सफा सुग्घर भएर बस्नु-भन्दै गाउँ बहादुर लाग्छ । सहर बहादुर न्यास्रो मुख लाएर भाइ गएको हेरिरहन्छ ।
वि.सं.२०७६ चैत ८ शनिवार १०:१२ मा प्रकाशित





























