९ चैत्र, काठमाडौँ । सिंगो संसार कोभिड १९ विरुद्ध लडिरहेकै बेला नेपाल टेलिकमले प्रशंसा तथा बधाइ पाएको छ ।
नेपाल सरकारले ‘सेमी लकडाउन’ गरेर नागरिक स्वास्थ्यको आन्तरिक अभियान चलाएकै बेला सरकारी स्वामित्वको नेपाल टेलिकमले स्वदेश तथा बिदेशबाट समेत स्याबासी र धन्यवाद बटुलिरहेको छ ।
कोभिड १९ सम्बन्धमा बुझ्ने गरी प्रष्ट भाषा र सुरिलो लयमा तयार गरिएको रिङ्गटोनले टेलिकमको सामाजिक उत्तरदायित्व मात्र पुरा भएको छैन, राष्ट्रको संचार भन्ने नारालाई सार्थक बनाएको छ ।
कोभिड के हो ? लक्षण कस्ता हुन्छन् र जोगिने कसरी ? भन्ने बारेमा सरलतापूर्वक बुझाइएको सो रिङ्गटोनको स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले पनि प्रशंसा गरेका छन् । जर्मनीमा रहेका सन्तोष अधिकारीले आफ्नी आमालाई फोन गर्दाको प्रसंग निकालेर सञ्जालमा धन्यवाद दिएका छन् भने अमेरिकाबाट प्रभु थापा नेपालीले भनेका छन् ‘नेपालमा बुबालाई फोन गरेको त टेलिकमले कोभिड १९ को लक्षण बारे सूचना पो राखेछ । यति राम्रो कामको त नेपाली समाचारमाध्यमहरु चर्चा सम्म पनि गर्दैनन् । हामी सबैले टेलिकमलाई बधाइ दिउँ । ’
नेपाल टेलिकमबाट पाएको सो जानकारीमुलक सन्देशले ‘कोरोना भाइरसबाट जोगिने तरीका थाहा पाएको’ काठमाण्डौको मित्रपार्कमा रेष्टुरेन्ट गर्ने छिरिङ शेर्पाले संसारन्युजलाई बताएकी छिन् । संसारै कोरोनाको विरुद्धमा लडिरहेको र नेपालले पनि प्रतिरोध गरीरहेका बेला नेपाल टेलिकमले सो जानकारी दिएपछि सबै नेपालीले सो बारे जान्ने मौका पाएका छन् ।
वि.सं.२०७६ चैत ९ आइतवार १०:०३ मा प्रकाशित