back

दिनको २ सय ग्राम चामल र एक मुठ्ठी दाल दिन नसक्ने राज्य कसको लागि हो ?

वि.सं.२०७७ वैशाख ३ बुधवार

633 

shares
NTC AD

आज भन्दा २१५ बर्ष अगाडी बिक्रम सम्बत १८६१ जेठमा नेपालमा ’बिफर’ रोगको महामारी थियो । नेपालको इतिहासमा उल्लेख भए अनुसार त्यतिबेला यो रोग काठमाडौँमा निकै महामारीको रुपमा फैलिएको थियो । त्यतिबेला नेपालका राजा रणबहादुर शाह थिए । रणबहादुरका छोरा युवराज गिर्वाणयुद्धबिक्रम शाह सानै थिए, जम्मा ८ बर्षका थिए । निकै सन्की राजाको रुपमा इतिहासमा चित्रित राजा रणबहादुरले आफ्नो युवराज छोरालाई बिफर सर्छ भनेर काठमाडौँका साना बालबालिका सबैलाई काठमाडौँबाट बाहिर धपाएका थिए ।

इतिहासमा उल्लेख भए अनुसार पहिलो पटक १८६१ जेठ महिनामा सयौं बाल बालिकालाई एकजना अभिवाबक साथ् लगाई राजाका सेनाले खेदेर काठमाडौँ बाहिर तराइको चारकोशे झाडी, तामाकोशी नदी पारी अनि शांखु भन्दा माथि मणिचुडन लगायतका ठाउँमा छोडेर आएका थिए । यो क्रम १८६२ बैशाख सम्म चलेको इतिहासमा उल्लेख छ । त्यतिबेला सानो नानी च्यापेर रुँदै र भोकै पहाडी बाटो खेदिनु पर्दा काठमाडौँको टोल टोलमा रुवाबासी चलेको थियो रे । चिसोमा यसरी काठमाडौँ छाड्नु पर्दा कती बालबालिकाहरुको बाटोमा बिरामी परी अनि भोकले गर्दा ज्यान समेत गएको थियो अनि कोशी नदीमा लास फाल्न बाध्य पारेका थिए रे राजाका सिपाहीले । आफ्नो युवराज पुत्र र रानी श्रीमती मात्र बचाउन यस्तो हर्कत सम्म गर्न सक्ने राजाले त्यतिबेला काठमाडौँका आफ्ना प्रजालाई गरेको अत्याचार अकथनीय थियो । त्यतिबेला भारतमा बिफरको औषधी अनि उपचार विधी थियो तर हाम्रा राजाले त्यो औषधी भारतबाट ल्याएर जनताको उपचार गर्न ध्यान दिएनन् केवल आफ्नो र आफ्ना परिवारको मात्र सुरक्षा खोजे ।

ठिक आज यस्तै कोरोना भाइरसको महामारी देशमा फैलिएको छ । देश ठप्प छ । काठमाडौँमा मजदुरी गर्ने हाम्रा दाजुभाई अनि दिदीबहिनीहरु काठमाडौँमा भोकै बस्नु भन्दा आफ्नै गाउँघर जाने भन्दै आँफै काठमाडौँ छोड्दै छन् । दिनभर काम गरेर बेलुका खान पुग्ने वर्ग अहिले मारमा छ । गाडी चलेको छैन अनि आधा पेट खाँदै या भोकै ६०० किलोमिटरको पैदल यात्रा तय गर्दै छन् । भोकै अनि रुँदै गरेको दृश्य देख्दा हाम्रो मन कटक्क खान्छ । रणबहादुर शाहको पालामा राजाले आफ्ना सिपाही लगाई साना नानीहरुलाइ काठमाडौँ छाड्न बाध्य परेका थिए भने अहिले हाम्रा गरीबहरु आँफै काठमाडौँ छोड्दै छन् तर काठमाडौं छोड्न राज्यले बाध्य पारेको छ ।

राज्यले राहत वितरण गरेको यदाकदा देखिन्छ तर काठमाडौँमा घर हुनेले राहत पाएका छन् तर त्यहि राहत पाउने घरबेटीको कोठामा बहालमा बस्ने गरीबले भने राहत पाउंदैन । यो लक्डाउन अवधिभर एउटा गरीबलाई दिनको २ सय ग्राम चामल र एक मुट्ठी दाल दिन पनि नसक्ने राज्य कसको लागि हो ? गरीबले जीवनभर राहत मागेको पनि छैन । मागेको छ त यहि लक डाउन अवधीभरको लागि मात्र । अनि त्यो राहत नपाइ बाध्य भई ६०० किलोमिटर पैदल यात्रा गरि आफ्नो घर जान त्यही गरिबहरू बाध्य हुनुपर्ने कस्तो न्याय हो ?

राज्यको उपस्थिति त्यतिबेला आवश्यक हुन्छ जतिबेला देशको गरीब नागरीक संकटमा हुन्छ । यो लक्डाउन अवधीमा देशका धनीहरु, मन्त्रीहरु, सांसदहरु, उच्च ओहोदामा कम गर्नेहरु त बाँच्छन् तर गरीबहरु भने मर्ने रहेछन । वर्गीय विभेद भनेको सायद यहि हो । सायद वर्गीय समाजको खास चित्रण र रिहर्सल अहिले हाम्रो देश नेपालमा पटक पटक भै रहेको छ ।

यहाँ दुइ परिदृश्य राख्नु आवश्यक देखें
दृश्य १ यहि बेला हाम्रा प्रधानमन्त्रीका एक सल्लाहकार मुटुमा सानो समस्या देखिएर अस्पतालमा सुविधा सम्पन्न सहित उपचाररत छन् अनि सामाजिक संजालमा स्वास्थलाभको कामना पाइरहेका छन् अनि ठिक यहि बेला अर्का एमालेका अध्यक्ष सामाजिक संजालमा कराइमा मासु भुटेको फोटो राखी ख्याती प्राप्त छन् । तर ठिक अर्को परिदृश्य छ– ज्वरो आएको गरीब अस्पताल भर्ना हुन पाउंदैन किनकि कोरोना हुन सक्छ अनि डाक्टरले छि छि, दुरदुर गर्दै अस्पतालमा भर्ना पनि लिंदैनन अनि उता भोकभोकै ६०० किलोमिटर यात्रा तय गरेको गरीब र त्यो कराइमा भुटेको मासु !!! एक राज्यमा यो जती भद्धा मजाकको विषय अरू कुनै छ भने कृपया मलाई कसैले बताई दियोस् ।

ती भोकै पैदल यात्रा गर्ने गरीबहरुको मनमा राज्यको व्यवहारप्रति के बिझ्यो होला ? मलाई लाग्छ तिनीहरुको मनमा जिन्दगीभर नबिर्सने एकदम तितो अनुभव रहनेछ अनि जीवनभर राज्यप्रति एक आक्रोश रहीरहनेछ । त्यो सबैको आक्रोश बिस्फोट हुने दिन पनि सायद अब टाढा छैन । के ४६ सालको आन्दोलन, के त्यो कथित जनयुद्ध, के ६२ र ६३ सालको आन्दोलन ? ती सबै आन्दोलनमा सहिद हुने, हतियार उठाई लड्ने यिनै मजदुर र मध्यम वर्ग अनि निम्न वर्गका परिवारका थिए । मलाई कसैले यो बताईदियोस् कि काठमाडौँको ठमेल, न्युरोड, पुतलीसडक या यस्तै ब्यस्त ठाउँको त के कुरा गर्नु, शहरमा राम्रो घर मात्र हुने परिवारबाट ती आन्दोलनहरुमा कोहि शहिद भएको छ भने कृपया मलाई बताई दिनुहोला । तर मलाई यति थाह छ–ती आन्दोलनमा धनीहरु शहिद भएका छैनन् । जती शहिद भए ती सबै गरीब थिए ।

४६ सालको आन्दोलन हुँदा म ९ बर्षको थिएँ, मलाई त्यो आन्दोलनको बारेमा धेरैथोरै थाह पनि छ, सम्झना पनि छ । ६२ र ६३ सालको आन्दोलनमा त स्यांग्जाको आन्दोलनको अग्र भागमा रही म आँफै त्यतिबेला राजाबिरुद्ध नारा लगाई स्यांग्जा बजारमा सेना र प्रहरीको अगाडी हिम्मत गरी केहि साथीहरुको साथ् लिएर पहिलो पटक टायर बालेको व्यक्ति पनि हुँ । तर आज म एक भ्रमबाट भने मुक्त भएको छु । जिन्दगीले बास्तबमा धेरै कुरा सिकाउँछ । नेपालका ठुला ठुला आन्दोलन अती गरीब, निम्न मध्यम वर्ग, मध्यम वर्ग र केहि उच्च मध्यम वर्गले गरेर मात्र सफल हुने रहेछन तर त्यो आन्दोलनको फाइदा केवल धनीहरु अनि नेता र मन्त्रीले पाउने रहेछन् । गरीब भने सधैंको गरीब रहने रहेछ । आजलाई यती नै ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १३:०९ मा प्रकाशित

ADBL AD
यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

गौरवशाली इतिहास बोकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी...

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

काठमाडौँ । समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका...

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन...

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

जननिर्मित संविधानको आज दशौँ दिवस हो । २०७२ मा आजकै...

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन ।...

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

काठमाडौँ । आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको...