१२ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा उपत्यका बिशेष प्रदेश सेक्रेटरी लेखनाथ न्यौपानेले नेताको कान नफुुक्न र द्वन्द्ववादी बन्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेताले आज गलतै बोले पनि असाध्यै राम्रो भन्ने, कसैले सुझाव र आलोचना गरे कान फुक्न गैहाल्ने र भोलीपल्ट गल्ती पुष्टि भएर सच्याउँदा पनि महानै ठानिरहने प्रवृतिलाई उनले झटारो हानेका हुन् ।
कुरै नबुझी उफ्रने नेता र कार्यकर्ताको नाममा भन्दै उनले सञ्जालमा लेखेका छन् ‘द्वन्द्वात्मक भौतिकवाद यसकारण पढ्नुपर्दछ कि कसैले वा आफूले ठूलाबडा र जान्ने ठानेको मान्छेले अथवा नेताहरुको पनि नेता भनिएको व्यक्तिले नै किन नहोस् उसले भनेको विषय कति सहि छ ? कति सान्दर्भिक छ ? कति प्रक्रियागत छ ? भनेर छुट्याउन सकियोस । हामी त कस्ता भयौँ भने अध्यादेश आयो ‘एकदम ठिक भयो भनेर उफ्रिहाल्छौं । उत्तिनै खेरै त्यो फिर्ता हुन्छ, यो पनि सही छु भनेर उनै पात्र अझ बढी उफ्रन्छौं । अथवा नेताले आज भन्छ कि काँग्रेससँग एकता गरियो । हामी ‘हाम्रो नेता महान, क्रान्ति भन्या यस्तो हुन्छ’ भन्छौं । भोलिपल्टै त्यही नेताले ‘काँग्रेससँग एकता गरेर जितिने भएन, फलानो वाम पार्टीसँग एकता नै गरिहाल्ने भइयो’ भन्छ । हिजोको निर्णयलाई ‘क्रान्ति भनेर उफ्रने’ त्यही व्यक्ति ‘आजको निर्णयलाई पनि क्रान्ति भन्छ र जिन्दावादको नारा लगाउँछ ।’
किन, कसरी, के आधारमा वा कुन र कसको स्वार्थमा हिजो र आज फरक निर्णय भनेर रौं जति पनि प्रश्न गर्दैनौं ? कसैले प्रश्न गर्यो भने ‘हाम्रो नेताको विरोध गर्ने भनेर पूर्वाग्रह साँध्छौं र तथाकथित नेताको कान फुक्न पुगिहान्छौं ।’ अनि कसरी बन्छ कम्युनिस्ट पार्टी बलियो र हामी कसरी बन्छौँ कम्युनिस्ट नेता कार्यकर्ता ? विचित्र छ हाम्रो द्वन्द्ववादको चित्र ।’
वि.सं.२०७७ वैशाख १२ शुक्रवार १५:१२ मा प्रकाशित






























