१२ बैशाख, बेलायत । बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
केहीदिन अघि तीन दिनमा तीन नेपालीको मृत्यु भएको थियो जसमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने फेरि अन्य तीन नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको समाचार संसान्युजलाई प्राप्त भएको छ । यो संगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
यो साता मात्रै बेलायतमा ७ जनाको मृत्यु भएको हो । जसमा ४ जनाको कोरोना संक्रमणबाट भएको थियो भने एकको क्यान्सर, एकको हृदयघात र एकको कारण खुलाईएको छैन ।
पछिल्लोपटक मृत्यु हुनेमा प्युठानका गोपाल शाही, झापाका हंशराज लिङदेन र खोटाङकी नाछिरीङ राईको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पुर्वगोर्खा सैनिक तथा साहित्यकार गोपाल शाहीको लन्डनको रोयल फ्रि अस्पतालमा बुधबार दिउँसो निधन भएको हो । दुई साता अघि अस्पतालमा भर्ना गरिएका उनको ७२ वर्षीको उमेरमा निधन भएको उनका आफन्तले जानकारी दिएका छन् ।
पुख्र्यौली घर प्युठान भएका शाहीको परिवार हाल भारत तथा भैरहवामा बस्दै आएको बताइएको छ । शाहीकी श्रीमती र तीन छोराछोरी रहेका छन् ।
पूर्वगोर्खा सैनिक (२११५६०४१ नम्बर) रहेका शाही गोरखा ट्रान्सपोर्ट रेजिमेण्टमा सेवा गर्दै लामो समय दक्षिण पूर्वी लण्डन र हाल अहिले ह्वाइटसिटी लण्डनमा बस्दै आएको बताइएको छ ।
त्यसैगरी बेलायतको रेडिङमा बस्ने झपाका हंशराज लिङदेनको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
झापाको जनता मा.वि खुदुनाबारीका पूर्वप्रधानाध्यापक समेत रहेका लिङदेनको विहिबार (२३ अप्रिल) मा निधन भएको हो । ६५ वर्षीय लिङदेन सन् २००६ बाट सपरिवार बेलायतमा बसोबास गर्दै आएको पनि बेलायतबाट संचालित नेपालब्रिटेनले लेखेको छ ।
त्यसैगरी नटिनको जर्ज इलियट अस्पतालमा उपचाररत खोटाङ एँसेलुखर्क गाउँपालिका १ घर भई हाल धरान १६ मा आर्दश विकास टोलकी बिमा नाछिरीङ राईको मंगलबार (२१ अप्रिल) मा मृत्यु भएको समाचार छ ।
३२ वर्षीया राईको मृत्युले मर्माहत भएको भन्दै ब्रिटिश भेट्रान एसोसियसनका महासचिव भिम सारुले राई लामो समयदेखि मिर्गौला रोगले पीडित भएको परिवारलाई उद्धृत गर्दै बताएकाछन् । झण्डै एकसाता अघि श्वास प्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका उनलाई कोरोना भाइरस संक्रमण भएको अस्पतालले पुष्टि गरेको थियो । बेलायतमा आमा बुवासँग बस्दै आएकी राई अविवाहित थिइन् । उनका बुबा डाक बहादुर राई पुर्वगोर्खा सैनिक हुन् ।
त्यसैगरी २१ अप्रिलमा पूर्व गोर्खा सैनिक (२११७१०३२ नम्बर ) तथा हाल गोरा रेजिमेन्टमा कलरक कार्यमा सेवारत मीन राना मगरको उपचारका क्रममा लिंकन अस्पतालमा मृत्यु भएको समाचार छ ।
पुर्वपल्टन गोर्खा कुईन्स सिडग्नल रेजिमेंट, ईन्टेक २००३ नम्बरी रहेका उनको मृत्यु कोभिड १९ बाट नभइ अन्य स्वास्थ्य समस्या रहेको उनकी श्रीमती रिताले बताएको उनका नम्बरी साथीले बताएका छन् । उनको मृत्युले मर्माहत भएको भन्दै मगर संघ युकेले दुःख व्यक्त गरेको छ ।
बेलायतमा गोपाल शाही, हंशराज लिङदेन र बिमा नाछिरीङ राईसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
स्मरण रहोस् यसअघि कोरोना संक्रमणबाट लिला बहादुर राई, पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राई, म्याग्दीका कुल बहादुर फगामी, चितवनका प्रशान्त अर्याल, बाग्लुङका कर्ण बहादुर क्षेत्री, स्याङजाका यम बहादुर मल्ल पोखराकी पुष्पा घले, कास्की घान्द्रुकका लक्षिन गुरुङ, स्याङजाका लक्ष्मण श्रेष्ठ, तनहुँ शुक्लागण्डकीका हस्तवीर गुरुङ, धनकुटाका गोम्देन तामाङ, गोरखाका बुद्धबल गुरुङ, ध्रुव कुमार श्रेष्ठ, कास्कीका विजय गुरुङ र पोखराका आइतबहादुर गुरुङको मृत्यु भएको समाचार संसारन्युजले प्राप्त गरेको छ ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १५:०३ मा प्रकाशित






























