आज संसारका प्राय सबै देशहरुले १३१ औं मजदुर दिवस एक साथ मनाई रहेका छन् । यदि कोरोनाको प्रकोपले संसारलाई यसरी चपेटा नपारेका भए आज हरेक देशमा मजदुर सम्बन्धि विभिन्न कार्यक्रम गरेर थप हर्षोउल्लासले मनाउने थिए । मजदुर दिवसलाई आफ्नो दिन सम्झेर हर्षोउल्लासको साथ मनाउने मजदुरहरु नै यस बर्ष कोरोना भाईरस कोभिड–१९ को कारण थप कष्टकर जीवनसँग संघर्ष गरिरहनु परेको छ ।
सन् १८८६ मे १ मा अमेरिकामा साहुहरुले श्रमजीवीहरुलाई लगातार १५ घन्टा सम्म काम गराई श्रम शोषण गरेको विरुद्धमा हजारौं संख्यामा मजदुरहरु सडक आन्दोलनमा निस्केको थियो । आन्दोलनलाई निस्तेज पार्न सरकारले दमनको नीति लिई मजदुर माथी अन्धाधुन्ध गोलि प्रहार गरि सयौंको संख्यामा मजदुरहरुले आन्दोलनमा शहादत प्राप्त गरेका र सयौंको संख्यामा अंगभंग भएका थिए । त्यही आन्दोलनको निरन्तरता स्वरुप सन् १८८९ मा अन्तर्राष्ट्रिय समाजवादीहरुको दोश्रो सम्मेलनले हरेक श्रमजीवी मजदुरहरुको दैनिक ८ घन्टा काम ८ घन्टा मनोरञ्जन र बाँकी ८ घन्टा आराम गर्नु पर्ने नियम पारित गरि स्थापित गरायो । त्यही ऐतिहासिक उपलब्धिको सम्मान स्वरुप आज हरेक साल मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन शुरु गरेको १३० बर्ष पूरा भएर १३१ औं बर्ष प्रवेश गरेको छ ।
आज १३१ औं मजदुर दिवसको उपलक्ष्यमा संसार भरिका श्रमिक मजदुर दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक शुभकामना दिन चाहान्छु ।
युरोप र अमेरिका जस्ता देशहरुमा ठुला ठुला कलकारखानाहरुका मालिक तथा उद्योगपतिहरुले त्यही श्रमिक मजदुरहरुको आन्दोलनले स्थापित गरेका आधारभूत मान्यतालाई स्वीकार गर्दै त्यही मजदुरहरुको सल्लाह र सहयोगबाट मालिक र श्रमिक बिचको दुरी घटाउदै श्रमिकबाट मालिक हुन प्रेरित गर्दै आफ्नो मुलुकको बिकास र समृद्धिमा फड्को मारेका छन् । तर एशियाली देशहरुमा जापान र दशिण कोरिया बाहेक अन्य देशहरुमा श्रमजीवी मजदुरहरुको दैनिकी लगायत आर्थिक सामाजिक पाटोहरुमा खासै परिवर्तन आएको छैन । संसारमा जति जति औद्योगिक बिकास हुँदै गईरहेको छ त्यति त्यति श्रमजीवी मजदुरहरुको समस्याहरु पनि नयाँ नयाँ रुपमा विकसित हुँदै आईरहेको छ ।
मे १ लाई मजदुर दिवस मनाउन शुरु गर्दै गर्दाको समयमा ८–८ घन्टाको काम मनोरञ्जन र आरामको समस्यालाई लिएर आन्दोलनमा होमिदै गर्दा सायदै अहिले श्रमजीवी मजदुरहरुको अन्य यी विकसित रुपमा आएका समस्याहरुको बारेमा सोचिएको थियो होला । उ बेलामा श्रमजीवी मजदुरहरु सायद कम मात्रामा एक मुलुकबाट अर्को मुलुकमा जाने गर्दथे होला अथवा आफ्नै मुलुकको उद्योग कलकारखानामा तिर मात्र सिमित थियो होला । तर आजको समयमा श्रमजीवी मजदुरहरु आफ्नो जिविकोपार्जनको लागि श्रम अवसर बजार उचित पारिश्रमिक खोज्दै संसारका सबै गोलार्ध तिर छरिएका छन् ।
आज म यस आलेखभित्र आफ्नो जिविकोपार्जनको लागि तिनै अवसर र श्रम बजार खोज्दै भारत तथा खाडी देशहरुमा काम गरिरहेका नेपाली श्रमिक मजदुरहरुको समस्या र त्यसको समाधान बारे आफ्नो बिचार राख्ने कोशिस गर्ने छु ।
नेपालबाट हिन्दुस्तानमा नेपाली श्रमिकहरु कहिले देखि जान थालेको तथ्य यकिन छैन । तर पनि हिन्दुस्तानसंग नेपालको धेरै जसो रहनसहन, धर्म, संस्कृति मिल्ने भएको हुदाँ त्यहा नेपाली श्रमिकहरुको उपस्थिति सुगौली सन्धी भन्दा धेरै अगाडि देखि थियो भन्न सकिन्छ । यता खाडी मुलुकहरुमा पंचायत कालमा छिटफुट अनि व्यक्तिगत रुपमा नेपाली श्रमिकहरु जाने गरेता पनि औपचारिक रुपमा नेपालीहरुको श्रम गन्तब्य मुलुक बनेको २०४९ सालपछि मात्र हो ।
नेपालमा श्रम सम्बन्धि काम हेर्न वि.सं. २०२८ मा नै उद्योग मन्त्रालय अन्तर्गत श्रम बिभाग गठन गरि आन्तरिक रोजगार श्रजना गर्न सिपयुक्त आवश्यक जनशक्ति उत्पादन गर्न श्रम बिभाग गठन गरिएको थियो । श्रम बिभाग स्थापनाको १० बर्षपछि श्रम तथा समाजकल्याण मन्त्रालय स्थापना गर्याे । त्यही श्रम तथा समाजकल्याण मन्त्रालय आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नाममा कार्यरत छ ।
यतिका संख्यामा नेपाली युवाहरु वैदेशिक रोजगारीमा खाडी मलेसियामा भए पनि अधिकांश नेपाली श्रमिकहरुको जीवन अत्यन्त कष्टकर छन् । आज उनिहरुको दैनिकीमा केही रुपैयाँ हात लागे पनि भविष्य सुखद छैन । उनिहरुले आफ्नो उमेर र बल बैंशमा आर्जन गरेका अर्थलाई सहि सदुपयोग गर्न नसक्दा, वैदेशिक रोजगारबाट देशमा भित्रिएको रेमिट्यान्सलाई विभिन्न स्किम मार्फत राज्यले एकीकृत रुपमा प्रयोग गर्ने नीति नभएको कारण आज वैदेशिक रोजगार भएको युवाहरु भोली वृद्ध हँुदासम्म काम गरे पनि आफ्नो आर्थिक अवस्था नफेरिने पक्का छ ।
२०४६ सालको राजनीति परिवर्तनपछि जनअपेक्षा अनुरुप स्वदेशमा आन्तरिक रोजगार शृजनाहुनुको साटो पंचायत कालमा धरासायी बनेका केही उद्योग कलाकार बन्द हुनु पुग्यो । नयाँ उद्योग कलकारखानाहरु खोल्ने प्रयास भएन केही खोलिएका उद्योग कलकारखानाहरुको व्यवस्थापनमा राजनीति हस्तक्षेपको कारण उद्योग कलकारखानाहरु गतिलो गरि संचालन गर्न सकेन केही निजी उद्योगहरुले चलाउने प्रयास गरे पनि कर्मचारी युनियनको नाममा विभिन्न राजनीतिक हस्तक्षेप हुन गई ह्वात्तै वेरोजगार संख्या बढ्न गए पछि ति बेरोजगार युवाहरु वैदेशिक रोजगार तिर आकर्षित हुन थाले र आजको मितिसम्म नेपाली युवाहरु खाडी राष्ट्र र मलेसियामा मात्र १६ लाख हाराहारी भएको प्रक्षेपण गरिएको छ । यतिका संख्यामा नेपाली युवाहरु वैदेशिक रोजगारीमा खाडी मलेसियामा भए पनि अधिकांश नेपाली श्रमिकहरुको जीवन अत्यन्त कष्टकर छन् । आज उनिहरुको दैनिकीमा केही रुपैयाँ हात लागे पनि भविष्य सुखद छैन । उनिहरुले आफ्नो उमेर र बल बैंशमा आर्जन गरेका अर्थलाई सहि सदुपयोग गर्न नसक्दा, वैदेशिक रोजगारबाट देशमा भित्रिएको रेमिट्यान्सलाई विभिन्न स्किम मार्फत राज्यले एकीकृत रुपमा प्रयोग गर्ने नीति नभएको कारण आज वैदेशिक रोजगार भएको युवाहरु भोली वृद्ध हँुदासम्म काम गरे पनि आफ्नो आर्थिक अवस्था नफेरिने पक्का छ । राज्यको सिमित सहयोगको वावजुत पनि नेपाली श्रमिकहरुले हजार हण्डर खादै आज राज्यको कुल ग्राहस्थ्य उत्पादनको २५ देखि २७ प्रतिशतसम्म भरथेग गर्दै आईरहेको तथ्यांकहरु छ ।
एउटा युवा सुदुर गाउँदेखि खाडी अथवा मलेसियाको एउटा कम्पनी सम्म आईपुग्दै गर्दा ती युवाले तय गरेको यात्राको हण्डरहरु लिपिवद्द गर्ने हो भने हलिउडको फिल्म निर्माता कम्पनी अथवा निर्देशकले त्यो कथालाई चलचित्रद्धारा प्रस्तुत गरेर विश्व विख्यात ओस्कार पुरस्कार हात लगाउने खालका हुने छन् । त्यस पछि उसले आफ्नै जीवनको मृत्युसँग लड्दै आफ्नो जिविकोपार्जनको लागि र आफ्नो बुढा आमाबाबु कलिला बहिनीभाइ अनि आफ्नो भविष्यको लागि भोगेका अनुभव र खाएका हण्डरहरु अर्को यथार्थ रोचक चलचित्रको कथा बन्न सक्छ । नेपाली युवाहरु परिश्रमी ईमान्दारी र दिएको जिम्मेवारी पूरा गर्ने चालचलन भएकै कारणले आज पनि खाडी तथा मलेसियाका रोजगार दाताहरु आकर्षित बनेका थिए । तर पछिल्लो ५ महिनाबाट परिस्थिति फेरिएका छन् ।
कोरोना भाइरस कोभिड–१९ को कारणले नेपाली श्रमिकहरु जतिसुकै ईमान्दार र मेहनती भए पनि अब धेरै भन्दा धेरै कम्पनीहरुले चाहेर पनि रोजगार दिन सक्ने अवस्था छैन । कोरोना भाईरसको संक्रमणको कारणले खाडी तथा मलेसियाका रोजगारदाता कम्पनीहरुको आर्थिक अवस्था जिर्ण हुदैछ । नेपालीहरुले मात्र नभएर वैदेशिक रोजगारमा रहेका अन्य देशका नागरिकहरुले पनि रोजगार गुमाउदैछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरु जतिदिन वैदेशिक रोजगारमा छन्, आफ्नो कामबाट आउने तलव महिनै पिच्छे घर पठाउदै आफ्नो परिवारको पालनपोषणमा खर्चिएका छन् । कसैले दुई पैसा जोहो गरेर राखेको भए पनि त्यो पैसा घडेरी अथवा घर बनाएर खर्च गरेका छन् अथवा भनौ वैदेशिक रोजगारबाट भित्रिएको रुपैयाँ नै प्रमुखरुपमा नेपाली बजारमा तरल अर्थको रुपमा फ्लो भईरहेको छ । यसको मतलब यो हो कि, वैदेशिक रोजगारबाट भित्रिएको अर्थ एकीकृत रुपमा संचित हुने गरेको छैन । त्यसैको फलस्वरूप अहिले प्रायः रोजगारदाता देशहरुमा रहेका नेपालीहरुलाई कोरोना भाईसरको संक्रमणको भयसंगै नेपाल फर्किनु पर्ने अवस्था आउदै गर्दा नेपाल फर्किएपछि भविष्यको चिन्ता र पिरले क्रमशः मनोबैज्ञानिक असर तिर र्डोयाउदै छ । यसको परिणाम तत्काल नै नदेखिए पनि केही समय पछिबाट देखिन शुरु गर्ने पक्का छ ।
कोरोना भाईरसको संक्रमण न्यून हुने र अन्तर्राष्ट्रिय उडानहरु चालू हुने वितिक्कै वैदेशिक रोजगारमा भएका युवाहरु आफ्नो मुलुक फर्कन सुरु गर्ने छन् । त्यो संख्या कती हुने हो अहिले नै तथ्यांक पेश गर्दा हतारो हुनेछ तर पनि ५ लाखको हाराहारीमा नेपालीहरु फर्कनेछन् भन्ने मेरो व्यक्तिगत अनुमान हो । यतिको संख्यामा नेपालीहरु फर्कदै गर्दा सरकारले यि नेपालीहरुलाई जिविकोपार्जनको लागि व्यावस्थापन गर्न नसके यसले अर्को भयावह स्थिती पैदा गर्ने सम्भावना रहन्छ । तसर्थ वैदेशिक रोजगारबाट रोजगार गुमाएर फर्किएका युवाहरुलाई उसको अनुभव र दक्षताको आधारमा उचित व्यवस्थापन गर्नुपर्दछ भने निरन्तर वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि विभिन्न कार्ययोजना ल्याउदै त्यस्ता कार्ययोजनातिर आकर्षक गराउदै देश विकास र समृद्धिसँग जोडेर उनिहरुको र उ प्रति आश्रति परिवारहरुको उज्ज्वल भविष्यको लागि अर्जुन दृष्टिबाट काम गर्नु पर्दछ ।
तत्काल वैदेशिक रोजगार गुमाई फर्कीएका युवाहरुलाई के गर्न सकिन्छ त ?
१ -हाम्रो देश नेपाल हिजोसम्म कृषिप्रधान देश भनेर चिनिन्थ्यो । यहि वैदेशिक रोजगारको कारणले हाम्रा लाखौ हेक्टर उर्वर जमिनहरु बाँझोमा परिणत भए पनि हामीहरु अधिकांश खाध्य वस्तुहरुमा परनिर्भर भएका छौं । हाम्रो परनिर्भर घटाउदै शून्यमा झार्न अब कृषि उत्पादनलाई प्राथमिकता दिदै वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई कृषि क्षेत्रतिर आकर्षक बढाउनु पर्दछ । त्यसको लागि कृषि
ऋृण र कृषि औजार मलखाद अनि उन्नत विउ बिजनको लागि सहज अनुदानको लागि सरकारले प्रष्ट योजना ल्याउनु पर्दछ ।
२- वैदेशिक रोजगार धेरै नेपालीहरु निर्माण कम्पनीमा काम गर्नेहरु भएको हुँदा तिनिहरुको अनुभवलाई नेपाल सरकारले प्रयोग गर्नु सक्नु पर्दछ । यसको लागि वैदेशिक रोजगारबाट फर्किएका युवाहरु आफ्नै निर्माण कम्पनी मार्फत एकीकृत रुपमा काम गर्न खोज्छन् भने उनिहरुलाई आवश्यक लगानी र कम्पनी दर्ताको लागि सरकारले सहजीकरण गर्नु पर्दछ ।
३- नेपालमा निर्माण हुने अथवा निर्माणाधीन राष्ट्रिय गौरवको योजनाहरुदेखि साना मझौला योजनाहरु समेतमा आवस्यक दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिमा पहिलो प्राथमिकता आफ्नो देशको नागरिकलाई दिनै पर्ने नियम बनाई लागू गर्नु पर्दछ भने त्यस्ता जनशक्तिहरुको पारिश्रमिक र सुरुमा अन्तरास्ट्रिय मापदण्ड अनुसार हुनु पर्दछ ।
४- वैदेशिक रोजगारबाट फर्किएका युवा र आश्रित परिवारलाई स्वास्थ शिक्षा जस्ता क्षेत्रमा विषेश छुटको व्यवस्था गर्नु पर्दछ । तत्काललाई यति गर्न सक्यो भने लाखौको संख्यामा वैदेशिक रोजगार गुमेका युवाहरुले हाम्रो लागि सरकार छ भन्ने अनुभुति गर्न सक्नेछ्न । अन्यथा यिनै युवाहरु भोलिको एउटा ठूलो समस्याको रुपमा देखा नपर्ला भन्न सकिन्छ ।
लेखक गुरुङ, नेपाली जनसम्पर्क समिति बहराइनका सभापति हुन्
वि.सं.२०७७ वैशाख १९ शुक्रवार २०:४० मा प्रकाशित






























