८ पुस,बेनी (म्याग्दी)। राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेस्डो नेपाल)ले नेस्डोमा आबद्ध म्याग्दी र पर्वत जिल्लाका दुई हजार, ७६१ विपन्न परिवारका महिलाका लागि रु ६ करोड ३२ लाख ६७ हजार लगानी गरेको जनाएको छ ।
सो संस्थाको सोह्रौँ लघुवित्त अभियान एवम् शाखास्तरीय समीक्षा गोष्ठीमा नेस्डो नेपालका शाखा प्रबन्धक रामचन्द्र गौतमले दुबै जिल्लाका ११ गाविसका सो संख्याका महिला संस्थामा आबद्ध रहेको जानकारी दिनुभएको हो ।
ती महिलालाई आयआर्जनमूलक काममा संस्थाले लगानी गरेको उल्लेख गर्दै उहाँले यो संस्थामा देशैभरिका ७६ हजार महिला आबद्ध रहेका छन् भन्नुभयो । संस्थामा आबद्ध म्याग्दी र पर्वतका महिलाको रु चार करोड १८ लाख ८१ हजार बचत रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।
सांसद रेशमबहादुर बानियाँले लघुवित्तले महिलाको आर्थिक अवस्थामा सुधारसँगै गरिबी न्यूनीकरणमा टेवा पु¥याएकाले अब महिलालाई सशक्तीकरण गराइ राजनीतिक सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो । नेस्डो नेपालका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईंले लघुवित्त संस्थाले दुर्गम क्षेत्रमा पुगी विपन्नको दैनिकीमा पु¥याएको सहयोगका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा महिला प्रतिनिधिले संस्थाले घरदैलोमा पुगी गरिबी हटाउन सराहनीय कार्य गरेको भन्दै आफूहूलाई सेवा शुल्कमा केही सुहलियत दिनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रमेश्वर महिला स्वावलम्बन केन्द्र भकिम्ली–२ डोले प्रथम, नयाँगाउँ महिला स्वावलम्बन केन्द्र बेनपा–१२ द्वितीय, रानीपँधेरा महिला स्वावलम्बन केन्द्र भकिम्ली–५ तृतीय र सरस्वती महिला स्वावलम्बन केन्द्र बेनपा–११ ले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
यसैगरी संस्थाको सदस्य विस्तारमा सहयोग पु¥याएको भन्दै सपना रेग्मी, कोपिला जिसी, पशुपति शाही, रमिला खत्री, सीता शर्मा तथा सुमित शर्मालाई सम्मान गरिएको बताइएको छ ।
१६ वटा हिमाल देखिने ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा
संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा हिमशृङ्खला र ३७ गाविस देखिने पर्यटकीय एवम् रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा छ ।
म्याग्दीको बेनी नगरपालिका–१२ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरनजिकै पर्ने सो डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको हो ।
जगन्नाथ मन्दिर दर्शन एवम् पूजाआजाका लागि पुग्ने जो कोही पनि एकैछिन भनेर गुफाको डिलमा पुग्ने गरेका छन् ।
बेनीको शिरमा रहेको गुफाको डिलबाट नेपालकै दोस्रो अग्लो हिमशृङ्खला धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरि, मानापाथी, गुर्जा, गणेश हिमाललगायतका १६ वटा हिमशृङ्खलाको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । धौलागिरि हिमालमा मात्रै छवटा चुचुरा छन् । त्यहाँ पुग्दा आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालको आकर्षणले पर्यटक तान्न आतुर रहेको आभास हुने पत्रकार प्रताप बानियाँ बताउनुहुन्छ ।
गुफाको डिलबाट हिमालमात्रै होइन म्याग्दीका ४१ वटा गाविसमध्ये ३७ वटा गाविस हेर्न सकिने स्थानीय यामबहादुर बानियाँको भनाइ छ । यसैगरी पर्वतको उत्तरी भूभाग, बागलुङ जिल्लाको केही भाग र अन्य जिल्लाको डाँडाकाँडासमेत गुफाको डिलबाट देखिन्छ ।
म्याग्दी सदरमुकाम बेनीबाट पैदल हिँडेर तीन घन्टा र गाडीमा डेढ घन्टाको समयमा पुगिने गुफाको डिल समुद्री सतहदेखि दुई हजार एक सय मिटरको उचाइमा अवस्थित छ । सो डिलमा दुईवटा हेलिकप्टर अवतरण गर्न मिल्ने ठाउँ पनि छ । उक्त ठाउँबाट सेताम्मे हिमाल र राताम्मे लालीगुराँसका वनजङ्गल देख्न पाइन्छ ।
जगन्नाथ मन्दिरदेखि पाँच मिनेटको दूरीमा रहेको गुफा डिलको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास गर्न सकेमा स्वदेशी र विदेशी पर्यटक भित्र्याउन सकिने जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक नीलकण्ठ शर्माले बताउनुहुन्छ। प्रसिद्ध गलेश्वर मन्दिर, पौलस्त्य पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीय क्षेत्र टोड्के जोड्ने पदयात्रा निर्माण गर्न सकेमा पनि पयर्टकको ओइरो लाग्ने उहाँको भनाइ छ ।
सन् १५६० मा तत्कालीन राजा दिलीपबम मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर मन्दिर स्थापना गरेकाले गाजने गाउँमा मदिरा उत्पादन र कुखुरापालन गर्न निषेध गरिएको किम्बदन्ती छ । मन्दिरको यस्तैखाले विशेषताका कारण पनि जगन्नाथ दर्शन र गाजने गाउँ तथा गुफा डिल हेर्न मानिस पुग्ने गरेका छन् । रासस
वि.सं.२०७३ पुस ८ शुक्रवार १०:५५ मा प्रकाशित