हामी तमाम शिक्षक कर्मचारी बिद्यार्थी, लगानीकर्ता र अभिभावक र सरोकारवालाहरु सबैको तर्फबाट अनुरोध छ, छिटो भन्दा छिटो चार वर्षे उपकुलपति नियुक्ति गरेर विश्वविद्यालयलाई रसातलमा भासिनु अगावै उद्धार गरिदिनुहोस् ।
पोखरा विश्वविद्यालयका सहप्राध्यापक डा. रविन्द्र घिमिरेले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै अपील लेखेका छन् ।
अरु सबै विश्वविद्यालयहरुमा पदाधिकारीहरु नियुक्त भइसकेपनि पोखरा विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको ९ महिना भैसकेको र यसै बीचमा रजिष्ट्रार, डीन, परीक्षा नियन्त्रक, लगायतका पदाधिकारीहरुको म्याद सकिएर पदहरुसमेत रिक्त रहेको भन्दै प्रधानमन्त्रीमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
शिक्षा मन्त्रीमार्फत कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई लेखिएको उक्त अपिलमा अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्ति हुँदा पोखरा विश्वविद्यालयमा भने नियुक्त गर्न किन आवश्यक ठानेन भन्ने विषयमा हामीले कुनै उत्तर पाउन सकेनौं, भनेका छन् ।
रिक्त पदाधिकारीको नियुक्ति उपकुलपति नभई हुंदैन जुन अबरुद्ध हुन पुगेको र अब छिटो नगर विश्वविद्यालयनै कोमामा जाने अवस्था रहेको जानकारी गराउँदै उनले ‘छिटो भन्दा छिटो चार वर्षे उपकुलपति नियुक्ति गरेर विश्वविद्यालयलाई रसातलमा भासिनु अगावै उद्धार गरिदिनुहोस्,’ भन्ने आग्रह गरेका छन् ।
सहप्राध्यापक रविन्द्र घिमिरेद्वारा प्रधानमन्त्रीलाई लेख्नुभएको अपिल यस्तो छ :
श्रीमान् कुलपतिज्यू (सम्माननीय प्रधानमन्त्रीज्यू)
मार्फत श्रीमान सहकुलपतिज्यू (माननीय शिक्षा मन्त्रीज्यू)
आज, बाध्य भएर म यो बिन्ति त्र फेसबुक मार्फत प्रधानमन्त्रीज्यू समक्ष पु¥याउने कोशिश गर्दैछु थाहा छैन उहांको आंखा सम्म वा कानसम्म पुग्छ कि पुग्दैन । तैपनी कोशीश त गर्नै प¥यो, अर्को कुनै उपाय छैन । पोखरा विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको ९ महिना भयो । यसै बीचमा रजिष्ट्रार, डीन, परीक्षा नियन्त्रक, लगायतका पदाधिकारीहरुको म्याद सकिएर पदहरु रिक्त भएका छन् । यस बीच दुई पटक काम चलाउ उपकुलपति नियुक्ति भए । जति बेला नेपालका सबै विश्वविद्यालयहरुमा उपकुलपति पद रिक्त थियो हामीले विश्वास लिएका थियौं अब सरकारले ती सबै विश्वविद्यालयमा पूर्णकालीन (चारवर्षे ) उपकुलपति नियुक्त गर्छ होला, दुर्भाग्य, अरु विश्वविद्यालयमा चारवर्षे उपकुलपति नियुक्ती गर्दै गर्दा पोखरा विश्वविद्यालयमा भने नियुक्त गर्न किन आवश्यक ठानेन । के पोखरा विश्वविद्यालय नेपाल सरकार अन्तर्गत होइन, के यो बिश्वविद्यालयको समस्याले सरकारलाई दुख्दैन? विश्वविद्यालय कुनै पार्टी वा खास मान्छेको होइन, यो सबैको हो, यसमा पक्ष वा प्रतिपक्ष भन्ने हुंदैन । यसमा प्रदेश वा केन्द्रिय सरकार भन्ने हुंदैन, यसमा कुनै वाद वा सिद्धान्त भन्ने पनि हुंदैन । यो देशको बौद्धिक धरोहर हो तर किन यस्तो संस्थालाई अपाङ्ग बनाउन खोजिदैछ? सरकार किन बेखबर भए जस्तो वाहना बनाइरहेको छ? पोखरा बिश्वविद्यालयलमा ६३ कलेज र ४० हजार भन्दा बढी बिद्यार्थीहरु आबद्ध छन्, भने झण्डै १०,००० रोजगारी उपलब्ध भएको छ । नीजि क्षेत्रका कलेजहरुमा अरबौं रुपैयां बराबरको पूंजी लगानी भएको छ । लाखौंको भाग्य र भविष्य जोडिएको यो शैक्षिक संस्थालाई ९ महिनासम्म प्रमुख कार्यकारी विहीन बनाएर राख्न कसरि सक्नु भयो प्रधानमन्त्रीज्यू? अनि यस बिषयमा गंभीरता पुर्बक लिन सक्नु भएन शिक्षा मन्त्री ज्यू ?
प्रधानमन्त्रीज्यू? कस्तो मानिस खोज्नु भएको छ तपाईंले जुन नेपालमा आजसम्म फेला परेको छैन । बिज्ञापन आव्हान गरेको थियो शिक्षा मन्त्रालयले उपकुलपतिको लागि र दर्जनौ इच्छुकहरुले आवेदन दिएको कुरा हामीले सुनेका थियौं । यदि ती आवेदकहरु योग्य पाउनु भएन भने पुनः बिज्ञापन गर्न कसले रोकेको छ र? कि कोही पनि तयार छैनन् पोखरा विश्वबिद्यालयलार्ई नेतृत्व दिन? तपाईलाई थाह छैन, एउटा विश्वविद्यालयको मूल नेतृत्व देखि त्यसको मुख्य पदाधिकारीहरु बिहीन भएर रहंदा देशलाई के घाटा हुन्छ? तपाई त विश्वविद्यालय सभाको अध्यक्ष हुनुहुन्छ, कुलपति हुनुहुन्छ, किन तपाईंलाई विश्वविद्यालय मन पर्दैन? कुनै रिस राग छ र यस विश्वविद्यालय प्रति? तपाईंलाई कस्ले रोक्यो उपकुलपति नियुक्त गर्न? मलाई थाहा छ, नेपालको संसदीय अभ्यास बेलायतको वेष्ट मिनिष्टर प्रणाली जस्तो छ, जहां प्रधानमन्त्री सर्वेसर्वा हुन्छ र उसलाई जुनसुकै मन्त्रीले सहयोग गर्नु पर्दछ । मलाई लाग्छ, तपाईले चाहनु भयो भने एक मिनेटमा उपकुलपति नियुक्त गर्न सक्नुहुन्छ । र तपाईले चाहनु भएन भने विश्वविद्यालयलाई खण्डहर पनि बनाउन सक्नु हुन्छ । किनकी विद्यार्थीहरुको रिजल्ट रोकिएको छ, दैनिक प्रशासन रोकिएको छ । रणनैतिक योजनाहरु बन्न सकेको छैन, कार्यन्वयन हुन सकेको छैन । कोरोनाग्रस्त घडीमा कुनै निर्णय हुन नसक्दा विश्वविद्यालयमा चरम शैक्षिक संकट आइसकेको छ । भिसी नहुंदा कार्यकारी परिषद बैठक बस्न नसक्दा आर्थिक प्रशासनिक निर्णयहरु हुन सकेको छैन, काम कार्यवाहीहरु ठप्प छन् । प्राज्ञिक परिषदको बैठक बस्न नसक्दा पाठ्यक्रमहरु स्वीकृत हुन सकेको छैन, भर्ना सम्बन्धी अन्यौल यथावत् छ, अनलाइन कक्षाको पेडागोजी के हो मूल्यांकन कसरी गर्ने हो भन्ने जस्ता अहम् विषयमा निर्णय हुन सकेको छैन, कार्यकारी प्रमुख नहुंदा धेरै कामहरु अलपत्र परेका छन् । कतिपय बिद्यार्थीहरुको परीक्षाफल प्रकाशन हुन सकेको छैन जसले गर्दा विगत ९ महिना देखि कुनै पनि महत्वपूर्ण निर्णयहरु हुन सकेका छैनन् । रिक्त पदाधिकारीको नियुक्ति उपकुलपति नभई हुंदैन जुन अबरुद्ध हुन पुगेको छ । अव विश्वविद्यालय कोमामा जाने अवस्था छ ।
श्वविद्यालयको यस्तो दुर्गती बारेमा शिक्षा मन्त्रीज्यू र प्रधानमन्त्रीज्यूको ध्यानकर्षण होस् भन्ने हाम्रो चाहना हो ।
हामी तमाम शिक्षक कर्मचारी बिद्यार्थी, लगानीकर्ता र अभिभावक र सरोकारवालाहरु सबैको अनुरोध छ, भो, अति भो अब हामी पर्खन सक्दैनौ, छिटो भन्दा छिटो एक जना उपकुलपति नियुक्ति गरेर विश्वविद्यालयलाई रसातलमा भासिनु अगावै उद्धार गरिदिनुहोस्, हो चार वर्षे भिसि, तर पटके काम चलाउ नै पठाउने बिचार गर्नु भएको छ भने किमार्थ हामीलाई स्वीकार्य हुने छैन ।
निवेदक
डा. रविन्द्र घिमिरे
सहप्राध्यापक
पोखरा विश्वबिद्यालय
वि.सं.२०७७ जेठ ६ मंगलवार १०:५१ मा प्रकाशित






























