११ वैशाख, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले समयको माग अनुसार आफूलाई डिजिटल प्रविधियुक्त बनाउन बनाउन लागेको छ ।
संघका सदस्यहरुको डाटालाई चुस्त बनाउन, कामहरुलाई सुरक्षित र व्यवस्था राख्न संघले ‘स्मार्ट एनआरएनए परियोजना’(SMART NRNA Project ) सुरु गरेको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिएका छन् ।
परियोजना बनाउन टेण्डरमार्फत नेपालकै एक कम्पनीलाई दिएको र सो कम्पनीले सचिव गौरी जोशीको नेतृत्वमा रहेको SMART NRNA Committee सँग संयोजन गरेर काम गर्ने पनि उनले जानकारी दिए ।
संघलाई समयसापेक्ष विकास गर्न यो प्रोजेक्ट कोषेढुङ्गा हुने अपेक्षा समेत महासचिव डा शर्माले व्यक्त गरेका छन् ।
सो परियोजनामार्फत संघका सदस्यहरुको विद्युतीय डाटाबेस तयार गरिने छ । सदस्यता फाराम आ–आफ्नो मोबाइलबाट भर्न सकिने छ भने पहिलेको एमआईएस पद्दतीलाई MIS System मार्फत सरल, सुरक्षित र व्यवस्थित गरिने बताइएको छ ।
संघका सम्पूर्ण गतिविधि मोबाइल एप्स Mobile App बाट प्राप्त गर्न सकिने, सदस्यहरुले आ–आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड डाउनलोड गर्न सक्ने छन् । प्रत्येक सदस्यको युनिक सदस्यता नम्बर हुने भएका कारण सदस्यता नवीकरण सहज हुने विश्वास संघले लिएको छ ।
संघका बिभिन्न निकायका निर्वाचन विद्युतीय पद्धतीबाट गर्न सकिने, सदस्यहरुले पाउने सुविधा र सहुलियत अनलाइनबाट व्यवस्था गरिने र सदस्यहरुले क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी संघलाई आर्थिक सहयोग गर्न सक्ने छन् भने निर्वाचनमा रजिष्ट्रेसन शुल्क तिर्न घन्टौं लाइन बस्नु नपर्ने बताइएको छ ।
हरेक राष्ट्रिय समन्वय परिषदको वेभसाईटको व्यवस्था गरी वेभसाईटमा एकरुपता ल्याईने, आईसीसीको वेभसाइटलाई आधुनिकरण गरिने, संघका दस्तावेज, बैंठक, सम्मेलन, प्रोजेक्ट आदिको डिजिटल लाइब्ररी तयार गरिने पनि डा. शर्माले बताए ।
वि.सं.२०७७ जेठ ११ आइतवार ११:२६ मा प्रकाशित






























