काठमाडौँ । देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण भएको छ ।
नेपाल आयल निगमका अनुसार सोमबार मात्रै काठमाडौँ उपत्यकामा मात्र ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्रीवितरण भएको छ । त्यस्तै, उपत्यकाबाहेक अन्य जिल्लामा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्रीवितरण गरिएको छ ।
निगमले काठमाडौँ उपत्यकामा आज हालसम्मकै सबैभन्दा धेरै ग्यास बिक्रीवितरण भएको जनाएको छ । पछिल्ला दिनको तुलनामा आज ग्यासको बिक्री तथा वितरणमा उल्लेख्य वृद्धि भएको छ ।
पछिल्ला दिनमा बजारमा देखिएको ग्यास अभावसमेत क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।
निगमका अनुसार आपूर्ति तथा वितरणमा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव पनि क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ ।
वि.सं.२०८३ भदौ २ मंगलवार ०६:४३ मा प्रकाशित






























