कास्की । पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ प्रोत्साहन अभियान सुरु गरेको छ । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि महानगरले विद्युतीय चुल्होलाई विकल्पका रूपमा अघि सारेको हो ।
पोखरा–२२ पुम्दीभुम्दीका २०० परिवारलाई सोमबा विद्युतीय चुल्हो वितरण गर्दै महानगरले विद्युतीय ऊर्जाको प्रयोग बढाउने अभियान सुरुआत गरेको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो । स्थानीयलाई रु चार हजार २०० मूल्य पर्ने चुल्हो प्रदान गरिएको हो ।
वडा नं २२ का कालाबाङ, भुम्दीलगायत पाँच वटा टोलका परिवारलाई पहिलो चरणमा चुल्हो उपलब्ध गराइएको वडाध्यक्ष हिमलाल बरालले बताए । वडाभित्र करिब दुई हजारभन्दा बढी चुल्हो वितरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
कार्यक्रमको शुभारम्भ गर्दै महानगर प्रमुख धनराज आचार्यले ग्यासको अभावका कारण खाना पकाउन समस्या हुन थालेको अवस्थामा विद्युतीय चुल्हो विकल्पका रूपमा उपयोगी हुने बताए ।
खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउँदै लैजानसके ग्यासमा हुने परनिर्भरता घटाउनुका साथै स्वदेशमै उत्पादन भएको विद्युत्को खपत बढाउन सकिने प्रमुख आचार्यले स्पष्ट पारे ।
उनले भने, “खाना पकाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउनसके एलपिजी ग्यासमाथिको परनिर्भरता घटाउन सकिन्छ । यसबाट स्वदेशमै उत्पादन भएको विद्युत्को खपत वृद्धि हुन्छ भने उपभोक्तालाई सस्तो पर्छ ।”
महानगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै नागरिकलाई सहज, भरपर्दो र वातावरणमैत्री ऊर्जा उपलब्ध गराउने उद्देश्यले विद्युतीय चुल्हो वितरण थालिएको उनले बताए ।
ग्यासको चरम अभाव हुँदा कतिपय परिवारको ‘चुल्हो निभ्ने’ अवस्था आएपछि सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन पहल गरिएको उनले बताए ।
ग्यासको अभावका बेला सुरु भएको विद्युतीय चुल्हो वितरण अभियानले तत्कालीन समस्या समाधानमा सहयोग पुगेको स्थानीय दुर्गा बरालले बताए । “सिलिन्डर ग्यासका लागि कति दिन लाइनमा बस्दा पाउन सकिएको थिएन । अहिले गाउँमै आएर चुल्हो वितरण गरेर महानगरले हामीलाई धेरै सहयोग गरेको छ”, बरालले भने ।
पोखराको खाना पकाउने ऊर्जा खपतमा विद्युत्को हिस्सा भने हाल निकै न्यून रहेको महानगरले जनाएको छ । महानगरको नगर ऊर्जा योजनाअनुसार खाना पकाउन प्रयोग हुने इन्धनमध्ये एलपिजीको हिस्सा ८४ दशमलव २५ प्रतिशत छ । काठ दाउराको १० दशमलव २०, बायोग्यासको पाँच दशमवल २५ र विद्युत्को हिस्सा शून्य दशमलव २३ प्रतिशत मात्रै रहेको छ ।
पोखरा महानगरपालिकाको पञ्चवर्षीय नगर ऊर्जा योजनाले सन् २०२९ सम्म महानगरभित्रका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्होको पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
जर्मन अन्तरराष्ट्रिय सहयोग नियोग (जीआइजेड), वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपियन युनियनको सहयोगमा पोखरा महानगरपालिकाको सहरी योजना आयोगले तयार गरेको नगर ऊर्जा योजनाले विसं २१०० सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने दीर्घकालीन लक्ष्य अघि सारेको छ
वि.सं.२०८३ भदौ २ मंगलवार ०६:३१ मा प्रकाशित






























