
२२ जेठ, काठमाण्डौं । कर्णाली प्रदेशको पश्चिम सुर्खेतमा रहेको एक क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएकै दिनमा एक युवाको मृत्यु भएको छ ।
सुर्खेतको पंचपुरी नगरपालिकाको क्वारेन्टिनमा बसेर बुधबार घर फर्किएका २२ वर्षीय युवाको विहिबार राति मृत्यु भएको हो ।
मुम्बईमा मजदुरी गरेर जेठ ८ गते नेपालगन्जको रपैडिया नाका हुँदै ९ गते पंचुपरी पुगेका ती २२ वर्षीय युवालाई १४ दिनको क्वारेन्टाइन बसाई र पिसीआर परीक्षणमा नेगेटिभ देखिएपछि एकसाता होम क्वारेन्टिनमा बस्ने सल्लाह दिँदै घर पठाइएको पन्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।
‘बुधबार बिहान ११ बजेतिर उनीहरुको पिसीआर रिर्पोट नेगेटिभ आएपछि ३ बजेतिर घर पठाएका थियौं । तर घर पुग्न २ सय मिटरको दूरी रहेका उनीहरु राति ११ बजे त्यहाँ पुगेर वडा नं १ को मौरीपालन सामुदायिक भवनमा बसेका थिए’ नगरप्रमुख थापाले भने, ‘बाहिरै खाना खाएर राति त्यहाँ पुगेका रहेछन् । राति सवा २ बजे मृत्यु भएको रहेछ ।’
उनीसँगै सुतेका साथीहरुसँग ती युवाले आफूलाई स्वास फेर्न समस्या भयो भनेको र एक्कासी मृत्यु भएको उनका साथीहरुले बताएको नगरप्रमुख थापाले बताए । उनका साथीहरुका अनुसार ती युवाले प्रेसरको औषधि खाइरहेको पनि थापाले बताए । ‘क्वारेन्टिनमा बस्दा केही समस्या देखिएको थिएन । आफ्नो भारी आफै बोकेर घर फर्किएका थिए ।’ नगरप्रमुख थापाले भने ।
थापाका अनुसार विद्यापुर जनता मावि क्वारेन्टाइनमा राखिएका ६४ जनाको पिसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मृत्यु भएका युवासँगै एउटै कोठामा बसेका ५ जनाको भने रिर्पोट नेगेटिभ आएको थियो ।
मृतक युवाको पुनः श्वास संक्रन गरेर परीक्षणका लागि सुर्खेत अस्पतालमा पठाइएको थापाले जानकारी दिएका छन् । ‘ उनको पुनः श्वास लिएर सुर्खेत अस्पतालमा परीक्षणका लागि पठाइएको छ । सम्भवत बेलुका रिर्पोट आइपुग्छ ।’