२३ जेठ, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमितका २७८ जना नयाँ विरामी फेला परेका छन् । यो संगै नेपालमा संक्रमितको संख्या २९१२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज संक्रमित भेटिएकामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सुनसरीको गढी गाउँपालिका, बराहक्षेत्र नगरपालिका, बारजु गाउँपालिकाका १८ देखि ४० वर्षीय ८ जना पुरुष, झापा गौरदाहका २० वर्षे पुरुष र मोरङ रतुवामाईका १५ देखि ३० वर्षका ६ जना पुरुष रहेका छन् ।
रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा अर्घाखाँची सितागंगाका ३६ वर्षे पुरुष, नवलपरासीका २१ र ३२ वर्षे पुरुष, पाल्पाका ४५ वर्षे पुरुष र रुपन्देही सैनामैनाका १८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा ४८ वर्षीय एक महिला र १८ देखि ५० वर्षका १७ जना पुरुष रहेका छन् ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा सिन्धुली तीन पाटन र कमला माई नगरपालिकाका ३ जना रहेका छन् । उनीहरु १७ देखि २५ वर्षीय पुरुष रहेका छन् । साथै बारा, बारागढी गाउँपालिकाका २६ र २७ वर्षे पुरुषमा पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रादेशिक अस्पताल पोखरामा गरिएको परीक्षणमा तनहुँ रिसिङ ३९ र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा भोजपुर षडानन्द नगरपालिकाका १७ देखि ३२ वर्षका ५ जना पुरुष रहेका छन् ।
झापा गौरीगन्जका ३५ वर्षे पुरुष, सुनसरी हरिनगरा र बराहनगरका ७ वर्षीया बालिकासहित १४ देखि ४७ वर्षीय १३ जना पुरुष रहेका छन् ।
सेति प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु कैलालीको धनगढीका २२ वर्षीया महिला र १६ देखि ३२ वर्षका ३ पुरुष सहित ४ जना रहेका छन् । साथै अछाम साफेबगरका २९ वर्षे पुरुष, बझाङ देउलेखका २६ वर्षे पुरुष, डडेल्धुरा गन्यापधुराका १९ देखि ५७ वर्षीय ५ जना पुरुष रहेका छन् ।
त्यसैगरी धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा रामेछापका १७ देखि ४५ वर्षका १७ जना पुरुष र काभ्रे रोशी, पाँचखाल र पनौतीका २०, २१ र ३९ वर्ष उमेर समुहका ३ महिला र २ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा झापा कचनाकवलका १० वर्षका बालकसहित २८ वर्ष उमेर समुहका १० जना पुरुष रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा दैलेख दुल्लु र महाबुका ९० जना रहेका छन् । उनीहरुमा ९ वर्षीया बालिका, २२ वर्षीया महिला र ४ वर्षीय बालक देखि ५६ वर्ष उमेर समुहका ८७ जना पुरुष रहेका छन् ।
त्यस्तै जुम्ला चन्दनाथका २८ देखि ३५ वर्ष उमेर समुहका ३ पुरुष, हुम्ला चम्खेली, दोलखा, रामेछाप र गोरखा घर भई जुम्लामा कार्यरत क्रमशः ५८, २५, २३ र २५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सुर्खेत सिम्ता र दाङ लमहीका २२ र २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ जनाको पोजेटिभ आएको छ । वारा विश्रामपुर गाउँपालिकाका २० वर्षे पुरुष, धनुषा देवपुराका २० देखि २१ वर्ष उमेर समुहका ४ जना पुरुष, गुल्मी चन्द्रकोट र कास्की घर भई काठमाण्डौंको निजी अस्पतालमा उपचाररत ७६ र ६० वर्षीय पुरुष, कपिलवस्तु यशोधराका २८ वर्षीया महिला, ८ महिने बालकसहित ५२ वर्ष उमेर समुहका पुरुष गरी जम्मा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै महोत्तरी जलेश्वरका १४ देखि ५४ वर्ष उमेर समुहका १७ जना र रौतहट गुजराको क्वारेन्टाइनमा रहेका ३८ वर्षीया महिला, ३ वर्षीय बालक र ४० वर्ष उमेर समुहका ४ पुरुष गरी ६ जना रहेका छन् ।
हालसम्म संक्रमण पुष्टि भएकामा २,९१२ जनामा २,७१७ पुरुष र १९५ जना महिला रहेका छन् ।
वि.सं.२०७७ जेठ २३ शुक्रवार १७:२६ मा प्रकाशित






























