back

सिंहदरबार छिरेको मेरो राजनीतिलाई गाउँघरतिर फर्काउनु छ

वि.सं.२०७३ पुस ११ सोमवार

711 

shares
GLOBAL IME AD
NTC AD

dinanayh-sharma

‘जंगल फेर्ने मन छैन । नयाँ व्यवसाय गर्न उमेर र अहिलेसम्म आर्जन गरेको इज्यतले दिँदैन । त्यसो त नहिँडेको बाटो सजिलो पनि छैन । हिजोको निष्ठा र आदर्श पुरानो भैसकेछ । मनोदशा खस्कँदै छ । म त फ्रस्टेड भैसके घर लथालिंग भएको देखेर’ एक जना मित्रले आत्म खोलेर मलिन अनुहार लगाउँदै भने । जीवनभर अविराम कुदेको मित्रको पीडा हो यो । मैले उनको अनुहार पढेँ । किन यतिविधि उदासिन र उजाड ? किन चमक छैन अनुहारामा ? मलाइ डर छ । अलि पाको पुरानो पुस्ता विचलित हुँदै गए नयाँ पुस्ता कस्तो होला । म अलिबेर टोलाँए । सबैका मुटु छामेँ । सबैको व्यथा एउटै ।

अरुणाचल आमुख भएर कालीको काखमा लमतन्न सुतेको अति रमणीय पखेरोमा जन्मे मँ । जरुवाको पानी पिएर उतै हुर्केँ, बढेँ र पढेँ पनि । गाउँले जीवन सरल र रसिक छ । सोझा गाउँलेहरू आफ्नै शैलीमा पुस्तौँदेखि रमाएका छन् प्रकृतिको काखमा । त्यही काखमा धवलागिरि, अन्नपूर्ण, माछापुच्छ«ेसित लुकामारी खेल्दै र चिसो हावा खाँदै मेरो बाल्यकाल बित्यो । चोखो मनले राजनीतिमा लाग्ने संकल्प गरेँ जीवनको प्रारम्भिक कालदेखि ।
लाउन खान दुःख थिएन । पिता पुर्खाले जोडेको जायजेथा छँदैथियो । गाउँको माझमा सबै मिलेर बनाएको स्कुलमा हेडमास्टरको सम्मानित जागिर पनि थियो । गाउँले बालबालिकालाई पठनपाठन गराएर मन रमाएकै थियो । कुल धर्म थामिएकै थियो । मलाई त्यतिले पुगेन । त्यतिमै सीमित हुन मनले मानेन । परिवर्तनका लागि केही योगदान दिनै प¥यो भन्ने लाग्यो । कसैको करबलले त्यागेको होइन घर परिवार र लालाबालाहरूलाई । भर्खरै केही पाइन्छ कि भन्ने पनि थिएन उतिबेला । एउटा अठोट र संकल्प मात्रै थियो । उच्चकोटीको आदर्श, वर्गीय निष्ठा, आत्मसम्मान र स्वाभिमान अवश्य थियो । त्यसैले कुर्वानी गर्न प्रेरित गरेको थियो मलाई । यात्रा लामै भयो । पञ्चायतको अन्त भयो । मन मानेन । जनयुद्धमा सामेल भएँ ।
समयले नेटो काट्यो । राजनीतिले कोल्टे फ¥यो । भीड थुप्रियो । मात्रा बढ्यो । गुण हराउँदै गयो । मन बाङ्गिए । विचार धमिलियो । धमिलो पानीमा माछा मार्नेहरू धेरै भए । स्रोत, साधन, सत्ता र शक्तिमा अर्जुन दृष्टि प¥यो । स्वाभिमान, आत्मसम्मान र निष्ठा बन्धक बन्यो । नैतिक मूल्य स्खलित भयो । राजनीति धमिलियो । विचार बिटुलियो ।
विष्णुमती र वागमतीको नियती बोकेर राजनीति बगेको छ दक्षिणतिर । वागमतीको महत्व उत्तिकै छ जनताका लागि । सक्कली लोकतन्त्रको सपना साँचेर बगेको छ जनमत । जनमतभित्र पनि अवसरवादको ढल मिसिएछ । जाली, झेली र छलीहरूले धमिल्याएछन् चोखा राजनीतिको मुहानलाई ।
राजनीतिक यात्रामा निस्केको पथिकलाई दिन ढल्केको पत्तै भएन जीवनमा । आफ्नो लागि केही सोचेन केही साँचेन । रगत पसिना मिसायो माटोमा । निस्काम कर्म । फलको आशा गरेन ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन
मा कर्मफलहेतुभूर्मा ते सङ्गोकस्त्वकर्मणि
भन्ने गीता वाक्यलाई आदर्श ठान्यो । भीरपखेरो भनेन बाढी पहिरो केही भनेन । भेलमा हेलियो कतै । बाढीेले किनारतिर मिल्काई दियो कतिपटक । सधैं शिखर चुम्न उत्साहित रह्यो । अथक यात्री अविराम र अविचलित बनेर अगाडि बढ्यो विचारमा । शहीद बनाउने योजना थाहा नपाएको होइन उसले आफ्नै कित्ताबाट । शहीदको सम्मान मिल्ने भो भनेर भित्रभित्रै झन प्रज्वलित हुँदै गयो । दह्रो र दृढ बन्ने हिम्मत र उर्जा भरियो आत्मामा । उसले कुनै गुनासो गरेन । जे पायो त्यसमै रमायो । जे आइप¥यो त्यसको हाँसीहाँसी सामना ग¥यो ।
आजभोलि काम छैन भनेर गुनासो गर्ने साथीहरू थुप्रै भेटिन्छन् । निरासा, कुण्ठा र असन्तोष पनि प्रकट भैरहेको छ साथीहरूको । सम्झाईबुझाई गरेर थामथुम मात्रै भएको छ । अझै कति थामथुम पारेर थाङ्नामा सुताउने साथीहरूलाई । नयाँ पुस्ताले परिवर्तन खोजेको छ । भविष्य खोजेको छ र सामाजिक सम्मान खोजेको छ । आफै गोरेटो कोरेर जंगल छिरेको यात्री बाटो हराएर अलपत्र परेको छ । चिन्ता नयाँ पुस्ताको हो भविष्यको हो ।
माक्र्सवादीले गोठ फेरे । माले एमाले बन्यो । एउटा पुस्ता अस्तायो । हिजोका ती चर्चित अनुहार दृश्यबाट सधैंका लागि ओझेल परे । वागमतीमा चोखोजल मिसिएर धमिलिए झैं भयो । पहिचान मेटियो । इमान, जमान, स्वामिमान रहेन राजनीतिमा यो रोग सबैतिर स¥यो । जिम्मेवारी छैन । दुःखको सुखको साझेदारी छैन । जनवाद छैन । केन्द्रीयता पनि छैन । फूकोफालो भएको छ जीवन । स्वस्थ्य आलोचना र आत्मालोचना गालीगलौज र टिकाटिप्पणीमा अनुवाद भएको छ । नयाँले यस्तै सिक्दै छ । पुरानो पुस्ता विलखमन्दमा छ ।
‘जंगल फेर्ने मन छैन । नयाँ व्यवसाय गर्न उमेर र अहिलेसम्म आर्जन गरेको इज्यतले दिँदैन । त्यसो त नहिँडेको बाटो सजिलो पनि छैन । हिजोको निष्ठा र आदर्श पुरानो भैसकेछ । मनोदशा खस्कँदै छ । म त फ्रस्टेड भैसके घर लथालिंग भएको देखेर’ एक जना मित्रले आत्म खोलेर मलिन अनुहार लगाउँदै भने । जीवनभर अविराम कुदेको मित्रको पीडा हो यो । मैले उनको अनुहार पढेँ । किन यतिविधि उदासिन र उजाड ? किन चमक छैन अनुहारामा ? मलाइ डर छ । अलि पाको पुरानो पुस्ता विचलित हुँदै गए नयाँ पुस्ता कस्तो होला । म अलिबेर टोलाँए । सबैका मुटु छामेँ । सबैको व्यथा एउटै ।
ओरालो लागेको जून, दिन ढल्केको जीवनको मनोविज्ञान आफ्नै प्रकारको हुने रहेछ । तर उसलाई बुढेसकालमा विश्राम लिएर बस्न मन छैन । कुण्ठा पालेर निरास र पलायन हुन जानेन कहिले पनि । केही नगरी बस्न सक्दैन उ । मन त्यसै बरालिन्छ निस्कृय बस्दा । नयाँ पुस्ताको भविष्यप्रति चिन्ता छ । चिन्ता होइन चिन्तन गर्नुपर्छ भनेर चित्त बुझाउँछ । किन समय खेर फाल्नु अल्छि बनेर । शेष जीवनलाई सक्रिय बनाउने धेरै उपाय छन् । लेखपढमा समय बिताउन सजिलो छ उसलाई । राजनीतिको खेतीमा जीवन अर्पियो दायाँबायाँ नहेरी । राजनीतिको मूल संग्लो थियो उतिबेला । संग्लो पानी पिएर उकाली ओराली धाइयो । क्रन्तिको गीत पनि गाईयो । भञ्ज्याङ्को चौतारीमा बसेर शीतल तापियो । स्वच्छ हावाले स्वास्थ्य सप्रियो । मनको कालोमैलो पनि पखालिएको थियो ।
तर आजाभोलि समय दुश्मन निस्क्यो । स्वच्छ वागमती र विष्णुमती प्रदुषित बनाइयो । राजनीति पनि विष्णुमती बनेर बगेको छ । म बिटुलिएँ भनेर सुख छैन । भक्तहरूको विश्वास टुटेको छैन । वागमतीको जलमा स्नान गरे स्वर्ग पुगिन्छ भन्ने विश्वास यथावतै छ । राजनीति पनि वागमती र विष्णुमतिको नियती बोकेर बगेको छ । वागमतीको जल आचमन गरेर कतिदिन बस्नु । कुनै दिन वागमती सफा भएछ भने भक्तजनको भलो होला । राजनीतिमा निखार आएछ भने राम्रो होला तर मेरो जीवनकालमा विष्णुमतीको पानी चोखिएला र खोई ? ब्रिग्रेपछि सपार्न गा¥हो हुन्छ ।
आजभोलि मेरो समय जुलुसतिर भन्दा पनि पुस्तकको भिडतिर छिर्न थालेको छ । यो समयको छनौट हो । शेष जीवन लेखपढमै वित्ने होला । रमाउने विधि हुन सक्छ मेरा लागि । तर पनि चिन्ता नयाँ पुस्ताको हो । नयाँ पुस्तालाई दिने प्रेरणाको उपहार के होला ?
वागमती सफाई अभियान चल्यो राम्रै मनासायले । लीलामणि खटे चोखो मनले । जनताले साथ दिए । ब्रह्मनालमा स्नान गर्ने आँट गरे । यो सक्कली सफाई अभियान थियो । अहिले लीलामणि यो अभियानमा प्रत्यक्ष छैनन् । तर, वागमतीले उनलाई सधैं सम्झिरहनेछ ।
वागमती सफाईका नाममा अनेकौं दाताहरू आए । अभियान चले बेलाबखत । तारे होटलमा अभियानका कार्यक्रम भए । अन्तराष्ट्रिय प्रचार पनि भयो । वागमती सफाइका नाममा राज्यकोषको राम्रै सफाई भयो । यो सफाईको जमाना । वागमती सर्फाको नाराको व्यापार गर्नेहरू सम्पन्न भए । तर वागमती भने फोहोर शरीर बोकेर सकिनसकि अगाडि बढेको छ ।
मेरो देशको राजनीतिले वागमतीको नियती बोकेर अगाडि बढिरहेको छ । राजनीतिको निर्मलीकरण गर्ने पटकपटक चर्चा पनि भयो । शुद्धिकरण सुदृढिकरणको कुरा पनि चल्यो, तर स्थिति जहाँको तहीँ । राजनीतिका भंगालाहरू फाटे । कतिपय उतै बालुवामा हराए र कति अगाडि बढे । निर्मल राजनीतिको शुद्ध जलमा स्नान गरेर चित्त शान्त गर्ने जनताको चाहना अधुरै छ । यो स्थिति फेर्न सजिलो छैन । रगत र पसिनासित साटेको पौरख विष्णुमतीको बगरमा पोखिने भयले सताउन थालेको छ । आजभोलि यो विडम्बना हो समयको । युगले थुपारेको फोहोर । समयले सिर्जेको विकृति बोकेर हिँड्न विवस छ मानिस । पार्टी छ गति छैन । नेता छ नीति छैन । योजना छ परिणाम छैन । वर्तमान छ, भविष्य छैन । आशा छ विश्वास छैन । यो सत्य हो । समयले सिर्जेको निराशा र पलायन । रोगको पहिचान नभै शल्यक्रिया सम्भव छैन । सत्य मन पर्दैन कतिलाई ।
शल्यक्रिया र सफाईका तरिका आ–आफ्नै होलान् । मूल संग्लो भए कुलो संग्लो हुन्छ भन्छन् । वागमतीको मुहान सफा छ । तर वागमती झन पछि झन धमिलिँदै छ । मेरो राजनीतिको मुहान पनि चोखो र पवित्र थियो । दर्शन, सिद्धान्त र रणनीतिमा कुनै शंका छैन । कसैको विमती हुँदैन । राजधानीबासीले वागमती र विष्णुमती फोहोर ग¥यो । राजधानीको सभ्यता, काठमाडौं छिरेपछि मेरो राजनीतिले पनि विष्णुमतीको नियति भोग्न विवस भयो ।
भेरी, कर्णाली वा कोशी किनारतिर यात्रा गर्दा मेरो राजनीति शुद्ध र चोखो थियो । काली किनारतिर खेलेर हुर्केको राजनीतिलाई कसैले बिटुल्याउन सकेको थिएन । चारभञ्याङ् छिरेपछि मेरो राजनीति ओरालो लाग्यो । यहाँको धुँवा, धुलो, तुँवालोको मिसावटको व्यापारले चोखो राजनीतिको स्वास्थ्य भित्रैदेखि बिगा¥यो । खुला बजार व्यवस्थाले आयात गरेका रोगका जीवाणुहरूले कोमल शरीरमा चौतर्फी हमला गरे । शरीरले थाम्न गर्न सकेन । डाक्टले पार्टी जोगाउन सकेनन । वैद्यको झारफूक काम लागेन । डाक्टर वैद्य सबै भागे । मरो राजनीति थला प¥यो । स्मरण शक्ति ह्रास हुँदैछ । विचार बिसिँदैछ । वर्ग भुलिँदैछ । रतन्धो भएको छ मेरो राजनीति ।
साथीभाई भुल्यो । सम्वेदना हरायो । साथी स्वार्थी बन्यो । आफन्त भुल्यो । पराईलाई नजिक बनायो । शुभलाभको हिसाबकिताब भयो । पुरानो भुल्यो । नयाँमा रमायो । पार्टी बिस्र्यो गुट बनाउन सिक्यो । गुटको बलमा पदको मोलतोल भयो । जनवाद सकियो धनवाद मौलायो बनमारा झारझैं । अराजकता फैलियो केन्द्रीयता थला प¥यो । मेरो राजनीति पनि शहरमा सल्बलाएको छ । नेता यतै, स्रोत साधन यतै प्रचार यतै हुन्छ । बैठक यतै । निर्णय यतै । निर्णय यहीँ । कार्यालय पनि यतै । गाउँ खाली छ । राजनीति राजधानी केन्द्रित भयो । वागमती फोहोर भयो ।
यहाँबाट निकालेर थानकोट कटाउन गा¥हो छ मेरो आस्थाको धरोहरलाई । किसानको खेतबारी र घरआँगनरित पु¥याउन सकस परेको छ आजभोलि । कोशी, गण्डकी र कर्णालीको किनारको चिसो पानीमा चोवलेर चोख्याउनु छ मेरो विचार, सिद्धान्त र राजनीतिलाई । उतै गाउँघरतिर धोइपखाली गरी जीवन रक्षा गर्नुपर्ने समय आएछ ।
वागमतीको फोहोर पानीमा स्नान गरेर देह शुद्ध हुने छाँट छैन । यो चालले मुक्ति र मोक्ष पनि संभव छैन । तर पनि वागमतीलाई बग्नु परेको छ राजधानीेको फोहोर बोकेर । वागमतीको पीडा मेरो राजनीतिले पनि भोगेको छ । मलाइ विश्वास छ चोभारबाट निस्केर बग्दै जाँदा बग्दै जाँदा वागमती संग्लिने छ कुनै दिन । अलि परको यात्रा तय गरेपछि । सागर भेट्ने लक्ष छोडेको छैन मेरो पीडित वागमतीले । मेरो राजनीतिले पनि एकदिन अवश्य देश सफा बनाउने छ यात्रा गर्दै जाँदा । गन्तव्य लामो छ । राजधानीको भूगोल साँघुरो छ ।
सिंहदरबार छिरेको मेरो राजनीतिलाई गाउँघरतिर फर्काउनु छ निर्मलीकरण गर्न । बिग्रैको स्वास्थ्य उतै राम्रो हुनेछ चोखो पानी पिएर । अझै प्रदुषित बनेको छैन गाउँघर । ऋषिमुनिहरू पनि तपस्या गर्न नदी किनारा वनजंगल गिरि गह्वरतिर छिरेका थिए । गाउँ वस्ती र पाखा पखेरातिर भेटिन्छन् पवित्र निख्खरा आत्माहरू । आस्था र विश्वासको चोटी उचा हुनेछ मजदुर किसानको मनमा । उत्पीडित वस्तीहरू फेरि एकपटक जुर्मुराउने छन् देशको स्वास्थ्य उपचारका लागि ।
भूकम्पले भत्काएको ऐतिहासिक धरोधरभित्र पुरिन पुग्यो वर्गको राजनीति । वर्गको बीउ भेटिदैन अहिले बजारतिर । पीडित आत्माको नाममा उठेको पिण्डपानीले पालिएको छन् पुरोहितहरू । त्यसमै रमाएका छन् साँझबिहान । त्यसमै हानथाप र लुछाचुँडी चल्यो अगुवाहरूबीच ।
विचार ढलेको छैन । शरीर गलेको छैन । उदासिन बनेर टोलाउनु छैन राजनीति विटुलियो भनेर । भूकम्प आयो गयो । समयसमयमा आँधीहुरी हुण्डरी आउँछ । अँध्यारो पछि उज्यालो पनि हुन्छ । प्रतिकुलता पछि आउने अनुकुलता नै हो । हुलमालमा बीउ जोगाउनु, हुलचालमा जीउ जोगाउनु भन्छन् । यो बीउ र जीउ जोगाउने समय हो । पश्चिमी हावा चर्को छ । विचारको दियो जोगाउन गा¥हो छ । सत्य र न्यायको दियो निभाएर मोज गर्ने सोच बढेको छ । निशाचरलाई उज्यालो मन पर्दैन ।
सधैं आँधी तुफान आउँदैन । गाउँघरतिर विचारको नयाँ दियो जलाउन पनि सिंहदरबारको राजनीति फर्काउनु अनिवार्य भएको छ । मलाई रुनु छैन निर्जन चौतारीमा बसेर । अरुको बैशाखीमा अडिनु पनि छैन । मुखियाको अघि पछि गरेर उपहार थाप्नु छैन मलाई । रुखो सुखो आफ्नै पसिना र पौरख मिठो छ । मलाई काम चाहिएको छ । साँझ बिहान पसिना बगाउन । ज्ञान कहिले पुरानो हुँदैन । हाँसेर मर्ने ज्ञान मात्रै हो दुनियाँमा । त्यसैकारण समले भने होलान, ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ । ज्ञानका लागि तपस्या अनिवार्य छ । साधनाले मात्रै साध्य गरेका थिए हाम्रा पुर्खाहरूले । बुद्धको ज्ञान साधनाको कथा पढ्नका लागि मात्रै होइन । जीवन र जगतलाई बुझ्नका लागि हो र व्यवहारमा अनुवाद गर्नका लागि हो । दर्शन र सिद्धान्त कुनै जड्वस्तु होइन । दर्शन र सिद्धान्त पनि विकसित हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । मभित्र असिम उर्जा शक्ति छ भन्ने मानिसले भित्रैदेखि विश्वास गर्नुपर्छ । उर्जालााई उजागार गर्न संकल्प र समर्पण अनिवार्य छ । आखिर मुक्तिको बाटो पनि त्यही हो । हामीले खोजेको मोक्ष पनि त्यसैमा अन्तरनिहित छ ।
अहिले राजनीति धमिलिएको छ । मनहरू विचलित छन् । अनुहार मलिन र उदासिन बनेका छन् । जीवन बग्ने खोलो हो । बाढीले खोला धमिल्याउन सक्छ । बग्दै र दुवै किनारामा ठोक्किँदै जाँदा आखिर गन्तव्यमा पुग्ने बेला नदी सफा हुन्छ । समयको प्रवाह सँगै बग्दैछ मेरो राजनीति । मेरो आस्था र विश्वासको धरोहर यात्राकै क्रममा कञ्चन धवलागिरि बनेर उभिने छ मेरो राजनीति ।

वि.सं.२०७३ पुस ११ सोमवार ०५:०० मा प्रकाशित

हाम्रो गाउँमा आएको परिवर्तन

हाम्रो गाउँमा आएको परिवर्तन

आफ्नै जन्मथलो, हुर्केको गाउँतिर जान मन सधैं लालायित रहन्छ। त्यहाँका...