३ असार, काठमाण्डौं । अर्घाखाँची र सुर्खेतमा आत्महत्या गरेका एक युवती र एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
बुधबार बिहान ३ बजेतिर आत्महत्या गरेका शितगंगा नगरपालिका वडा नं ५ का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट आएर वडा नं ५ को जुकेनामा रहेको हरि माविको क्वारेन्टिनमा बसेका देव वहादुर विकले क्वारेन्टिनमा बसेका बेला बुधबार बिहान आफूले विच्छ्याएको तन्नाको पासो लगाएर आत्महत्या गरेका हुन् ।
आरडिटी पोजेटिभ देखिएपछि पिसीआरको समेत श्वाव लिएर क्वारेन्टिनमै राखिएका विकले बुधबार बिहान ३ बजेतिर आत्महत्या गरेका हुन् । उनको बुधबार साँझ साढे पाँचबजेतिर आएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको नगरपालिकाका प्रमुख सुर्य अधिकारीले संसारन्युजलाई जानकारी दिएका छन् ।
‘साढे ५ बजेतिर रिर्पोट पोजटिभ आयो, त्यसपछि आर्मी र सेनाको टोलीले उनको शबको व्यवस्थापन पनि गरिसकेको छ ।’ नगरप्रमुख अधिकारीले भने ।
क्वारेन्टिनमै एक पुरुषद्धारा आत्महत्या, नगरप्रमुख भन्छन्–‘आत्महत्याको कारण क्वारेन्टिन होइन’
त्यस्तै सुर्खेतको सिम्ता गाउँपालिकामा झुण्डिएर आत्महत्या गरेकी २५ वर्षीया युवतीमा पनि कोरोना संक्रमण पोजेटिभ भएको देखिएको छ । सुर्खेको मेहलकुना अस्पतालमा उनको मृत्यु पश्चात लिइएको श्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
१४ दिनको क्वारेन्टिन बसाई पूरा गरेर श्रीमानसहित घर फर्किएकी ती युवती असार १ गते घर नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृत्यु पश्चात गरिएको कोरोना परीक्षणको रिर्पोट आज आएको र कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसीले संसारन्युजलाई जानकारी दिएका छन् ।
जेठ १२ गते श्रीमान र तीनवर्षकी छोरी सहित भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेकी उनी १४ दिनको क्वारेन्टिन बसाईपछि आरडिटी रिर्पोटमा कोरोना नेगेटिभ देखिएपछि घर गएकी थिइन् ।
उनको शब मेहलकुना अस्पतालमै राखिएको र सेना र प्रहरीको टोलीले शबको व्यवस्थापन गर्ने पनि गाउँपालिका अध्यक्ष कुँवरले जानकारी दिएका छन् । अध्यक्ष कुँवरले के कारणले आत्महत्या गरेको भन्ने आफूहरुलाई थाहा नभएको बताए ।
गाउँपालिका अध्यक्ष कुँवरका अनुसार अहिले सिम्ता गाउँपालिकामा विभिन्न स्थानमा रहेका ४६ वटा क्वारेन्टिनमा जेठ ८ गतेदेखि हालसम्म झण्डै २५ सयको हाराहारीमा भारतबाट फर्किएकाहरुलाई राखिएको थियो ।
हाल सिम्तामा ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जसमा १ को मृत्यु भएको छ भने १ जना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । अन्यको स्वास्थ्य सामान्य रहेकाले स्थानीय निकायकै आइसोलेशनमा राखिएको उनले बताए ।
वि.सं.२०७७ असार ३ बुधवार २०:५३ मा प्रकाशित






























