
४ असार, इस्लामाबाद (रासस–एएनआई) – पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दिनहुँ बढिरहेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा पाँच हजार ८३९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसहित पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या एक लाख ५४ हजार ७६० पुगेको छ ।
पाकिस्तानमा कोरोनाभाइरससँग सम्बन्धित मृतकको सङ्ख्या दुई हजार ९७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले ५८ हजार ४३७ जना निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको जनाएको छ ।
पाकिस्तानको पन्जाब प्रान्तमा सर्वाधिक व्यक्ति अर्थात् ५८ हजार ३२९ जना सङ्क्रमित भएका छन् भने सिन्ध प्रान्तमा ५७ हजार ८६८ जनामा संक्रमण देखिएको छ ।
राष्ट्रिय स्वास्थ्य सेवा विभागका डा. जाफर मिर्जाले पाकिस्तानमा कोविड–१९ को उपचारमा बेलायतमा सफल देखिएको डेक्सामिथासोन औषधि प्रयोग गर्न लागिएको जानकारी दिए ।
उनले पाकिस्तानी विज्ञ समितिले यसबारेमा चाँडै निर्णय गर्न लागेको पनि बताए ।