काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता सम्पन्न भएमा अमेरिका इरानमाथि सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन् । उनले इरान तथा मध्यपूर्वका केही मुलुकहरूको आग्रहपछि सम्भावित आक्रमण स्थगित गरिएको घोषणा गरेका हुन् ।
अन्तराष्ट्रिय संचारमाध्यम विविसका अनुसार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानसँग हुने सम्भावित सम्झौताका आधारभूत रूपरेखा तयार भइसकेकोसमेत दाबी गरेका हुन् । उनले अमेरिका आवश्यक परे तत्काल आक्रमण गर्न पूर्ण रूपमा तयार रहे पनि विश्वको हित र समृद्ध इरानको भविष्यलाई ध्यानमा राख्दै हाललाई आक्रमण रोकेको उल्लेख गरेका छन् ।
उनको यो अभिव्यक्ति अमेरिकी तथा इजरायली सेनाले इरानका ऊर्जा पूर्वाधारमाथि अहिलेसम्मकै कडा बमबारीको तयारी गरिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको रिपोर्ट सार्वजनिक भएको केही समयपछि आएको हो ।
यद्यपि, इरानले भने नयाँ वार्ताको प्रस्ताव गरेको वा कुनै सम्झौताको प्रारम्भिक सहमति भएको ट्रम्पको दाबीलाई पुष्टि गरेको छैन ।
इरानको चेतावनी : कुनै पनि खतरा वास्तविक ठान्छौं
यसैबिच इरानका कार्यवाहक रक्षामन्त्री माजिद इब्न अल–रेजाले आइतबार दिएको प्रतिक्रियामा आफ्नो देशले शत्रुपक्षबाट आउने हरेक धम्कीलाई “वास्तविक र विश्वसनीय“ रूपमा लिने बताएका छन् ।
“हामी कुनै पनि परिस्थितिमा अचम्ममा पर्ने छैनौं र निष्क्रिय पनि बस्ने छैनौं,“ उनले भने ।
यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले इरानका ऊर्जा संरचनामाथि ठूलो स्तरको संयुक्त आक्रमण गर्ने योजना बनाइरहेको दाबी गरेका थिए । उक्त विषय ट्रम्पको मन्त्रिपरिषद् बैठकमै छलफल भएको समाचार पनि सार्वजनिक भएको थियो ।
मध्यपूर्वमा अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह
क्षेत्रीय तनाव बढ्दै गएपछि अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सम्भावित संकटका लागि तयारी अवस्थामा रहन र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ जान सुझाव दिएको छ ।
शनिबार ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका “दोस्रो विश्वयुद्धयताकै सबैभन्दा शक्तिशाली सैन्य क्षमतासहित पूर्ण रूपमा तयार” रहेको चेतावनी दिएका थिए ।
पहिलेदेखि नै कडा चेतावनी दिँदै आएका ट्रम्प
यसअघि अप्रिल ७ मा पनि ट्रम्पले इरानले शान्तिवार्ता स्वीकार नगरे “आज राति एउटा सम्पूर्ण सभ्यता समाप्त हुन सक्छ” भन्दै चेतावनी दिएका थिए । उनले इरानको नागरिक पूर्वाधार र विद्युत् संरचना ध्वस्त पार्ने धम्कीसमेत दिएका थिए, जसलाई धेरै अन्तर्राष्ट्रिय विश्लेषकहरूले सम्भावित युद्ध अपराधको चेतावनीका रूपमा व्याख्या गरेका थिए ।
त्यसपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा प्रत्यक्ष वार्ता भए पनि अन्ततः कुनै सम्झौता हुन सकेको थिएन ।
साउदीको पहल, तनाव कम गर्न संवादमा जोड
तनाव चुलिँदै जाँदा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन संवाद गर्दै क्षेत्रीय तनाव कम गर्न संवादलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
साउदी सरकारी समाचार एजेन्सीका अनुसार युवराजले युद्धविराम र कूटनीतिक समाधानका लागि सबै पक्षले अधिकतम प्रयास गर्नुपर्ने बताएका हुन् ।
तेल बजार र अमेरिकी राजनीतिमा पनि असर
अमेरिका र इरानबीच युद्धविराम असफल भएपछि दुवै देशबीच पुनः आक्रमण र प्रतिआक्रमण जारी छ । अमेरिकाले इरानी बन्दरगाह र सैन्य संरचनामाथि आक्रमण गरिरहेको छ भने इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य आधार तथा विश्व तेल आपूर्तिको मुख्य मार्ग मानिने होर्मुज जलडमरू आसपासका जहाजहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ ।
यसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव देखिएको छ । विश्लेषकहरूका अनुसार यदि तनाव अझ बढ्यो भने तेलको मूल्य थप उकालो लाग्ने सम्भावना छ, जसको प्रत्यक्ष असर विश्व अर्थतन्त्रसँगै अमेरिकी उपभोक्तामाथि पनि पर्नेछ ।
यता अमेरिकामा हुने मध्यावधि निर्वाचन नजिकिँदै जाँदा युद्धप्रति अमेरिकी जनमत पनि ट्रम्प प्रशासनका लागि चुनौती बनेको छ । हालै सार्वजनिक एक सर्वेक्षणअनुसार करिब ६० प्रतिशत अमेरिकी नागरिक इरानसँगको युद्धको विपक्षमा रहेका छन् ।
यदि कूटनीतिक पहल सफल हुन सकेन भने मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्ने र विश्व ऊर्जा बजारमा नयाँ संकट उत्पन्न हुने विश्लेषण गरिएको छ ।
वि.सं.२०८३ साउन १७ आइतवार १५:५३ मा प्रकाशित






























