
काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहिबार बसेको राष्ट्रिय सभाको बैठकमा संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको हो । संशोधनको प्रस्तावको पक्षमा उपस्थित सबै ५७ जनाले नै मतदान गरेका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए । विधेयक पारित हुनुअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि धारणा राखेका थिए । बैठकमा विधेयकमाथि कुनै संशोधन विधेयक परेको थिएन ।
यसअघि गत जेठ ३१ मा बसेको प्रतिनिधिसभा बैठकबाट पनि संविधान संशोधन प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो ।
अब राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई दिनेछ । प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर प्रतिनिधि सभाले विधेयक सभाुमखबाट प्रमाणित गराएर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।