
४ असार थाइल्याण्ड । थाइ नेपाली संघले कोरोना भाइरस संक्रमणका कारण थाइल्याण्डमा समस्यामा परेका नेपालीहरुलाई राहत वितरण गरेको छ ।
नेपाली तथा गैरनेपालीहरुमा परेको समस्या निवारणमा सक्रिय हुँदै आएको संघले यो पटक कोभिड–१९ का कारण समस्या परेका नेपालीहरुका लागि राहत वितरणका कार्यक्रमहरु गरेको हो ।
थाइल्याण्डका विभिन्न शहरहरूमा कोरोना भाईरसका कारण समस्यामा परेका नेपाली र गोर्खाली एवं जनजाती समुदायमा राहत वितरण गरिएको संघका अध्यक्ष कुमार कार्कीले संसारन्युजलाई बताएका छन् । कार्कीका अनुसार संघका विभिन्न शाखाहरुले सक्रियरुपमा राहत संकलन र वितरणको कार्य गर्दै आएका छन् ।
संघद्धारा वितरित राहत सामग्रीहरुमा चामल, तेल, चाउचाउ, माछाका डब्बा, पिठो, नुन, मसला जस्ता दैनिक उपभोग्य सामग्रीहरु रहेको र आवश्यकता अनुसार केही व्यक्तिहरुलाई आर्थिक सहयोग पनि गरिएको थियो । संघले शाखाहरू नभएका ठाउँबाट पनि राहत सामाग्री माग भएको अवस्थामा थाइ नेपाली संघका प्रतिनिधिहरू गएर राहत वितरण गरेका थिए ।
गत मे महिनादेखि संघले सुरु गरेको राहत वितरण कार्यक्रमबाट २ हजार ५०८ परिवारका ८ हजार ६८५ व्यक्तिहरुले सेवा पाएको संघका अध्यक्ष कार्कीले बताए । थाइ नेपाली संघका शाखा तथा उपशाखाहरूमा अवश्यकता अनुसार विहान वेलुका खानाहरू बनाइ दैनिक रूपमा ४०० भन्दा धेरै मानिसहरूलाई वितरण गरिएको पनि अध्यक्षले जानकारी दिएका छन् । यस कार्यमा त्यहाँस्थित विभिन्न संघसंस्थाहरूले पनि संघसँग मिलेर सहयोग गरेका छन् ।
संघले नेपालबाट अध्ययनका लागि थाइल्याण्ड पुगेका ५६ नेपाली विद्यार्थीहरुलाई पनि नेपाली राजदूतावाससँग मिलेर राहतको कार्यमा सहयोग गरेको छ । साथै थाइल्याण्डबाट विदेश फर्कन चाहनेहरूलाई सरकारी निकायहरूबाट कागजपत्र लगायत आवश्यकता अनुसार यातायात सुविधा मिलाउने कार्य पनि संघले गरेको छ ।
त्यसैगरी कोरोनाका कारण समस्यामा परेकाहरुलाई सम्पर्क गर्न संघले सामाजिक संजाल मार्फत अनुरोध गरेको थियो । यस कार्यका लागि संघका महासचिव विनोद लामिछाने र दुःख निवारण विभागका प्रमुख रामकुमार ढुंगानालाई तोकिएको थियो ।
विभागका प्रमुख ढुंगानाले संघका विभिन्न शाखाका पदाधिकारी तथा विभिन्न व्यक्तिहरुको सहयोगका कारण राहतका काम गर्न सहज भएको बताउँदै सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।
त्यस्तै संघका महासचिव लामिछानेले थाइल्याण्डका विभिन्न शहरमा आपतमा परेका व्यक्तिहरुले संघमा सम्पर्क राखेको र संघका शाखाहरुबाट सहयोगको सक्दो प्रयास गरिएको जानकारी दिएका छन् ।
कोभिड १९ ले ल्याएको विपत्ति अझै टरि नसकेकोले राहत वितरणका कार्यहरु निरन्तर भइरहेको पनि संघका अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।