
जबसम्म यो महामारीको अन्त्य हुदैन अर्थात् विद्यालय खोल्ने वातावरण र समय आउँदैन तबसम्म यो अनलाईन अभ्यास जारी नै रहोस् । मलाई आशा छ यो जारी नै रहने नै छ र कतिपय सञ्चालन नगरिएका विद्यालयहरुमा पनि किन सञ्चालन गरिएन प्रश्न उठाउँदा राम्रै हुन्छ । यति सुबिधाजन्य ईन्टरनेटको जमानामा विद्यार्थी बालबालिकाहरुलाई लामो समयसम्म पढाइबाट बन्चित गराइ तटस्थ रहनु लाचारपन हो त्यसैले अनलाईन क्लास हरेक विद्यालयमा होस् ।
विश्वभरी फैलिएको महामारी रोग कोविड= १९ को कारणले मानिसलार्ई रोगको भय सँगै अनेक चुनौतिहरुलाई सामना गर्नुपरेको कुरा त सबैलाई थाहा छँदैछ त्यसमाथि विद्यार्र्थी र बालबालिकाहरुले पनि ठूलै मार खेप्नुपरेको अनुभव प्रत्यक्ष रुपमा तपाई हाम्रै माँझमा छ ।
हरेक दिन विद्यालयमा अध्यापन गरिरहँदा त शिक्षकहरुले समय तालिका र रुटिन अनुसार विद्यार्थीमा कति कुराहरु सुधार हुँदैन र कन्ट्रोलमा राख्न सकिँदैन । त्यसमा अझै नभएर लामो समय विद्यालय बन्द भइ घरमै ‘लक’ भएर बस्नुपर्ने अवस्थाले विद्यार्थी र बालबालिकालार्ई परेको असरको राम्रै महसुस त अवस्था नै भोगिरहेका विद्यार्थी साथै हामी जस्ता अविभावकलार्ई थाहा छ । एक व्यक्तिलाई आफ्नो काम, व्यवसाय, जागिर सब कुराको चिन्ता त आफ्नो ठाउँमा भारी छँदै थियो यो सँगसँगै बालबालिकाको पढाइ र उनिहरुको स्वतन्त्र दिनचर्याको कारणले परिवर्तित बानी व्यबहारबाट चिन्तित बनिरहेको अवस्था गुज्रिरहेको थियो । यसका साथै आफ्ना बालबालिका, शिक्षक र विद्यालयको निगरानीको अभावमा पढाइदेखी लिएर हरेक क्रियाकलापमा हामी अविभाबकबाट केही समयको लागि मात्र पनि कठिन रहेछ भन्ने कुराको तितो अनुभव यो लकडाउनले गराएको छ ।
यहि परिस्थितिसँग गुज्रिदै गर्दा विद्यालयहरुले अनलाईन कक्षा सन्चालन गर्ने सूचना गरेपछि निराश मन थोरै मात्र आशामा परिणत भएको थियो किनकी यो कसरी प्रभावकारी होला र भन्ने मनमा लाग्नु स्वभाविक थियो । तर पछिल्लो समयमा आएर महसुस भयो की यस क्रियाले विद्यार्थीहरुमा सकरात्मक परिवर्तन दिएको छ । जब एउटा निश्चित समय तालिकामा पाठ्यक्रम अनुसार प्रक्रियागत तरिकाले अध्यापन गराइँदा विद्यार्थीमा, एक नयाँ शिक्षण सिकाइको अनुभवले थप जागरुकता देखिएको छ । अर्काे बेला बेलामा परीक्षाको व्यवस्थाले कृयाशिलताको व्यवहार देखिने साथै कक्षामा हुने गतिबिधि र होम वोर्कले समयको सदुपयोग र सिकाइमा प्रभावकारिता भएको पाइयो । विद्यालय मै हुने औपचारिक कक्षासँग तुलना गर्न नमिले पनि धेरै हद्सम्म सकरात्मक प्रभाव देखियो ।
केही अविभावकहरुले अनलाईन पढाइको बिरोध गर्दै फि असुल्ने उपाय रचेको पनि भन्नुभएको छ तर यो शब्दको मैले बिरोध गरेकी छु । किनकी, शिक्षकहरुलाई पनि यो त्यति सजिलो छैन हाम्रै बालबालिकाहरुको लागि दैनिक रुपमा खटेर आफ्नो अमुल्य समय अर्पण गर्नुहुने उहाँहरुप्रति हामी आभारी हुनुपर्दछ र परिश्रम अनुसारको मुल्यांकनमा बिवेक गर्नुपर्छ भन्ने मेरो विचार रहेको छ । म के भन्छु भने फि असुल्न खोजेको भन्दापनि विद्यार्र्थीको अमुल्य समयको ख्याल गर्दै अहिलेको ईन्टरनेटको जमानामा नयाँ शिक्षा प्रणाली अपनाएर विद्यार्र्थीको समय खेर जान नदिइ सदुपयोगमा ल्याउन समय दिनुहुने शिक्षक र विद्यालयप्रति आभार प्रकट गर्नै पर्दछ ।
म अन्त्यमा के भन्छु भने जबसम्म यो महामारीको अन्त्य हुदैन अर्थात् विद्यालय खोल्ने वातावरण र समय आउँदैन तबसम्म यो अनलाईन अभ्यास जारी नै रहोस् । मलाई आशा छ यो जारी नै रहने नै छ र कतिपय सञ्चालन नगरिएका विद्यालयहरुमा पनि किन सञ्चालन गरिएन प्रश्न उठाउँदा राम्रै हुन्छ । यति सुबिधाजन्य ईन्टरनेटको जमानामा विद्यार्थी बालबालिकाहरुलाई लामो समयसम्म पढाइबाट बन्चित गराइ तटस्थ रहनु लाचारपन हो त्यसैले अनलाईन क्लास हरेक विद्यालयमा होस् । सबै विद्यार्थी बालबालिकाहरुले आफ्नो महत्वपूर्ण समयको सदुपयोग गर्न सकुन भन्न चाहान्छु । शिक्षक र विद्यालयको निगरानीको अभावमा पढाईदेखि लिएर हरेक क्रियाकलापको अनुगमन अबिभावकबाट त छोटो समयको लागि पनि कठिन रहेछ भन्ने अनुभूति गरेकी छु । म फेरी पनि जोड दिन चाहान्छु बालबच्चाको पढाइप्रतिको नियमितता, समयको सहि उपयोग र प्रबिधिको ज्ञानको लागि पनि अनलाईन अभ्यास उपयोगी बनेको छ ।
(पर्बत पैयु गाउँपालिका ३ बेउलीबास, हाल : तिलोत्तमा नगरपालिका ६ मणिग्राम, रुपन्देही)