काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पाँचौ स्थायी कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा पाँच एजेण्डाबारे छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार अर्को बैठक असार १२ गते बस्नेछ ।
श्रेष्ठले जानकारी दिएअनुसार पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्तव्य राखेका थिए । बैठकले महासचिव विष्णु पौडेलले अध्यक्षद्वयका तर्फबाट प्रस्तावित गरेका कार्यसूचीमाथि स्थायी कमिटी सदस्यहरुको सुझाव माग गरेका थिए ।
बैठकले एमसीसी, कोभिड–१९, सीमा समस्यालगायतका विषयलाई कार्यसूचीको रुपमा समेट्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।
https://www.facebook.com/sansarnewsnepal/videos/1428300580713040/
उनका अनुसार थपिएका सहितका सात कार्यसूचीमा बैठकको शुरुमा नै पार्टीका अध्यक्ष द्वयले विचार राख्ने, कोरोना सङ्क्रमण नियन्त्रण तथा उपचार, सीमा समस्या, सरकारको कामको समीक्षा, पार्टीको कामको समीक्षा, पार्टी एकीकरणको बाँकी साङ्गठनिक एकीकरणलगायत विषय र एमसीसी रहेको छ ।
गत पुसदेखि नेकपाको स्थायी कमिटी बैठक बस्न सकेको थिएन । पार्टीभित्र बढेको असन्तुष्टीका बीच पटक–पटक बैठकको माग गर्दा पनि विभिन्न बाहानामा बैठक स्थगित हुँदै आएको थियो ।
वि.सं.२०७७ असार १० बुधवार १६:०३ मा प्रकाशित






























