२२ असार, काठमाण्डौं । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले लकडाउनबाट प्रभावित नेपालीहरुबीच राहत वितरणको कार्यलाई तिब्रता दिएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिनै सक्रिय भएर न्युयोर्कमा कोरोना प्रभावित नेपाली समुदायका लागि औषधि, मास्क, खाद्यान्न, सेनिटाइजर लगायतका सामग्री वितरण गर्दै आएको महासंघले सोहि कार्यअन्तर्गत नेपालमा पनि राहत वितरणका कार्यक्रमलाई तिब्रता दिएको हो ।
महासंघले आइतबार काठमाण्डौंको नयाँ बजारमा रहेको वरिष्ठ समाजसेवी इन्दिरा राना मगरको पिए नेपाल संस्थालाई चामल, दाल, तेल, मिनलर वाटर, टेन्ट लगायतका सामग्री हस्तान्तरण गरेको हो । साथै आइतबारै रत्नपार्क लगायतका फुटपाथमा रहेका ३०० वढी मानिसहरुलाईं प्याकेटको खाना वितरण समेत गरेको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ नेपाललगायत विभिन्न संघसंस्थाको समन्यवयमा सुरु गरिएको राहत तथा खाना वितरण कार्यक्रममा महासंघका अध्यक्ष जगत वरामीले फिप्नाले अमेरिकादेखि नेपालका विभिन्न ठाउँमा गरेको राहत वितरण कार्यक्रमको खुलेर प्रसंसा गरेका थिए । उनले महासंघको समन्वयमा काठमाण्डौं उपत्यकाका सडकमा भौतारिएका बृद्धबृद्धा, अनाथ बालबालिका, अपाङ्ग तथा अशक्तहरुका लागि खाना खुवाउने कार्यक्रम राखिएको र धनकुटा, सिराहा तथा दैलेखको गुराँसेसम्म पुगेर कोरोनाबाट प्रभावित गरिव तथा पीडित समुदायलाई राहत वितरणका कार्यहरुमा लागेको बताए ।
अध्यक्ष बरामले कोभिड १९ ल्याएको समस्यामा सरकारले प्रभावकारी राहत तथा स्वास्थ्योपचार गर्न नसकेको बताउँदै सरकार सिंहदरबारमा मात्र सिमित रहेको भन्दै दुःख व्यक्त गरेका थिए ।

त्यसैगरी फिप्ना अमेरिकाका सल्लाहकार तेन्जिङ उक्यावले मानविय कार्यमा फिप्ना अमेरिकाले उदाहरणीय कार्य गर्दै आएको बताउँदै नेपालमा पनि कोरोना महामारीको संक्रमण निरन्तर बढ्दै गइरहेकाले सबैले सर्तकता अपाउनुपर्ने बताएका थिए ।
सोहि कार्यक्रममा पिए नेपालकी अध्यक्ष इन्दिरा राना मगरले महासंघको कार्य सह्रानिय भएको बताउँदै धन्यवाद व्यक्त गरेकी थिइन् । उनले आफ्नो संस्थालाई महासंघले २० बोरा चामल, २० वटा पाल लगायतका खाद्य सामग्री उपलब्ध गराएको बताउँदै उक्त खाद्यान्न पनि कोरोना प्रभावितका लागि प्रयोग गर्ने बताइन् ।

ग्रीन इन्टरनेशनलकी सचिव सम्पदा लिम्बुद्धारा संचालन गरिएको उक्त खाद्यान्न हस्तान्तरण कार्यक्रममा क्लवकी अध्यक्ष सुलोचना गुरुङले ग्रीन इन्टरनेशनले हालसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिँदै फिप्नाको सह्रायिन कार्यका लागि धन्यवाद व्यक्त गरेकी थिइन् ।
सोहि अवसरमा पत्रकार देवेन्द्र सुर्केलीलगायतले आफ्ना भनाई राखेका थिए भने ग्रीन इन्टरनेशनलका उपाध्यक्ष सुवि राई, सदस्य उमेश राईलगायतको उपस्थिति रहेको थियो ।
यस्तो छ नेपालमा फिप्नाको प्रथम चरणको राहत वितरण कार्यक्रम
असार २१ गते देखी २९ गते सम्म काठमाण्डौ उपत्यकाभित्रका विभिन्न अनाथालयहरू, बृद्वाश्रमहरू, सडक वालवालिकाहरू, असाहाय वालवालिकाहरू, घरबार विहिनहरू, बटुवाहरू र मजदुरहरू लाई लक्षित गरी पहिलो चरणमा कम्तिमा दश दिन लगातार विभिन्न ठाउहरूमा खाना वितरण गर्ने ।
त्यसका लागी, पशुपति क्षेत्र, रत्नपार्क, नयाँ वसपार्क, हनुमानढोका परिसर तथा विभिन्न बुद्धाश्रम तथा अनाथालयहरूमा वितरण गरीने छ । एकपटकमा ३०० जनालाई स्वास्थ्य खाना वितरण गरिने छ । साथै उपत्यकामा रहेका कम्तीमा दश समूह घरबिहिनहरूलाई त्रिपाल समेत बितरण गरिने छ ।
२ उपत्यका भन्दा बाहिरको जिल्लाहरूमा दलित तथा सिल्पी समुदाय, सिमान्तकृत समुदाय, अति विपन्न समुदाय र सुकुम्बासी क्षेत्रहरूमा राहत वितरण गरीने छ । पहिलो चरण अन्तर्गत टुंगो लागेका योजनाहरूमा असार २२ गते सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. १ को मुसहर समुदायलाई, असार २५ गते दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नं. ५ मा राउटे समुदायलाई, असार २६ गते धनकुटा जिल्लाको तमोर कोरीडोरको लेउती बगर क्षेत्रका मजदुरहरूलाई खाद्यान्न सामाग्री वितरण गरिदैछ । साथै मिति टुंगो लाग्न बाँकी क्षेत्रहरूमा तमोर कोरीडोरका माँझी समुदाय तथा मकवानपुरका चेपाङ समुदायलाई प्रथम चरण अन्तर्गत राहत वितरण गरीने छ ।

खाद्यान्न सामग्रीहरूमा प्रत्येक परिवारलाई चामल २५ केजी, दाल २ केजी, नुन १ पोका र तेल १ लिटरका दरले वितरण गर्नुका साथै राउटे समुदायलाई प्रति परिवार १÷१ प्रतिको दरले टेन्ट समेत वितरण गरीने कार्यक्रम रहेको छ ।
राहत वितरणको सम्पूण आर्थिक व्यावस्थापन नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) द्वारा हुनेछ भने समन्वयात्मक भूमिका नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयले साथै स्थानिय आयोजक÷व्यवस्थापकको जिम्मेवारीमा स्थानिय निकायहरू, नेफिनको प्रदेश, जिल्ला तथा नगरपालिकार गाउँपालिका स्तरीय नेफिन समितीहरू तथा यस बाहेक अन्य सहकार्य गर्ने संस्थाहरू नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपाल, पिए नेपाल, दलित जागरण केन्द्र नेपाल, लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रवर्धन समिती, लगायतको सहकार्यमा उक्त कार्य सम्पन्न गरिने फिप्नाले जानकारी दिएको छ ।
अमेरिकामा गरेका राहतका कार्यक्रमहरु
फिप्नाले गत मार्चदेखी जुनसम्म न्युर्योकमा संस्थागतरूपमा झण्डै टाईनल २६,००० प्रति , मास्क ११,००० प्रति , पन्जा १७,६५० प्रति तथा हेण्ड सेनिटाईजर २३७ प्रति पिपिई सामाग्री वितरण गरेको थियो । जसमा प्रत्यक्ष १५०० भन्दा बढी परिवारलाई उक्त सामग्री वितरण गरिएको फिप्नाले जनाएको छ । साथै २४ वटा संघसंस्थाहरूलाई समेत विभिन्न चरणमा पिपिई सामग्री हस्तान्तरण गरेको छ ।
फिप्नाले अब नेपालका विभिन्न ठाउँमा रहेका अति विपन्न परिवारलाई रोजगारी गुमेकै कारण खानावाट बन्चित नहोस् भन्ने रहेको बताउँदै अभियानमा साथ, सहयोग र सहकार्य गरीदिनहुन पनि महासंघका अध्यक्ष लोकचेम्जोङले हार्दिक अनुरोध गरेका छन् ।
परदेशमा जस्तोसुकै दुःख पिडामा रहेपनि मातृभूमिप्रति आफ्नो कर्तव्य सम्झेर राहत वितरणका कार्यक्रमहरु गर्न पाउँदा गर्वले छाती फुलेको बताउँदै अध्यक्ष चेम्जोङले भने, ‘यो मातृभूमि प्रतिको हाम्रो कर्तव्य हो भन्ने हाम्रो ठम्याई छ ।’
वि.सं.२०७७ असार २२ सोमवार १३:४९ मा प्रकाशित




























