२८ असार, काठमाडौं । मधुसुदन सापकोटाले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा स्वर्ण जितेका छन् । तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुले ४० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेम (एनटीए) का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।
त्यस्तै प्रगति कुइकेलले १३–१४ वर्ष तथा आयुश बोहराले १५–१७ वर्षमा रजत जिते । १०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य हात पारे । पदक विजेता सबै खेलाडी एनटीएका हुन् । एनटीएबाट जम्मा ८ खेलाडी सहभागी छन् । तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी छ ।

प्रतियोगितामा १२ राष्ट्रका ३ सय ७५ खेलाडीको सहभागिता रहेको खड्काले जनाएका छन् । जुलाइ ११ तारिखदेखि सुरु प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।
व्यायम व्यवसायीको संघ गठन
काठमाडौंका व्यायाम व्यवसायीको भेलाले व्यायाम व्यवसायी संघ, काठमाडौं गठन गरेको छ । काठमाडौंमा रहेका करिब २ सय ५० व्यायाम व्यवसायीहरुको भेलाले सुरेश सुवेदीको अध्यक्षतामा संघ गठन गरेको बताइएको छ । सुवेदी काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष हुन् । सुवेदी खिचापोखरी र थापाथलीस्थित फिट्नेस गराजका सञ्चालक पनि हुन् ।
व्यायाम व्यवसायीहरुलाई एकजुट बनाइ व्यवसायिक हकहित, अधिकार र सुरक्षाका लागि संघ गठन गरिएको सुवेदीले जनाएका छन् । सरकारले अनुमित दिए विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सुरक्षा मापदण्ड अनुसार सम्पूर्ण सुरक्षा संयन्त्र अपनाइ व्यवसायी सञ्चालन गर्न तयार रहेको अध्यक्ष सुवेदीले बताए ।
नवगठित संघको उपाध्यक्षत्रयमा बुद्धिजंग कार्की, कृष्ण विष्ट र बालमुकुन्द अवाले, सचिवमा जगन्नाथ अधिकारी, उप–सचिवमा विजयत्त्तम रत्न वज्राचार्य, कोषाध्यक्षमा अनिल श्रेष्ठ तथा सह–कोषाध्यक्ष श्रीकृष्ण अधिकारी रहेका छन् । सदस्यहरुमा रमेश श्रेष्ठ, दीपेन्द्र प्याकुरेल, रोजन खड्का, रमेश श्रेष्ठ, विजय देउला, प्रकाश प्रजापति, शंकर महर्जन, सनम दुवाल, रमेश श्रेष्ठ, देविका राई, कृष्णगोपाल श्रेष्ठ, अनिललाल श्रेष्ठ, विनोद श्रेष्ठ र मिलन लामा छन् ।

वि.सं.२०७७ असार २८ आइतवार १७:२१ मा प्रकाशित






























