
२८ असार, काठमाडौँ । राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टी एकीकरण भई गठन भएको जनता समाजवादी पार्टीले आइतबार निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ ।
निर्वाचन आयोगले राजनीतिक दल एकीकरण भएको प्रमाणपत्र दिएको हो । उक्त प्रमाणपत्रमा जनता समाजवादी पार्टीको दल दर्ता नं १५९ रहेको छ ।
आयोगले दिएको प्रमाणपत्रमा ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम राजनीतिक दल एक–आपसमा एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल कायम रहने गरी आयोगबाट निर्णय भएको’ उल्लेख छ ।
साविकका राष्ट्रिय जनता दल (राजपा) नेपाल र समाजवादी पार्टीको रुपमा छुट्टाछुट्टै दर्ता कायम रहेका दलहरु एकआपसमा एकीकरण भई ‘जनता समाजवादी पार्टी, नेपाल’ दर्ता गर्न आयोग समक्ष प्रस्ताव गरिएको सम्बन्धमा आयोगको असार २४ गते बसेको बैठकले आयोगमा रहेको दल दर्ता किताबमा अभिलेख अद्यावधिक गरी दलको प्रस्तावित झण्डा र चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
जनता समाजवादी पार्टीले दलको प्रमाणपत्र प्राप्त गरेसँगै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोग, पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई बधाई एवम् शुभकामना व्यक्त गरेका छन् ।
उनले अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, शुसासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादी समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिहरुलाई जनता समाजवादी पार्टीमा आबद्ध हुन आग्रह समेत गरेका छन् ।