२९ असार, काठमाडौँ । आज बाढी पहिरोका कारण ११ जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसंचालन केन्द्रले दिएको जानकारी अनुसार आज ११ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् । र ८ जना घाइते भएका छन् ।
बेलुकी ७ बजेसम्मको मनसुनजन्य विवरण भन्दै दिइएको प्रेस विज्ञप्तिमा सबैभन्दा बढी आज तनहुँमा १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता र २ जना घाइते भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको र घाइतेको उपचार भैरहेको बताइएको छ ।
त्यस्तो आज पनि म्याग्दीमा १ जनाको मृत्यु भएको छ । म्याग्दीमा आजसम्म पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ भने ६ जना घाइतेको उपचार भैरहेको र ६ जना भने उपचारपश्चात घर फर्किएका छन् ।
संखुवासभामा पहिरोका कारण ११ जना बेपत्ता भएका छन् भने विस्थापित ८२ घर परिवारहरुलाई सुरक्षित स्थानमा सारिएको गृहले जानकारी दिएको छ । बेपत्ताको खोजिका लागि सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको बताइएको छ ।
लम्जुङमा आज पनि पहिरो गएपनि मानविय क्षति भने भएको छैन । जोखिममा रहेका ९ घर परिवारलाई सुरक्षित स्थानमा राखिएको छ ।
आज बाढीपहिरोका कारण ४ जिल्ला विशेष प्रभावित छन् ।
बुधबारदेखि देशभर आएको अविरल वर्षाका कारण विभिन्न जिल्लाहरुमा बाढी पहिरो गएका छन् । बाढीका कारण ८० जनाभन्दा बढीको ज्यान गैसकेको छ । 
वि.सं.२०७७ असार २९ सोमवार २०:३२ मा प्रकाशित






























