
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रश्न उठाएका छन् ।
मंगलबार प्रधानमन्त्री ओलीको विवादास्पद अभिव्यक्तिबारे बोल्दै रावलले राम र अयोध्याबारेको बसहमा प्रश्न उठाएका छन् । उनले भारतसँगको मुख्य समस्यालाई विषयान्तर गर्न राम र अयोध्याको विषय उठाइएको त होइन भनि प्रश्न पनि गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘यो बेला सीमा क्षेत्र मिचिएको,तराईका वस्ति डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने हो ? विषयान्तर किन ?’
यो बेला सीमा क्षेत्र मिचिएको,तराईका वस्ति डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने हो?विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो?
— Dr. Bhim Rawal (@BhimRawal179) July 14, 2020
उनले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न गर्दै देशलाई गम्भिर असर गर्ने विषयमा पनि पार्टीसँग सल्लाह नगर्ने कस्तो तन्त्र हो भनि प्रश्न गरेका छन् । उनले भनेका छन् , ‘देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो ?’
सोमबार भानु जयन्तीको अवसरमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अयोध्या नेपाली भूभागभित्र रहेको र भगवान राम नेपालमै जन्मेको बताएका थिए । जुन अभिव्यक्तिप्रति नेपालभित्र र छिमेकी देश भारतमा निकै आलोचना भएको छ । सत्तारुढ दलका नेताहरुले पनि उनको अभिव्यक्तिप्रति कडा प्रश्न उठाएका छन् ।