ने.क.पा(माले) र अनेरास्ववियु (पाँचौ)को सँगठन निर्माण
जनमत संग्रहको प्रचारप्रसार र चुनाबले गाउँघरमा राम्रो जागरण ल्यायो, मतदान हुने दिनसम्ममा जनमत संग्रह धोका हो भन्ने कम्निस्टले पनि बहुदल एक कदम प्रगतिशील भनेर आए । खासगरि २०३६ मा अनेरास्ववियुको पाँचौ अधिबेशन सम्पन्न भै टंक कार्की अध्यक्ष र सचिव पाल्पा रूप्सेका रामचन्द्र आचार्य ढाक्रे (महासचिव थिएन) निर्बाचित भैसकेपछि हामीकहाँ ने.क.पा(माले) र अनेरास्ववियु पाँचौको सँगठन बिस्तार राम्रोसँग भयो। हामी भन्दा अग्रजमा रूप्सेका स्व. जिबनाथ आचार्य, युबराज खनाल, जयन्ती नेपाल, बद्री आचार्य, भगवती खनाल, स्व. कृष्णचन्द्र आचार्य, केशब नेपाल, चिदीपानीका स्व. केशबराज नेपाल, गोबिन्द आचार्य, नारायण आचार्य, नयन नेपाल हुमिनका शालिकराम खनाल, चिरञ्जीवी खनाल, राम प्र.खनाल, नारायण अधिकारी, रामचन्द्र बस्नेत, शिव कोइराला, बिस्णु सुस्केरा लगायतका अग्रजहरूको सक्रियता अनुशरण गर्न लायक थियो। धारापानी, कुलोपधेरो, साँधसिमाना, मजदुर, किसान, विद्यार्थी भएका अन्याय बिरूद्दका आन्दोलन सफल हुन्थे। हामीले फेँदिलाई केन्द्र बनाएर देशभक्त युवा क्लब मार्फत खेलकुद, भित्ते पत्रिका प्रकाशन, पुस्तकालय सन्चालन, आयआर्जनको लागि चिट्ठा सन्चालन आदि गरियो। भुमिगतरूपमा पाटि, युथलिग, महिला, किसान, बिद्यार्थीका कमिटिहरू गठन भए । भुमिगतरूपमै सभा, सम्मेलन, बैठकहरू सम्पन्न भए र राम्रो नेटवर्क बन्यो ।
नाटक देखाउन लाग्दा पुलिस आयो
२०३८ सालको दशैँको कोजाग्रत पुर्णिमाको दिन रूप्सेको गैराबारी स्कुलको कम्पाउण्डमा राकेश पँगेनीद्द्वारा लिखित आमा नाटक देखाउने तयारी रामचन्द्र आचार्य (आरसी) ढाक्रेको नेतृत्व र समन्वयमा एक महिना अगाडि देखिनै तालिम सुरू भयो । आमाको भुमिकामा दिदी जानकी नेपाल हुनुहुन्थ्यो । म पनि एक पात्रको रूपमा तालिम लिइरहेको थिएँ । सबै तयारी पूरा भयो । दर्शक पनि हजारौंको संख्यामा उपस्थिती थियो। हामी सिँगारपटार गर्दै, आअफ्नो भुमिका रिहल्सल(प्राक्टिस) गरिरहेका थियौ। दिउसै हामी भित्रकै मानिस सुराकी गर्न तानसेन गयर सि.डि.ओलाई उजुरी गरेका रहेछन। कार्यक्रम सुरू हुनै लाग्दा हामी रहेको स्कुलको कोठामा रामचन्द्र सर आउनुभइ पुलिस आएको जानकारी गराउनुभयो । पुलिसलाई कार्यक्रम रोक्न र कलाकार र नेतृत्वलाई गिरफ्तार गर्न निर्देशन रहेकाले सबै कलाकार र नेतृत्वका साथीहरू, सरहरूलाई पछाडिको गोप्य बाटोबाट सुरक्षित तरिकाबाट जिबनाथ आचार्यको घर जान निर्देशन दिनुभयो । पुलिससँग समन्वय गरि (वकिलको भेष गरि)जनसमुदायलाई सम्बोधन गर्नुभयो। प्रशासनको अनुरोधलाई स्विकार्दै आजलाई स्थगित गरिएको पछि स्विकृति लिएर देखाइने, नाटक नहेरी फर्किनु परेकोमा क्षमा माग्दै सम्बोधन टुंगियो। आफु पनि पुलिसलाई छल्दै सुरक्षित हुनुभयो। हामी जिबनाथ आचार्य सरको घर मिटिङ बसि राति नै घर गयौं। पछि स्वीकृति लिएर गंगालालको चिता सोहिठाउँमा देखाइयो, त्यसमा पनि म एक पात्र थिएँ।
बिकासले बिनास
सिद्दार्थ राजमार्ग २०२६ मा आर्यभन्ज्याङ पुगेपछि पाल्पाको पुर्बीभेगका र हामी तिरका पंचायतहरूले श्रमदानबाट रामपुर जाने बाटो खन्न थाले। बा त्येतिबेला वडा अध्यक्ष हुनुहुन्थ्यो। हुमिन गा.बि.स. हुदाको ४ र ५ वडा त्यतिबेला ५ नं वडा थियो। बा ले सबै जनसमुदायलाई अनिवार्य गराउनु भै बाटो खनाउनु भएको थियो। जँगल पनि मासिएको थियो । २०२७ को असारमै हाम्रो खेत रोपि सकिएको थियो। श्रावणमा ठूलो पानी पर्यो र बाढी आयो। बाटो खनेको पुरूवा माटो सबै खोलामा झर्यो र रोपेको खेतमा ठुङगा, माटो सहितको बाढीले पुरीदियो। बा वडा अध्यक्ष भएको कारणले सबै जनसमुदाय सघाउ आएर खेत गरा बनाइदिनुभयो, श्रावणमा बीउ राखेर भदौमा रोपियो।
घरमा जोतिसको आगमन
२०२८ शालको तिहारपछि हाम्रो घर एकजना जोतिस पाउना आउनुभयो, झण्डै ३ र ४ महिनानै बस्नुभयो, तोरे जोतिस भन्थे। उहाँलाई भेट्नेको भिड नै लाग्थ्यो। मानिस आएपछि पालो पर्खेर बस्थे। पालो आएपछि दुबैहात उहाँलाई देखाउँथे। हात समातेर श्लोक भट्याउनुहुन्थ्यो। मैले उहाँले भनेको सुनेर कण्ठै पारेको थिएँ, अझै पनि कण्ठै छ, जुन ‘प्रजा पनि बाक्यको बोल्दै बोल्दै जाँदा खेरि सुनै सिँगार रूपै बिगार श्रीबिष्णु लक्ष्मिले दैलि उघार’ भनेपछि अन्य आसिष दिन थाल्नु हुन्थ्यो। जस्तैः धेरै धन कमाँउछस, बिहे हुन्छ आदि,आदि । मेरो बाल दिमागमा पनि उक्त श्लोक भन्दै हात हेरिदिदै, आशिक दिदै गर्थेँ। धेरै जसो पुर्याउनु भयो भन्थे। पछि रूप्सेतिर जानुभयो भनेको सुने। रूप्सेमा हात हेरेर भनेको कुरालाई लिएर कुटेरे भनेको पनि सुने।रूप्सेबाट फेरि हाम्रो घर आउनु भयो। पहिला जस्तो तेजिलो हुनुहुन्नथ्यो। पछि म ठूलो भएर तानसेनमा आउँदा टुडिखेल नजिकै डेरा लिएर बसेको भेटेँ तर चिनेको जस्तो गर्नुभएन। मजाक खुबै गर्नुहुदोरहेछ।
वि.सं.२०७७ साउन ५ सोमवार १३:३१ मा प्रकाशित






























