काठमाडौं । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव राखेसँगै पार्टीभित्र निकै ठूलो तरंग देखा पर्यो । ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमती जनाएसँगै विषय अझ गम्भीर बन्न पुग्यो । दाहालको सहमतीप्रति अन्य नेताहरु निकै सशंकित पनि देखिए ।
ओलीलाई दुवै पदबाट राजीनामा गराउनुपर्छ भन्दै लागेका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरु दाहालको सहमतीसँगै निकै अलमलमा पनि परे । दाहाल समुहसँग पटक–पटक छुट्टै भेला र बैठकसमेत बस्दै आएका नेपाल, खनाल र गौतम समुहमा दाहालको फेरिएको शैलीले निकै ठूलो आशंका पनि देखायो ।
तर, लगत्तै दाहालको स्पष्टीकरणसँगै नेताहरु ‘कन्भिन्स’ पनि देखिए । दाहालले पूर्वमाओवादी समुहका नेताहरुलाई पनि पछिल्लो रणनीतिबारे प्रष्टाएको देखिएको छ ।
दाहालले महाधिवेशनबारे कन्भिन्स गराएसँगै नेकपाभित्र भने फरक राजनीतिको सुरुवात भएको छ । नेताहरु महाधिवेशनको तयारीबारे अभिव्यक्ति दिन थालेका छन् । शनिबारदेखि यता समुह–समुहका फरक–फरक भेलाहरु समेत भएका छन् । यसबीच पूर्वमाओवादी समुहको भेला र नेपाल–खनाल समुहको भेलाले नेकपाभित्र फरक राजनीतिक कोर्षको सुरुवात गरिदिएको छ ।
नेकपाभित्रको नयाँ राजनीतिक सरगर्मीले आफँविरोधी समुहलाई किनारा लाउन र सत्ता संकट टार्न मंसिर मै महाधिवेशन गर्ने ‘टोकन’ फालेका ओली भने झनै एक्लिदैं गएका छन् । ओलीको रणनीतिका बीच विपक्षी समुह झनै एकाकार बन्दै गएको छ ।
खुमलटार भेला, ओलीविरुद्व एकजुट हुने निर्णय
मंगलबारको स्थायी समिति बैठक अगाडि दाहाल निवास खुमलटारमा दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको छलफल भएको थियो । मंगलबार बिहानै भएको छलफलमा सबै नेताहरु ओलीको पछिल्लो रणनीतिविरुद्व एकमत भएका थिए ।
छलफलसँगै केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार नै आगामी चैत्रमा महाधिवेशन गर्नुपर्ने कुरामा नेताहरु एकमत देखिए । छलफलमा नेताहरुले महाधिवेशनका लागि विचार र नेतृत्वबारे टुंगो लगाउनु पर्ने पनि निर्णय गरेका थिए ।
छलफलपश्चात पार्टी प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले ट्विटरबाट नै ओलीको प्रस्तावप्रति सिधा विमति जनाउँदै मंसिरमै महाधिवेशन गर्ने कुरा सम्भव नहुने प्रष्ट्याएका थिए । उनले यसअघि केन्द्रीय कमिटीले गरेको निर्णयबाट बाहिर जान नमिल्ने पनि स्पष्ट पारेका थिए ।
नेपाल समुहको भेला र निष्कर्ष
यता वरिष्ठ नेता माधव कुमार नेपालको समुहले पनि पछिल्लो विकसित घटनाक्रमका आधारमा अध्यक्ष दाहाललाई साथ दिने निष्कर्ष निकालेको छ । नेपाल समुहको मंगलबार भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो । भेलाले आगामी महाधिवेशनसम्मै दाहाललाई साथ दिनुपर्ने निचोड पनि निकालेको छ ।
भेलामा धेरै नेताहरुले ओलीको भर पर्न नहुने बताएका थिए । दाहाल समुहसँग वैचारिक छलफल गर्दै महाधिवेशनको तयारीमा जुट्नुपर्ने धेरै नेताहरुको धारणा छ । विचार र नेतृत्वमा स्पष्टता हुँदै अगाडि बढ्नुपर्ने भेलाको निष्कर्ष छ ।
मंसिरमा होइन चैत्रमा महाधिवेशन, ओली एक्लो पर्ने
ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेसँगै नेकपाभित्र महाधिवेशनबारे गम्भिरतापूर्वक नै बहस हुन थालेको छ । नेकपाभित्रको बहुमत समुह महाधिवेशन गर्नुपर्ने तर मंसिरमै नगर्ने लाईनमा प्रष्ट भएका छन् । ओली इतरका नेताहरु केन्द्रीय समितिले निर्णय गरेको मितिमा नै महाधिवेशन गर्नुपर्नेमा एकमत छन् । जसले मंसिरमा नभई आगामी चैत्रमा महाधिवेशन गर्न सम्भव हुने देखाएको छ ।
मितिका विषयमा एकमत भएका नेताहरु विचार र नेतृत्वको विषयमा पनि छलफलमा छन् । नेकपाभित्रको बहुमत समुह विचार र नेतृत्वको विषयमा बेग्लै छलफलमा लागेसँगै ओली भने फेरि एक्लीने भएका छन् । मंसिरमै महाधिवेशन गर्ने टोकनले सत्ता संकट तत्काल टारेपनि पार्टीभित्र भने दिर्घकालिन रुपमा ओली एक्लो पर्ने देखिएको छ ।
वि.सं.२०७७ साउन ७ बुधवार १५:१२ मा प्रकाशित
























