७ साउन, काठमाडौं । कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका निमित्त कर्मचारी सञ्चय कोष र एन आई सी एशिया बैंकबीच समझदारी भएको छ ।
समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कोषको तर्फबाट मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेको बैंकद्वारा जारी बिज्ञप्तिमा जनाईएको छ ।
बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिईरहेका ऋणीहरूलाई सुविधाको निमित्त उनीहरूले उपभोग गरेको कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको जनाएको छ ।
डिजिटल बैंकिङ्ग सेवामा अग्रणी स्थानमा रहिआएको यस बैंकले डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुरुप नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी जस्तो नवीनतम सुविधा ल्याएको छ । यस व्यवस्था अन्तर्गत अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गर्नुभएको कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ्ग हाउसको पोर्टल https://login.connectips.com मा लग इन गरेपश्चात गभरमेन्ट पे मेन्टमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नगद रकम तथा चेक बोकी बैंकको शाखामा गई कर्मचारी सञ्चय कोषको कर्जाको साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्नुपर्ने वर्तमान अवस्थालाई यस नयाँ व्यवस्था अनुसार बैंक नै नगई घर तथा अफिसबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सक्नेछन् ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरुमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले आफ्ना सेवाहरू डिजिटल माध्यममा लैजाने क्रमलाई निरन्तरता दिँदै आएको छ । यस बैंकका डिजिटल सर्भिसहरू जस्तै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्गका प्रयोगकर्ताहरू २२ लाख रहेको अवस्थामा बैंकले विद्युतीय भुक्तानी तथा डिजिटल सेवाहरूलाई अझ परिस्कृत बनाउदै लैजाने उद्देश्य अनुरुप विद्युतीय भुक्तानी तथा सेवागत क्षेत्रहरूमा समेत डिजिटल प्रणालीको विकास गरिरहेको छ ।
बैंकले देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक घर वा अफिसबाट सेवाग्राहीले आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्न भौचर भर्ने अनलाईन प्रणालीको शुभारम्भ गरिसकेको छ भने नगद जम्मा गर्ने भौचर भर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत अनलाईन प्रणाली आइ सर्भ मार्फत सेवा दिईरहेको छ । साथै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्नका निमित्त बैंकले मोबाइल बैंकिङ्ग वा बैंकको ग्राहकहरूले कार्डहरूमार्फत भुक्तानी गर्दा देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम ग्राहकहरुको आवश्यकतालाई पहिचान गरी यस बैंकले ग्राहकहरुमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजनाहरू ल्याएको छ । सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाअन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउने व्यवस्था गरेको छ । यी कर्जाहरु बारे आवेदन बैंकको बेवसाइट https://www.nicasiabank.com मार्फत अनलाइन दिन सकिने समेत बैंकले व्यवस्था गरेको जनाएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङ्ग प्रणालीको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको पनि बैंक द्वारा जारी गरिएको बिज्ञप्तिमा जनाईएको छ ।
वि.सं.२०७७ साउन ७ बुधवार १४:११ मा प्रकाशित


























