back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ साउन १० शनिवार

1.3K 

shares


मुक्तक-१
जति दिनुछ हण्डरहरू, सहन्छु अझ दे जिन्दगी
मुक्ति संघर्ष चल्दैन भने, जिन्दगी पनि के जिन्दगी
नमूना छुट्टै हुनुपर्छ, हृदय सबको छुनुपर्छ
दुःखैमा हाँसी दुःख काट्न, दुःखैमा फुल्छ रे जिन्दगी ।
मुक्तक २
कतै सलह फौजी कीरा, जता नि अनिकाल छ
जनजीवन अस्तव्यस्त, राहतमा आलटाल छ
आत्मीयताले बाँधी राखूँ, धैर्यता अरू साँधी राखूँ
बाढीपहिरो महामारी, सारा जीवन बेहाल छ ।
मुक्तक-३
स्विजरल्याण्ड बनाउने, शब्दका बुट्टा हान्छन् आफै
अरूले प्रयास गरे भने, जे पनि झुट्टा मान्छन् आफै
कतिको पालो चुक्नसक्छ, विरोधी बाटो ढुक्नसक्छ
अडान राखूँ राष्ट्रियतामा, कुर्सीको खुट्टा तान्छन् आफै ।

मुक्तक-४
वाञ्छित फल नमिल्नेमा, कम्मर कस्नै छाडेँ अचेल
जस्तो मोहनी जाल फ्याँक, चुप्चाप फस्नै छाडेँ अचेल
तिम्रा घुर्क्याइँ बिन्छु सबै, तिम्रा धुर्त्याइँ चिन्छु सबै
निर्धक्क भन्छु तिम्रो बाटो, कुरेर बस्नै छाडेँ अचेल ।

मुक्तक-५
नपटिउञ्जेल पाउ पर्छन्, स्वभाव उस्तै नरम हुन्छन्
अधुरा कुरा पूरा गर्न, प्रयास चाहीं चरम हुन्छन्
मिल्ने नमिल्ने काम हुन्छ, नभए निदै हराम हुन्छ
असारभरी भ्याइ न भ्याइ, कतिका खल्ति गरम हुन्छन् ।

वि.सं.२०७७ साउन १० शनिवार ०९:२३ मा प्रकाशित

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...