हाम्रो जस्तो देशमा बाख्रापालना व्यवसायलाई आर्थिक समृद्धिको एक महत्वपूर्णं पाटो बनाउन सकिन्छ । दुर्गम र ग्रामीण क्षेत्रले भरिएको हाम्रो देशमा विपन्नहरुलाई स्वरोजगार बनाउन र आर्थिक उपार्जनमा जोड्न बाख्रापालन व्यवसायलाई अगाडि बढाउन सकिन्छ । त्यसकारण बाख्रापालन व्यवसायलाई आर्थिक उपार्जनसँग जोड्न राज्यले विशेष व्यवस्थित कार्यक्रम ल्याउनुपर्छ ।
नेपालमा बाख्रापालन परम्परागत रुपमा आफ्नो जीवन निर्वाहमुखी रुपमा गरि आएको भए पनि हालका केहि बर्षदेखि व्यवसायिक रुपमा सुरु भएको पाइन्छ । हाल युवाहरुको समेत यसप्रति आकर्षण बढेको पाइन्छ । नेपालमा हिमाल, पहाड र तराई सबै क्षेत्रमा बाख्रापालन हुने हुनाले पनि बाख्रापालनप्रति धरै जनाले रुची देखाएको पाइन्छ । मासुको माग अनुरुप उत्पादन नहुँदा बिक्रि वितरण सहज हुने र सजिलोसँग आम्दानी हुने व्यवसाय हो, बाख्रापालन ।
बाख्रापालनको महत्व
बाख्रापालन हाम्रो जस्तो देशको आर्थिक सम्बृद्धिको लागि एक महत्वपूर्ण व्यवसाय हो । ग्रामीण क्षेत्रका विपन्नहरुको आम्दानीको मूलस्रोत नै बाख्रापालन हो । बाख्रापालनलाई बैंक खाता पनि भनिन्छ । पाठापाठीलाई बैंकको ब्याजभन्दा पनि हुन्छ । धार्मिक हिसाबले मन्दिरमा बलि दिनसमेत बाख्राको प्रयोग गरिन्छ । पहिले पहिले आफ्ना छोरी चेलीलाई पेवाको रुपमा बाख्रा दिने प्रचलनसमेत थियो । छिटो बढ्ने बच्चाहरुले समेत हेर्न सक्ने यो व्यवसाय, घर खर्चको लागिसमेत सजिलोसँग पाल्न सकिन्छ । गरिबको धाईआमासमेत भन्ने प्रचलन रहेको छ ।
बाख्राले अरु पशुहरुलेसमेत नखाने झारपात खाएर मासु उत्पादन गर्ने हुँदा यसलाई मासु उत्पादन गर्ने मेसिनसमेत भनिन्छ । सामान्य रुपमा हाम्रो देश धरै जमिन सुख्खा अनि अधिकांस जनसंख्या गरिब रहेको हुनाले खेरा गएका जमिनको समूचित उपयोगको लागि बाख्राले एक महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । देश अनि समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायबाट कसरी फाइदा लिने र बाख्रापालन व्यवसायबाट सफल हुनका लागि निम्न अनुसारका मुख्य प्रविधिहरु आत्मसाथ गर्न जरुरी छ । यी तलका प्रविधिहरु ख्यालमा राखियो भने सफल रुपमा बाख्रापालन गरि मनग्गे आम्दानी गर्न सकिन्छ ।
बाख्रा पालना गर्दा अति ध्यान दिनुपर्ने कुराहरु
बथान सानो हुनु पर्दछ । आफूले पाल्ने बाख्राको बथान कति बनाउने सो निक्र्याैल गर्नुपर्दछ । बथान कत्रो राख्ने भन्ने कुरा आफ्नो आर्थिक क्षमतामा भर पर्दछ । त्यस्तै गरि घाँस तथा चरन क्षेत्रको उपलब्धता, खोर, घाँस, कामदार तथा ज्यामीको व्यवस्था, साथै बजार व्यवस्था कस्तो छ र आफ्नो क्षमता अनुसार बथान कति राख्ने कुराको एकिन गर्नुपर्छ । सामान्यतया नयाँ फर्म खोल्दा ३० माउभन्दा बढी राख्नु त्यति सफल मानिदैन सुरुमा थोरैबाट सुरु गर्नुपर्छ ।
ठाउँअनुसार उपयुक्त खोर तथा टाट्नोको व्यवस्थापन गर्नुपर्दछ । गोठ बनाउँदा अलि ओभानो अली उठेको ठाउँ छान्नुपर्छ । क) बाख्राको लागि प्रर्याप्त ठाउँ (१ देखि २.५ वर्ग मिटर) जात हेरी दिनु पर्दछ । खोर बनाउँदा घाम लाग्ने गरी ठाउँको छनोट गर्नुपर्छ । गोठमा ठाउँ हेरी तराई र पहाडमा ९० से.मी जमिनभन्दा माथी टाट्नो बनाउनु पर्दछ र ओभानो राख्नुपर्छ । घाँस खाने टाटनो ठाँउअनुसार बनाउनु पर्छ । बोका माउ, पाठा पाठी र बिरामी बाख्रालाई अलग राख्नुपर्दछ ।
उत्पादन क्षमताको जानकारी लिँदै काम गर्नुपर्दछ । बाख्रापालनमा अति महत्वपूर्ण भूमिका छनोटको रहने हुँदा उत्पादनको आधारमा बाख्राको छनोट गरी बाख्राको दूध तथा मासु उत्पादन क्षमता थाहा पाउन रेकर्ड राख्नुपर्दछ । प्रत्येक बाख्राको उत्पादन क्षमताको मुल्यांकन गर्नुपर्दछ । जस्तै २ बर्षमा ३ पटक ब्याउने, एक पटकमा २ पाठा पाठी जन्माउने बच्चालाई राम्रो हुर्काउने आदि कुरालाई ध्यान दिएर कुनको सन्तान बढाउने कुनको सन्तान हटाउने भन्ने कुरा निर्णय पर्दछ ।

बाख्रा अरु पशु जस्तै भए पनि बाख्रा अरु भन्दा फरक गुण भएको प्राणि हो । यो बाख्राले अति सफा अनि पोसिलो घाँसहरु खान मान पराउँछ । जस्तो कि घाँसको टुप्पो मात्र खान खोज्ने एउटा मात्र घाँस नखाएर विभिन्न प्रजातिको घाँस खान मन पराउने हुनाले आफ्नै खेतवारीमा विभिन्न पोषिलो उन्नत बुट्यान घाँस लगाउनुपर्दछ । बाख्रापालनमा मुख्य समस्या नै आहारा हो । नेपालको बाख्रापालन आहाराको अभावमा हाल धरै बाख्रा फर्महरु धरासायी भएको उदाहरण छन् । त्यसकारणले पाहिले घाँसखेति गर्ने, घाँसखेति गर्दा बाख्राले ३० प्रतिशत कोसे घाँस खान पाउने गरि गर्नुपर्दछ ।
आहारामा सुधार ल्याउनु पर्दछ । बाख्राको शारीरिक अवस्था (थारो, व्याउने, लैनो, पाठापाठी र बोका आदि) हेरी घाँस तथा सन्तुलीत दाना (स्थानीय सामाग्रीबाट वनेको सस्तो) दिनुपर्दछ । कोषे र अन्न बालिका उपपदार्थहरु (मकै, गहुँ, धान, आदिको चोकर) प्रयोग गर्ने गरि सस्तो दाना तयार गर्नुपर्दछ । बथानलाई सस्तो पानी पिउन दिनुपर्दछ । समय समयमा युरिया मोलासेस मिनरल ब्लक चाटन दिनुपर्दछ ।
घाँसखेति गर्दा मुख्य रुपमा सुपर नेपियर, बर्सिम, जे, किम्बू, कोल्भर, लुसन, मेंदोला, भट्मासे, सुम्बासेतेरिया, स्टाइलो, किम्बू, राई खानियो, बकाइनो, इपिल इपिल, बदामे घाँस जस्ता उत्पादन लागत घटाउन भूमिका खेल्ने घाँस लगायत आफैले उत्पादन गरी सिजनमा बढी भएको घाँसबाट ‘हे’, ‘साइलेज’ (बाख्राले साइलेज भन्दा हे मन पराउँछ) बनाएर राख्नु पर्दछ । जसले घाँसको अभाव हुने बेलामा पोषिलो घाँस अभाव पुरा हुने, महँगो दानाको खपत कम भै लागत घट्ने हुँदा बाख्रापालन व्यवसायबाट फाइदा लिन सकिन्छ भन्ने सम्झेर काम गर्नुपर्दछ । वर्षभरि हरियो घाँस उत्पादन हुने गरि ठाउँ सुहाउँदो घाँस तथा डाले तथा लगाउनुपर्छ । साथै घाँस तथा डाले घाँस काटने उपयुक्त समय पत्ता लगाइ सोही बमोजिम घाँस काटनु पर्छ । चरिचरनलाई नियन्त्रित गरि संरक्षण गर्नुपर्दछ ।
पशु स्वास्थ्यमा ख्याल पुर्याउनु पर्दछ । आन्तरिक तथा बाहृय परजीवी नियन्त्रण वर्षको कम्तिमा तीन पटक साथै सरुवा रोग जस्तै पि.पी.आर, इन्टेरोसेमिया, खोरेतजस्ता सरुवा रोग विरुद्ध खोप आवश्यता अनुसार गर्नुपर्दछ । साधारण औषधिहरु जस्तै पेट फुलेको ज्वरो आएको जुम्रा उपिया आदि मार्ने विषादी, टिम्पोल, नेवलोन, हिम्याक्स, टेरामाइसिन, निल्जान, सल्फा बोलस आदि आफैसँग राख्नुपर्छ । रोग पहिचान गरी उपचार गरेमा मात्र फाइदा हुने हुनाले स्थानीय पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकसँग आवश्यक सरसल्लाह लिइनुपर्छ । र वास्तवमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हुन्छ भन्ने सम्झँदै सोहि अनुरुप कार्य गर्नुपर्दछ । खोर या फर्ममा जैविक सुरक्षामा ध्यान दिनुपर्छ । ‘पाहुना आफ्ना हुन्, पाहुनासँग आएको रोग आफ्नो होइन’ भन्ने उखान बिर्सनु हुँदैन।
बाख्रामा सहि प्रजनन पद्दति उपयोग गर्नुपर्दछ । राम्रो उत्पादन गुण भएका बाख्रा छान्ने अर्थात् १२ महिनाको उमेरमा बढि तौल भएको बाखालाई राम्रो बाख्रा मान्ने तथा नराम्रो गुण भएका बाख्रालाई छाँटने नीति तय गरि छनोट गर्नुपर्छ । छनोट गर्दा आर्थिक दृष्टिकोणले महत्वपूर्ण गुणहरु जस्तै दूधको लागि पालिएका बाख्राको लागि कल्चौँडो र दूध दिन सक्ने क्षमता भएको, मासुको लागि छान्दा मोटो गर्धन भएको १२ देखि १५ महिनाको उमेरमा राम्रोसँग सप्रेकोलाई आधार मानेर छनौट गर्नुपर्दछ । वंशजबाट सर्दै आएका दुर्गुण भएका बाख्रालाई छनौट गर्न भुल्नु हुँदैन । यो कार्यका लागि फर्मको अभिलेख राख्नु पर्छ जसको कारणले फर्मको अबस्था अनि वस्तुस्थिति थाहा पाउन सकिन्छ ।
‘बिउ राम्रो त वाली राम्रो’ भन्ने उखान बिर्सनु हुँदैन । प्रजननका लागि बोका छान्दा राम्रो उत्पादन क्षमता भएको बढि दूध दिने छिटो बढ्ने गुण माउबाट जन्मिएको जातीय सुद्धता भएको छान्नुपर्छ । बोयर मात्र राम्रो हुन्छ भन्ने कुरा बिर्सनु जरुरी छ किनकी निरोगी र प्रजनन क्षमता भएको स्थानीय खरी जातबाट पनि राम्रो बाख्रापानी लिन सकिन्छ । राम्रो उत्पादन लिन वयस्क बोका मात्र प्रजनन कार्यमा प्रयोग गर्नुपर्छ । हाडनाता प्रजननलाई निषेध गर्नुपर्छ ।
स्वस्थ र आर्थिक लाभ हुने पाठापाठी पालन विधिको सधै अभ्यास गर्नुपर्छ । पाठापाठी हुर्काउँदा शुरु देखि अन्तसम्म सरसफाइको व्यवस्था गर्न बिर्सनु हुँदैन । पाठापाठी अनुसार दानाको व्यवस्था गर्नु र दूध छुटाइ आहारामा खास ध्यान दिनु पर्दछ। घरमापाल्न राखिने पाठापाठी असल गुण भएका छानेर राख्नुपर्छ । बथानमा राख्न छुटाएर राखिएका पाठापाठीलाई पोषिलो दाना घाँस व्यवस्था गरी ब्रोइलर पाले झैँ पाली मासुकोलागि बिक्री गर्नुपर्दछ ।
बिमा गरेर पशुपालन गर्नुपर्दछ । हाल नेपाल सरकारले पशु तथा कृषि बिमामा ७५ प्रतिशत अनुदान दिएको हुनाले सोका लागि आफ्नो फर्मको सम्पूर्ण बाख्रा अनि बोकालगायत कामदारको समेत बिमा गर्नुपर्छ । यी कुराको आत्मसाथ गरेर बाख्रापालन व्यवसाय सुरु गर्दा बाख्रापालनले सोचेको अनुपातमा नाफा दिनेछ । बाख्रापालन व्यवसाय सुरु गर्दा आफ्नो नजिकको स्थानीय निकायसँग सहकार्य गरेर काम गर्दा त्यहाँबाट प्राप्त हुने सेवा सुबिधाहरु समेतमा सहजीकरण हुन्छ । मुल कुरा लहैलहैमा व्यवसाय सुरु गर्नु भन्दा केहि कुरा बुझेर जानकारी लिएर मात्र सुरु गर्दा असफल हुने सम्भावना कम हुन्छ ।
(लेखक अर्याल युवाहरुको लागि नमुना बाख्रा गाउँ अभियानका अभियन्ता हुन्)
वि.सं.२०७७ भदौ ३ बुधवार १३:२८ मा प्रकाशित
























