काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) नामको दल दर्ता भएको छ । बुधबार निर्वाचन आयोगले सबै प्रक्रिया विधिसम्मत भएको भन्दै दल दर्ता गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएअनुसार दल दर्ताको लागि बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणीत गर्ने काम भईसकेको छ । दल दर्ता आज नै गर्ने आयोगले निर्णय गरेको श्रेष्ठले बताए ।
उनका अनुसार दल दर्ता भएपछि आयोगले पार्टीलाई प्रमाण पत्र दिनेछ। साथै, सर्वसाधारणको जानकारीका लागि राजपत्रका प्रकाशित पनि गर्ने छ।
नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाभित्र) विवाद चर्किरहेको बेला अचानक गत असार १२ मा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन परेको थियो । दल दर्ताको लागि निवेदन परेसँगै नेकपाभित्र विवाद झनै चुलिन पुगेको थियो । नेकपाभित्र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको निर्देशनमा दल दर्ता गरिएको बताइने गरिन्छ ।
वि.सं.२०७७ भदौ ३ बुधवार १५:२७ मा प्रकाशित






























