६ सेप्टेम्बर । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमले बाग्लुङको ढोरपाटनमा हालै गएको बाढीपहिरोबाट पीडितहरुका लागि सहयोग जुटाउन अनुरोध गरेको छ ।
पीडित ढोरपाटनवासीलाई सहयोग जुटाउने उद्देश्यले बाग्लुङ समाज बेल्जियमले सुरु गरेको राहत कोषमा सहयोग गरी पिडीतलाई मलम लगाउने महान कार्यमा हातेमालो गर्न संघले सबैसँग अनुरोध गरेको छ ।
बेल्जियममा रहेका सबै नेपाली संघसंस्थाहरुसँग सहकार्य गरी देशमा आइपर्ने यस्ता विपत्तिमा सहयोग गर्न संघ सँधै तत्पर अध्यक्ष चित्र सुवेदीले जनाएका छन् ।
यस्तो छ, गैरआवासीय नेपाली संघ बेल्जियमको अनुरोध :
हरेक बर्षको बर्षायामसँगै नेपालमा बाढीपहिरोका कारण ज्यान गुमाउने र घरबारविहिन हुने मानिसहरुको संख्या बढ्दै गईरहेको देखिन्छ। नेपालका प्रायजसो जिल्लाहरु यसबाट प्रभावित भएको देखिन्छ। बिशेषगरी बिदेशस्थित संघसंस्थाहरुले आ– आफ्नो गृह जिल्लाका पिडितहरुको राहतका लागी रकम संकलन गरेर पठाई आफ्नो दायीत्व र कर्तब्य पुरा गरेको देखिदै आएको छ। वास्तवमा यस्ता अभियानहरु मानवीय हिसाबमा पनि साह्रै उत्कृष्ठ छन्।
बेल्जियममा पनि बैचारिक, सामाजिक, जातिय र क्षेत्रीय संस्था गरी करीब करीब ५० हाराहारीका सक्रिय संघसंस्थाहरु क्रियाशील छन् र सबैले मातृभूमिको लागी केहि न केही योगदानहरु गरिरहेका पनि छन्। अझ यस्ता किसिमका प्राकृतिक प्रकोपहरुका बेला मानवीय हिसावले पनि सक्रिय रहनु मुनासिब नै हो। सम्पूर्ण संस्थाहरुको प्रतिनिधी संस्था भएको नाताले एनआरएनए बेल्जियमसंग सबैको आशा र भरोसा रहनु पनि स्वभाबिक पनि हो र हुनुपर्छ पनि। त्यसका लागी NRNA Belgium आर्थिक हिसाबले मजबुत हुन पनि आबश्यक हुन्छ।
अब प्रश्न उठ्छ – संस्थालाई आर्थिक रुपमा मजबुत कसरी बनाउने ? यसै सिलसिलामा एनआरएनए बेल्जियमले यहॉंको Mutualiteit ( Health Insurgence) कम्पनीहरुसंग मिलेर काम गर्ने र त्यसबापत आउने commission सम्बन्धित परिवार र एनआरएनए बेल्जियमलाई आधा आधा हुनेगरी बितरण गर्ने गरी तयारी गरेको छ। यस कार्यको लागी बेल्जियमबासी नेपाली जनसमुदाय लगायत सम्पुर्ण अभियन्ताज्यूहरुमा संस्थाको तर्फबाट हार्दिक अनुरोध र आह्वान गर्न चाहान्छौं। यसबाट संस्था आर्थिक रुपले मजबुत भई यस्ता प्राकृतिक प्रकोपका बेला Instant Help गर्नसक्ने अवस्थामा पुग्नेछ। यो तब मात्र सफल हुनेछ, जहॉं तपाईंहरु सबैको हातेमालो हुनेछ। यस बिषयमा पुर्ण रुपमा छलफलको लागी तपाईंहरु माझ हामी आउनेछौं।
बाग्लुगं जिल्लाको ढोरपाटन क्षेत्रमा आएको बाढीपहिरोबाट ज्यान गुमाएका मृतकहरु प्रति हार्दिक श्रद्धांजलि ब्यक्त गर्दै बाग्लुगं समाज बेल्जियमको राहत कोष मार्फत सहयोग गरी पिडीतलाई मलम लगाउने महान कार्यमा हातेमालो गर्नुहुन अनुरोध गर्दछौं।
ग़ैर आवासीय नेपाली संघ बेल्जियम
वि.सं.२०७७ भदौ २१ आइतवार १२:२४ मा प्रकाशित



























