म कक्षा १० मा पढ्दा अंग्रेजी विषयमा यदि तिमी प्रधानपन्च भयौ भने तिम्रो गाउँमा के के विकास गर्ने थियौ ? भन्ने रचना पढेको कुरा र प्रेम सरलाई सम्झिरहेको छु । यो रचना एसएलसी परीक्षामा आउँछ भनेर सरले हामीलाई घोक्न लगाउनु हुन्थ्यो र हामी घोकिरहन्थियौ । अहिले त्यो रचनाको सम्झना आइरहेको छ । त्यो बेला धेरै कुरा नबुझी सरले लेखिदिनुभाको रचना घोकेर लेखें । तर अहिले म बुझ्ने भएको छु ।
त्यस्तै अहिले कृषि मन्त्री भाको भए भन्ने बारे रचना लेख्नु परेको भए देश र जनताको यो निरिहता, बिजोग देख्नु पर्दा निम्नलिखित काम गर्थे जस्तो लाग्छ ।
नेपाल अशिक्षामा बाँचेका, गरिब, सोझा सिधा, किसान मजदुरले अपहेलित हुने, हेपाई खाने ठाउँ हो यो । केही काम गर्न खोज्यो भने राज्यबाट सरल र सहजता बनाइदिएको, सहयोग र सहजीकरण गरेको अनुभव छैन । वडा, पालिका, विद्युत, पशुसेवा कार्यालय, कृषि सेवा कार्यालय आदिमा केहि काम लिएर गयो भने एकपटकमा हुने कामलाई १० औँ पटक बोलाउने । १–२ दिनमा सकिने कामलाई महिनौ दिन झुलाउने । ५०० रु.ले हुने काममा हजार माग्ने । यो ल्याउ, त्यो ल्याउ, उ चाहियो भनेर अल्झन मात्र दिने । outlooks हेरेर बोली व्यबहार गर्ने कर्मचारीको व्यवहार र चरीत्रले गर्दा पनि युवाहरू दिक्क भएर आफ्नो देशमा भविश्य छैन भन्ने लागेर निराश भएर बिदेशीएका हुन् । यो कुराको हेक्का कस्ले राख्ला ?
हाम्रो देश कृषिप्रधान देश । देशको अर्थतन्त्रको मेरुदण्ड कृषि हो । ६२/६३ प्रतिशत मान्छे कृषि पेशामा आधारित हुनुहुन्छ । उभर्रा भूमिको पर्याप्तता । सबैप्रकारका हावापानी, मौसम उपलब्धता । तर पनि खाद्यान्न चामल देखि खुर्सानी, केरा देखि अम्बा र भैंसी देखि खसी बोकासम्मको परनिर्भरता भएको हाम्रो देश । खेतबारी बाँझो छाडेर ८० लाख युवाहरू खाडीमा, भारत र मलेसियामा श्रम बेच्न बाध्य भएको देश । तीनिहरु खाडी, मलेसिया र भारत गएर PR, ILR, GREEN CARD लियौंला । उतै घर गाडी किनौला र व्यवस्थित हौला भन्ने सोचेर अवस्य गएका हैनन् । आफ्नो परिवार लाई एकछाक खान, छोराछोरीलाई सामान्य स्कुल पढाउने एउटा सानो ओत लाग्ने घरको जोहो गर्ने उपाय वा अवसर आफ्नो देशमा नदेखेर भौतारिदै बाध्य भएर आफ्नो मुटु भन्दा पनि प्यारो परिवार छोडेर ४५–५० डिग्रीको घाममा काम गरि आधारभूत आवस्यकता पूरा गर्ने उद्देश्य लिएर २०/२५ हजार कमाउन गएका हुन् । किनकि नेपाल अशिक्षामा बाँचेका, गरिब, सोझा सिधा, किसान मजदुरले अपहेलित हुने, हेपाई खाने ठाउँ हो यो । केही काम गर्न खोज्यो भने राज्यबाट सरल र सहजता बनाइदिएको, सहयोग र सहजीकरण गरेको अनुभव छैन । वडा, पालिका, विद्युत, पशुसेवा कार्यालय, कृषि सेवा कार्यालय आदिमा केहि काम लिएर गयो भने एकपटकमा हुने कामलाई १० औँ पटक बोलाउने । १–२ दिनमा सकिने कामलाई महिनौ दिन झुलाउने । ५०० रु.ले हुने काममा हजार माग्ने । यो ल्याउ, त्यो ल्याउ, उ चाहियो भनेर अल्झन मात्र दिने । outlooks हेरेर बोली व्यबहार गर्ने कर्मचारीको व्यवहार र चरीत्रले गर्दा पनि युवाहरू दिक्क भएर आफ्नो देशमा भविश्य छैन भन्ने लागेर निराश भएर बिदेशीएका हुन् । यो कुराको हेक्का कस्ले राख्ला ?
स्थिर सरकार भए विकास र समृद्धि तिर देशले फड्को मार्ला भनेर जनताले दुई तिहाई मत दिए । साँच्चै सरकार श्रमजीवी जनताको, गरिब किसान, अल्पसंख्यक र सीमान्तकृतको जनजिबिका, शिक्षा, स्वास्थको लागि काम गर्दैछ ? देशले समृद्धिको बाटो समात्यो ? तर जनताले त्यो अनुभूति गर्न नसकेर होला भारतमा दिनै ८०–९० हजारको संख्यामा कोरोना संक्रमण बढिरहेको बेला पनि लर्को लागेर त्यता जाँदैछन । राज्यमा खै ? समवेदना, संबेग, मानवता खै ? आफ्नै देशमा केही गरौं भनेर केही व्यवसाय शुरु गर्यो भने र बिचमा केहि समस्या आयो भने सरकारले अभिभावकत्वको भूमिका निर्भाह गर्ने सर सहयोग गर्ने, अनुदान दिने केही काम हँुदैन । राज्यबाट कुनै आशा भरोसा नभएपछि युवायुवतीहरु बरु यो झन्झट बेहोर्नु भन्दा बरु साउदी कतार, मलेसिया, भारत जान्छन् । यस्तो कोरोनाको महामारीमा पनि अहिले नेपालबाट भारत जानेको लर्को देख्दा सहजै अनुमान लगाउने सकिन्छ कि किन नेपाली बिदेशिन्छन भनेर । यहाँ आशा भरोसाको किरण नदेखेपछी बिकल्प के त ? खै राज्यको उपस्थिति ? ६ महिना भयो बन्दाबन्दी । त्यो नाम्लो र बरियो बोकेर साँझ बिहानको छाक टार्ने मजदुरले के खाँदै छन् सरकार ? अहिले कोरोनाको महामारीले गर्दा ४०–५० लाख युवाहरू वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किनेक्रमा छन् भनिन्छ । खै कार्ययोजना ती युवाहरूलाई ब्यवस्थापन गर्ने ? नेपालमा उद्योगधन्दाको विकास भएको छैन । भएका उद्योगहरु प्राय सबै बन्द छन् । जस्तै बाँसबारी जुत्ता कारखाना, बैद्य आयोर्बेदिक औषधी कारखाना, आदि खुलेकाहरु पनि जिर्ण अवस्थामा छन् । बिरगंज चिनी उद्योग, जहाँका उखु किसान सधै चिनी उद्योगले उखुको पैसा दिएन, राज्यले घोषणा गरेको अनुदान पाइएन भनेर आन्दोलन गरिरहन बाध्य छन् । नयाँ उद्योग खोल्ने त आकाशको फल जस्तै हो । यहाँका शासकहरु जनतालाई आत्मनिर्भर बनाउने कुरामा दत्तचित्त हुनु पर्नेमा ब्यापारी, र माफिया खेल्न सहज हुने वातावरण बनाईदिने अनि बहुराष्ट्रिय कम्पनी, बिदेशी कम्पनी नेपाल भित्र्याउने आफूहरु त्यही कम्पनीबाट आउने कमिशन र भागबन्डामा रमाउने प्रवृत्ति बढेको देखिन्छ । जनताको काम गरेर लोकप्रिय भएर चुनाव जित्नुको सट्टा चुनावमा ८–१० करोड पैसा बाँड्ने, जनता किनेर चुनाव जित्ने र कुर्सीमा पुगेर राज्यको ढुकुटीमा मोजमस्ती गर्ने, विलासिताको जीवन बाँच्ने ध्याउन्नमा छन् । त्यसैले त देश भित्रका उद्योगधन्दा चाहिँ बन्द भैरहेका छन् । स्वदेशी उद्योगको नाममा रहेको जग्गा, नेताहरुमा माथी देखि तलसम्म कर्मचारी तल देखि माथिसम्म मिलेर नेताको नाममा नामसारी गर्ने अनि जग्गा प्लानिङ गरेर घडेरी बेच्ने र नेता सम्बन्धित कर्मचारीहरु रातारात मालामाल हुने प्रवृत्ति बढिरहेको परिपेक्षयमा यदि म कृषि मन्त्री भएको भए यस्ता घिन र लाजमर्दो क्रियाकलाप माफिया, दलाली तन्त्रबाट टाढा रहेर यस्ता गतिविधिलाई पूर्ण रूपमा बन्द गरि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग हुने गरि देशको हावापानी, माटो र परिवेश सुहाउँदो योजना बनाई काम गर्ने थिएँ ।
कुल बजेटको ३०% बजेट कृषिमा बिनियोजन गर्न पहल गर्ने थिएँ । उक्त बजेट पारदर्शी र ईमानदारिताका साथ कृषि विकासमा खर्च गर्छु भन्ने भरपर्दो आधार र कार्ययोजना प्रस्तुत गरेर सोहि अनुसार दत्तचित्त भएर कृषि क्रान्तिमा लाग्ने थिएँ । ३ बर्ष भित्रमा जनताले विकास र परिवर्तन भएको अनुभूति गर्न पाउने गरि काम गर्ने थिएँ । उक्त काम सहज र परिणाममुखी बनाउन र जनतालाई बढी भन्दा बढी लाभान्वित गराउन स्थानीय निकाय र प्रदेशसँग समन्वय र साझेदारीमा काम गर्ने थिएँ । विशेषज्ञ बैज्ञानिक, अनुभव बटुलेका विज्ञहरुको समिति बनाई माटो, हावापानी, भौगोलिक क्षेत्र सुहाउँदो, ब्यवहारिक कार्ययोजना बनाई सरोकारवाला सबैको साथ र सहयोग लिएर परिणाममुखी कामगरि खाद्यान्नमा भएको परनिर्भरता हटाउने काम मेरो पहिलो कदम हुने थियो ।
बिउमा सहजता र अनुदान : उन्नत जातको बिउमा ७० प्रतिशत अनुदानसहित किसानले समयमा सजिलो गरि पाउने वातावरण बनाउने मेरो पहिलो कदम हुने थियो । ०७७ सालको असारमा सयपत्री फूलको बीउ किन्न एग्रोभेट गएर पसलेलाई ‘दाइ माला बनाउने मझौला थुंगा फुल्ने सयपत्री फूलको बीउ पाइन्छ ?’ सोधे । पसलेले पाइन्छ भन्नुभयो । कसरी ? भारतबाट आएको बीउ १० ग्रामको रु. २५०, अमेरिका र अस्ट्रेलियाको ४५० भन्यो । त्यत्रो महँगो ? म आत्तिएँ । अनि पसलेले १० ग्राम बिउले धेरै जमिन ढाक्छ नि भन्ने उत्तर दियो । मैले बीउ किन्नै सकिन । दाम सुनेर फर्किए अनि घरमा भएको लोकल बीउ छरेँ । यसपालि बन्दाबन्दिले गर्दा जग्गा भाडामा खोजेर धान रोपियो । बीउ किन्न ललितपुरको टौखेल गाको उन्नत जातको धानको बीउ कसरी ?? सोधेको NP 28 चाइनिज धानको बीउ प्रति केजि रु ९५० घरमा फोन गरेर सुनाएको त केजि हैन होला मनको वा ४० केजिको होला भन्नुभयो । मैले हैन केजिको भनेको पत्याउनु भएन र म नकिनी फर्किएँ । पछि मेरो श्रीमान आफै गइ कनफर्म भएर किनेर ल्याउनु भयो । मैले यहाँ भन्न खोजेको कुरा के हो भने उत्पादन उन्नत जातको बिउले राम्रो दिन्छ । तर लगानी गर्ने पैसा नभएपछि लोकलै रोप्न मर हामी, किसान विवस हुन्छौं । त्यसैले म मन्त्री भाको भए बिउमा ७० प्रतिशत अनुदान दिने थिएँ ।
मलमा पहुँच : बैकल्पिक ब्यवस्था नभएसम्मलाई रासायनिक मलमा अत्याधिक अनुदान र पर्याप्तता सबैको पहुँचमा पु¥याउने मेरो दोस्रो पहल हुने थियो ।
सिंचाइको ब्यवस्था : सिंचाइको लागि खोलानाला, नदि भएको ठाउँमा कुलो नहर बनाउन जनतालाई श्रमदान गर्न प्रेरित गरेर नहर कुलोको निर्माण गर्ने थिएँ । नहर कुलो भएका ठाउँमा स्तरउन्नतिका काम द्रुत गतिमा गर्ने थिएँ । सिंचाइका स्रोत नभएको क्षेत्रमा deep बोरिङको लागि अनुदानको ब्यवस्था , बिजुलीमा ७५५ छुट गरि सबै क्षेत्रमा सिचाइको सुबिधा पु¥याउने थिएँ ।
पर्याप्त प्राबिधिक : प्रत्येक वडामा छेत्रफ्लको आधारमा कृषि प्राबिधिक २÷३ जना ब्यवस्था गरि प्रत्येक किसानको आँगनमा चाहिएको समयमा निःशुुल्क पु¥याउने थिएँ ।
पर्याप्त तालिम : किसानलाई पनि बाली अनुसारको अलग तालिमको ब्यवस्था गर्ने थिएँ र अवलोकन भ्रमणको ब्यवस्था गरि ज्ञान, सिप र अनुभव साटासाट गर्ने अवसर प्रदान गर्ने थिएँ, जस्ले गर्दा किसानहरुमा हौसला बढ्ने थियो ।
बाली बिमामा सहजता : बाली बिमाको कार्यक्रमलाई सर्बसुलभ, सस्तो, सरल प्रक्रिया बनाई व्यापक बनाउने थिएँ जस्ले गर्दा प्रत्येक किसानले बाली बिमा गर्न सकुन् । सबैको पहुँच पुगोस् । कुनै प्रकोप वा महामारीमा पनि किसान मर्न नपरोस् ।
चक्लाबन्दीको ब्यवस्था : एक गाउँ एक बालिको अवधारणाको बिकाश गरि उत्पादन बढाउने थिएँ । खेतिपातीको रेखदेख गर्न बिउबिजन, मलको ब्यवस्था गर्न प्राबिधिक सहजीकरण गर्न सरल हुनका साथै उत्पादनमा पनि वृद्धि हुने थियोे ।
शीत भण्डारको पर्याप्त ब्यवस्था : बाली भण्डारणको लागि पर्याप्त शितभण्डारको ब्यवस्था गर्ने थिएँ । किनकि किसानले सिजनमा फलाएको टमाटर, प्याज, आँप, सुन्तला, स्याउ जस्ता बालिनाली भित्र्याएको बेलामा सस्तोमा प्रती केजि रु २५ र ५० मा बेच्न बाध्य छन् किनकि भण्डार गर्ने ब्यवस्था छैन । राखौं भने कुहिएर जान्छ बरु सस्तैमा भएनी बेचौं भन्ने हुन्छ किसानलाई । त्यही प्याज, टमाटर, आँप, सुन्तला, स्याउ आदि या सिजनमा भारतबाट ल्याएर प्रती केजि रु १००/२००/ ३००/४०० सम्म उपभोक्ताले किन्नुपर्ने अवस्था छ । यदि भण्डार गर्ने ब्यवस्था भए हाम्रो किसानले उचित मुल्य पाउने थिए र भारतिय आयात रोकिने थियो । उपभोक्ताले पनि सस्तोमा उपभोग गर्न पाउने थिए । सरकारले भण्डारणको लागतमा, बिजुलीमा पनि अनुदान दिने ब्यवस्था गर्ने थिएँ ।
बैंकमा किसानको पहुँच : कृषि विकास बैंकलाई किसानको बैंक बनाउन बिचौलिया समाप्त पार्ने, कमिशनको चक्र समाप्त पारी सस्तो ब्याज, सरल बैङ्किग, सरल भुक्तानी प्रक्रिया र सबैको पहुँच बनाउने थिएँ ।
साझेदारीको (सहकारी) अवधारणा : छरिएर रहेको पुँजिलाई एकीकृत गरि किसान र राज्य्को साझेदारीमा किसानलाई प्रोत्साहित गरि कृषि औद्योगिकरणको विकास गर्ने थिएँ ।
कृषिमा जिन्सी अनुदानलाई प्राथमिकता दिने : कृषिमा रकम अनुदान दिंने प्रचलनले गर्दा कृषि विभागमा आफ्ना मान्छे ठूलाबढा कर्मचारी भएकाले र नेतासम्म पहुँच हुनेले नक्कली किसानको कागजात बनाई कृषि अनुदानको ठूलो रकम नक्कली किसानले हत्याउने गरेको छ भने वास्तविक किसान संधै मारमा परिरहेका छन् । अब रकम अनुदान हैन मल, बीउमा भारी अनुदान र निःशुल्क प्राविधिकको ब्यवस्था, बिमामा अनुदान, बिजुलीमा अनुदान, कृषि उपकरणमा अनुदानको ब्यवस्था गर्ने थिएँ, जस्ले गर्दा कृषि अनुदानको रकम दुरुपयोग हुन रोकिने थियो । वास्तविक किसानले फाइदा लिने थिए । कम्पोस्ट मलको प्रवर्द्धन ः आयातित रासायनिक मललाई निरुत्साहित गरि कम्पोस्ट मललाई प्रोत्साहन दिन निःशुल्क मल बनाउने तालीम उपलब्ध गराउनका साथै मेशिनरी सामान, उपकरणको खरिदमा ७० प्रतिशत अनुदान र भन्सार छुटको ब्यवस्था गर्ने थिएँ ।
माटो जाँचमा पहुँच : माटोको जाँच गर्ने सेवा सुबिधा प्रत्येक वडामा निःशुल्क केन्द्रको स्थापन गर्ने थिएँ । जस्ले गर्दा माटोको गुणस्तर थाहा पाई उपचार गर्न पर्ने वा नपर्ने यकिन गरि गर्नुपर्ने भए उपचार गरेर बाली लगाउन सके निश्चय पनि उत्पादन बढ्छ । किसानको जीवनस्तर उठ्न सक्छ ।
कृषि रोडको विकास र स्तरोन्नति : सबै खेतीयोग्य जमिनमा कृषि बाटो पु¥याउने थिएँ । भएका कृषि रोडको स्तरोन्नति गर्ने थिएँ । किनकि कति पालिका, नगरपालिकामा कृषि रोड भएपनि वर्षा सुरु भएपछि पानीले बाटो खाल्डाखुल्डी भएर, पहिरोले पुरेर बाटो बन्द हुन्छ । किसानले दुःख गरि फलाएको अन्नबालि बाटो नहुँदा बारीमा सड्ने भएकाले कुनैपनि समय सवारी साधन चल्ने बाटोको जरुरी हुन्छ । त्यसैले बाटोको ब्यवस्था र स्तर उन्नति गर्ने थिएँ ।
किसान आफैले बालीको मुल्य निर्धारण गर्ने : बालीको मूल्य निर्धारण मेरो प्राथमिकताको विषय हो । आज किसानले फलाएको अन्नको मूल्य ब्यापारीले तोक्ने गरेको हुँदा किसान गरिबीबाट माथी उठ्न सकेको छैन । त्यसैले बैज्ञानिक आधार बनाई मूल्य निर्धारण गर्न किसानले पाउनुपर्छ । उदाहरणका लागि धानको कुरा गरौं । ब्याड राख्न, माटोको तयारी, मल बीउ गरि जम्मा एक बिगाहको लागि खर्च अनुमान गरौं । धानको बीउ आधा मन रु. १००० । ब्याड एक कठ्ठा जोत्न, मल जल गर्न रु. ३००० । एक बिघा खेत जोत्न, आलि लगाउन, मल गरि जम्मा रु. १४००० । धान रोप्न खेताला रु. ७००० । अनि बिचमा पानी हेर्ने, गोडमेल र मल लगाउन गरि रु. १२००० अनि धान पाकेपछी काट्न, झार्न, बताउन गरि रु. १०००० जम्मा खर्च रु.४७००० यो भयो लागत । अब किसानको मेहनत उसले ७ महिनाको समय खर्चेको हुन्छ उस्को ९००० हजार मात्र मासिक हिसाब गर्दा रु. ६३००० गरि जम्मा रु.१०९००० । उस्को लागत छ मानौ धान प्रती बिघा मलपानी पुग्यो भने ७० मन फल्यो भने अब किसानले त्यही अनुसारको भाउ राख्न पाउनु पर्यो नि । नकि ब्यापारीले ।
कृषि औद्योगिकरण : परम्परागत तथा निर्वाहमुखी खेतीबाट ब्यवसायिक र उद्योगतर्फ लैजान आजको आवश्यकता हो । त्यसैले कृषि उपकरणको लागि अनुदान, आवश्यक तालिम, अवलोकन, अनुगमन भ्रमण, नयाँ नयाँ टेक्नोलोजीको लागि प्राविधिकहरुलाई अध्ययन अनुसन्धान गर्न स्वदेश वा बिदेश पठाउने, बिदेशी टेक्निसियन हायर गर्ने जस्ता कुरामा राज्यबाट गर्नुपर्ने सबै काम सहयोग गर्ने थिएँ । जस्ले गर्दा अन्न बालीको लागत मुल्य घटेपछी उत्पादन सस्तो हुने थियो भने बिदेशी अन्न बालिसँग प्रतिस्पर्धा गर्न सक्ने थियो । बस्तुको मुल्य कम भए माग बढ्ने थियो । सस्तो र गुणस्तरीय उत्पादन भए बिदेश निर्यात गर्न सकिथ्यो । कृषि उद्योग फस्टाउने थियो ।
पुरस्कार र प्रोत्साहनको ब्यवस्था : उत्कृष्ट किसानलाई पुरस्कार दिने ,वैदेशिक भ्रमण लाने, कृषि उपकरण दिने, नगद रकम उपहार दिएर बढी भन्दा बढी युवाहरूलाई कृषि पेशामा सहभागी गराउन पहल गर्ने थिएँ ।
अर्गानिक खेतिमा जोड : अर्गानिक उत्पादन स्वास्थको दृष्टिले अत्यन्तै फाईदाजनक हो । त्यसैले अर्गानिक खेतिमा किसानलाई अभिप्रेरित गर्न कम्पोस्ट मलमा अनुदान दिने र माटो जाँच सहज बनाएर अर्गानिक उत्पादनको छुट्टै बजारको ब्यवस्था गर्ने थिएँ । कृषि बजारको ब्यवस्था ः खाली ठाउँमा निःशुल्क बजारको व्यवस्था गर्ने थिएँ । जुन बजारमा किसानले आफुले उत्पादन गरेको अन्न बाली, फलफूल, सागसब्जी, माछा मासु आफै लगेर बेच्न पाउने थिए र बिचौलियाले खाने कमिशन किसान आफैले लिने थिए । बजार सस्तो भएपछि ब्यापार स्वभावैले बढ्ने थियो । किसानको जिवनस्तर माथी उठ्ने थियो ।
अनुगमनको ब्यवस्था : कृषि बिज्ञ र प्राबिधिकहरुको छुट्टै संयन्त्र बनाई गुणस्तर, कार्य योजना अनुसार काम भए नभएको, उद्देश्य अनुसारको मापदण्ड पुरा भए नभएको अनुगमन गर्ने निकायको निर्माण गरि काम चुस्तदुरुस्त गर्ने थिएँ ।
ब्रान्डिङ र लेबलाइज गर्ने : नेपालमा उत्पादित कृषि उपजलाई वैदेशिक मापदण्डअनुसार बनाउने गुणस्तर मापन गरेर लेबलाइज गरि ब्रान्ड बनाएर बिदेश निर्यात गरि वैदेशिक मुद्दा आर्जन गर्ने थिएँ । उदाहरणको लागि मुस्ताङको स्याउ, गोर्खाको सुन्तला, सिन्धुलीको जुनार, इलामको छुर्पी, चिया, कफि, जुम्लाको मार्सी चामल, फाफर आदि ।
रासायनिक मलर अर्गानिक मलको कारखाना खोल्ने : खेती किसानिलाई नभै नहुने मलमा संधै बाहिरी देशको भरपर्नु पर्ने हुँदा कुनै न कुनै दिन केही न केही बहानामा अहिले जस्तै संङ्कट भोग्दै आइरहेका छौ र भबिस्यमा पनि भोग्नुपने हुन्छ । अनि बाहिरबाट ल्याउदा स्वभावैले महँगो पनि पर्ने हुँदा बालिनालिमा लागत बढ्ने भएकाले बर्सेनि अरबौको मल आयात गर्ने भन्दा मलको कारखाना खोल्ने थिएँ ।
उन्नत बीउ उत्पादनमा जोड : अन्नबाली फलफूल, सागसब्जी आदिको उन्नत बीउ बिजन उत्पादन र अनुसन्धान गर्ने विभिन्न विभाग निकायहरु छन् । जस्तै नास्ट, बाली बिज्ञान प्रयोगशाला आदि । यी निकाय निस्क्रिय भएको अवस्थामा आवश्यक बजेट, तालिम, अध्ययन, अनुसन्धानको ब्यवस्था गरेर चुस्त बनाई उन्नत जातको बीउ बिजन, कलमी उत्पादन गर्न लगाई बिउमा आत्मनिर्भर बनाउने थिएँ ।
दलहन, फाफर, तेलहनमा विशेष अनुदान : सिंचाइको सुबिधा नभएर, बाँझो छोडेको जमिन, डाँडा पाखा भिरालो जमिनमा किसानलाई विशेष अनुदानको ब्यवस्था गरि मास दाल, गहत, फाफर, तोरि, सुर्यमुखी उत्पादनमा लगाई बाँझो र रुखो जमिनको सदुपयोग गर्ने थिएँ ।
हाम्रो कृषि अवस्था : कृषिप्रधान देश भएपनि हामी चामल, दाल, तेल, आलु, प्याज, खोर्सानी, धनिया, गेडागुडी, फलफूल, टमाटर, भिन्डी, पर्वल, माछा आदि खरबौँ खरबको खाद्यान्न भारतबाट ल्याउछौँ । भारतिय उत्पादन नेपालको भन्दा सस्तो पनि छ । जस्तै नेपाली टमाटर रु. ६० प्रति केजि किन्छौ भने भारतको टमाटर रु ४० प्रति केजिमा पाइन्छ । किन ? यो कुरा त सरकारमा बस्ने मान्छे कर्मचारी जो भ्रमण, अवलोकन गर्न जानुहुन्छ उहाँहरुलाई धेरै थाहा होला । तर मलाई अलि अलि थाहा छ त्यहाँ राज्यले किसानलाई उन्नत जातको बिउ मलमा अनुदान दिन्छ । कृषि ऋण सस्तो छ । सरल कार्यबिधि छ । सिंचाइ सुबिधा छ, बिजुलीमा अनुदान दिने गरेको छ । काम छिटोछरितो गर्न आधुनिक उपकरणको प्रयोग गर्ने भएको हुनाले सस्तोमा उपज उत्पादन हुन्छ । त्यसैले हामी भारतको सस्तो सामान किन्न बाध्य भैरहेका छौं । यहाँ बीउ, मल भारत र अन्य मुलुकबाटै आउने हो, त्यसैले नेपालको उत्पादन महँगो छ । यहाँ सिचाइको भरपर्दो माध्यम छैन । धेरै ठाउँमा आकाशे खेती हो । बिजुली महँगो छ । मल बिउमा पर्याप्त अनुदानको ब्यवस्था छैन । सस्तो कृषि ऋणको ब्यवस्था छैन । त्यसैले उत्पादन महँगो पर्ने नै भयो । त्यसो हुँदा हामी अन्य देशसँग कृषि उत्पादनमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । त्यसैले कृषि पेशा भनेको दुखी र निरीह पेशा हो भन्ने बुझाई छ, यथार्थ पनि हो । अब यो कथन परिवर्तन गरेर ८० लाख युवाहरूलाई कृषि पेशामा लगाउन सरकार/कृषि मन्त्रालयले तात्कालिक, दीर्घकालीन योजना बनाई काम गर्नुपर्छ । किसानको आधारभुत आवस्यकता पूरा गर्न गम्भीर हुन जरुरी छ । कम्पोस्ट मल उत्पादनलाई प्राथमिकतामा राखेर मल उत्पादन गर्ने सीप, प्रबिधि, उपकरण र स्रोत साधनमा सहजीकरण गर्न शुरु गरौं । उन्नत जातको बीउको ब्यवस्था गर्नुपर्छ । उन्नत बिउ महँगो हुने भएकाले एक त किसानले किन्नै सक्दैनन् । किनेपनि लागत बढ्ने हुँदा उत्पादन महँगो पर्नजान्छ भने अर्कोतिर उन्नत बीउ नहुँदा उत्पादन कम हुन्छ । सिंचाइका सुबिधामा व्यापक बिस्तार गर्नुपर्छ । आधुनिक कृषि उपकरणमा अनुदानको व्यवस्था गरि उत्पादन सस्तो बनाउनुपर्छ । सस्तो उत्पादनले मात्र वैदेशिक उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छ बजारको सुनिश्चितता हुन्छ भन्ने मेरो बुझाई हो ।
उन्नत प्रविधिको प्रयोग : अर्को महत्वपूर्ण कुरा भनेको उत्पादनलाई विभिन्न परिकार बनाउने प्रबिधी भित्र्याउने हो । जुन सरकारी क्षेत्रबाट गर्नुपर्ने छ भने निजिक्षेत्रलाई प्रोत्साहन गर्न राज्यले सरल, सजिलो प्रक्रिया र सहजीकरण गरिदिनुपर्छ । उदाहरण : अहिले ड्रग एभरेष्टले राम्रो टमेटो केचप बनाउन भारतबाट महँगोमा टमेटो पिउरी ल्याउँछ र टमेटो केचप बनाउँछ । यदि हामीले हाम्रै देशमा धेरै किसानलाई टमाटर खेतिमा लाग्न प्रोत्साहन गरी, बीउ, मल जल र प्राबिधिक दिएर धेरै भन्दा धेरै टमाटर उत्पादन गरि त्यो पिउरी बनाउने टेक्नोलोजी नेपाल मै भित्याउन सके हाम्रो अरबौं रकम बाहिर जाने थिएन भने हाम्रो देशको युवाहरू स्वरोजगार बन्ने थिए । हाम्रो देशको बनजंगलमा अनेकौं जातका फलफूल बनैभरी फल्छन् । जस्तै : चिउरी, गुराँस, ऐसेलु, आलचा, काफल, कटुस आदि । यसको संकलन गरेर आधुनिक प्रबिधी, प्राबिधिक ल्याएर वाइन बनाउन सके बिदेशी वाइन बिस्थापित गर्न सकिन्छ भने मापदण्ड पूरा गरेर ब्रान्ड बनाई बिदेश निर्यात पनि गर्न सकिन्छ । त्यस्तै हाम्रो देशको पहाडी भेग जहाँ पानीको सुबिधा नभएको ठाउँमा अत्यधिक फल्ने कोदो, जस्लाई रक्सी बनाई ब्रान्डिङ गरि बिदेशमा बेच्न सकिन्छ । यो अभियानमा माननीय श्री शेरबहादुर तामाङ र माननीय श्री उषाकला राई प्रति म सम्मान र ऐक्यबद्धता जनाउन चाहन्छु । उहाँहरुले उठाउनु भएको कुरा सहि छ । हामी आफ्नो देशमा उत्पादित उपज बालिनालिलाई नयाँ प्रबिधि, नयाँ टेक्नोलोजी भित्र्याएर गुणस्तरयुक्त खाना, चिजबिज उत्पादनलाई जोड नदिने अनि कमिशनको चक्करमा बहुराष्ट्रिय कम्पनी, बिदेशबाट आयातित खाना चिजबिजलाई प्रमोट गर्ने हो भने हामी कसरी समृद्ध बन्छौं ? कमिशन र भागबन्डाले मुठ्ठीभर नेता कार्यकर्ता, पहुँच वाला कर्मचारी त समृद्ध बनलान तर देश र आम जनताको समृद्धिको सपना भने अधुरो नै रहने छ । त्यसैले यो ब्रान्ड गर्ने अभियानमा सबैले ऐक्यबद्धता जनाइ सम्बन्धित निकायलाई दबाब दिन अनुरोध गर्छु ।
सजिवन र मोरंगाको व्यवसायिक खेति : अहिलेको बजारमा धेरै माग भएको तरकारी हो । यो शाकाहारी भोजन गर्नेहरुको लागि पोसिलो र अति लाभदायक छ । यस्को माग देश भित्र र बिदेशमा पनि अत्याधिक छ । तर माग पुरा हुन सकेको छैन । यो गर्मी र सुख्खा ठाउँमा व्यावसायिक रुपमा गर्न सकिन्छ । यस्को पात, फूल र फल सबैको तरकारी खान सकिने अत्यधिक पोसणतत्व पाइने बनस्पति भएपनि सरकारले त्यसतर्फ ध्यान दिएको देखिदैन । यदि यो सजिवन खेतिलाई व्यवसायिक रुपमा खेती गर्न सके वैदेशिक मुद्दा आर्जन गर्न सक्ने दरिलो माध्यम बन्न सक्ने थियो । यस्ता धेरै फलहरु छन् जुन नेपालको हावापानीमा फलेको बिदेशीको रोजाइमा परेको जस्तै क्युवी, सुन्तला ड्राइगन, एबोकाडो, आदि तर यस्ता कुरामा सम्बन्धित निकायको ध्यान गएको देखिदैन ।
गाँजा खेती : माननीय श्री केशव स्थापितले गांँजालाई कानुनी मान्यता दिएर व्यापक व्यावसायिक खेती गरि बिदेश निर्यात गरेर हाम्रो समृद्धिको सपना पूरा हुन्छ भनी बहस चलाई रहनु भएको परिपेक्ष्यमा एपि वानको तमसोमा ज्योतिर्गम कार्यक्रममा आयुर्वेदिक अस्पतालको कार्यकारी निर्देशक श्री बासुदेब उपाध्ययले पनि नेपालको गाँजा बिश्वकै उत्कृष्ट र क्यान्सरको औषधी बन्ने तत्व रहेको बताउनु भएको थियो । हामी भने त्यस्तो अमुल्य बनस्पतिलाई नस्ट गरिरहेका छौ । अब गाँजालाई प्रवर्द्धन गर्नुपर्छ । सरकारले चाँडो निति बनाई ब्यवसायिक खेती गरि आय आर्जनको गतिलो स्रोत बनाउन ढिला गर्नुहुन्न । यस्तै हाम्रो देशमा बहुमुल्य जडिबुटीहरु छन् । यार्सागुम्बा, शिलाजित, चिरैतो, निम, पिप्ला आदि । यिनिहरुलाई प्रसोधन गर्ने र अत्याधुनिक प्रबिधि र बौद्धिक जनशक्ति निर्माण गरि अध्ययन अनुसन्धान गरेर विभिन्न औषधी बनाउने दिशातिर तिब्र गतिमा सरकार जान गर्न सके हाम्रो समृद्धिको बाटो खोलिने छ । विकास भनेको अरुको नक्कल गर्ने भन्दा आफूसँग भएको स्रोतसाधनको अधिकतम् प्रयोग हुने माटो र परिवेश अनुसारको उद्योग ब्यवसाय खोली अधिकतम फाइदा लिने हो भन्ने कुराको ध्यानाकर्षण मात्र गराउन खोजेकी हुँ । धन्यवाद ।।
वि.सं.२०७७ भदौ २५ बिहीवार १३:२५ मा प्रकाशित






























