काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक विभिन्न महत्वपूर्णं निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई अध्यक्षको कार्यविभाजनसहित पार्टी सञ्चालन र सरकार सञ्चालनसहितका विषयमा महत्वपूर्णं निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिकासहित पार्टीको नेतृत्वमा रहने निर्णय गरेको छ । बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय पनि गरेको हो ।
शुक्रबार बसको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको प्रस्ताव पेश गरेका थिए । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहित १३ जना नेताले बोलेका थिए ।
के–के निर्णय भए, हेर्नुहोस् बुँदामा
१. पार्टी एकताको ऐतिहासिक महत्त्वलाई आत्मसात् गर्दै पार्टी एकताको रक्षा गर्ने र पार्टीलाई अझै बढी सुदृढ गरेर अगाडि बढाउने संकल्प बैठकले यो प्रस्ताव मार्फत गरेको छ।
२. पार्टीलाई विधि र पद्धतिमा संस्थागत ढंगले सञ्चालन गर्ने काममा भएका कमीकमजोरीलाई सच्याउने र अबका दिनमा पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अघि बढ्ने निर्णय पनि गरेको छ। गत वर्ष भएका निर्णयहरुलाई कार्यान्वयमा लैजाने निर्णय पनि गरेको छ।
३. अध्यक्षहरुको कार्यविभाजनको हकमा ओलीले सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र सरकारको सञ्चालन प्रभावकारी ढंगले अगाडि बढाएर त्यसलाई सफल पार्ने कार्यको नेतृत्व गर्ने। प्रचण्डले कार्यकारी अधिकार सहित पार्टी कामको नेतृत्व गर्नुहुने कार्यविभाजन भएको छ।
४. सरकार पार्टीको मार्गनिर्देशनमा सञ्चालन हुने, दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र आधारभूत महत्त्वका नीति र राष्ट्रिय महत्त्वका निर्णयहरु लिनुपर्दा पार्टीको मार्गनिर्देशनलाई केन्द्रमा राखेर, ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ। राष्ट्रिय महत्त्वका निर्णयहरुको हकमा सचिवालयको परामर्श र दुई अध्यक्षहरुको परामर्श र सहमतिको आधारमा गर्ने पनि निर्णय गरिएको छ।
५. सरकारले प्रस्तुत गर्ने विधेयकको सैद्धान्तिक पक्षहरुको बारेमा वा प्रस्तुत गर्ने नीतिहरुको सैद्धान्तिक पक्षको बारेमा पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने पनि आजको बैठकले निष्कर्ष निकालेको छ।
६. पार्टीको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ। र त्यसको तयारी सम्बन्धी कामहरुलाई अगाडि बढाउनका निम्ति २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्म पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने निष्कर्ष निकालिएको छ।
७. बैठकले नेपाल र भारतको बीचमा भएको सीमा समस्या (मुख्यतः लिम्पियाधुरा, लिपुलेक र कालापानी) को अतिक्रमित भूभागमा नेपालको हक भोगको स्थापित गर्नेगरी र नेपाली भूमिमा भएका विदेशी सुरक्षाकर्मीलाई फिर्ता पठाउने गरी जो प्रस्ताव सरकारले अगाडि बढायो र नयाँ नक्सा सार्वजनिक गर्यो, त्यसबमोजिम संविधानमा संशोधन गर्ने काम गर्यो,त्यसको निम्ति सरकारलाई धन्यवाद प्रदान गरेको छ। सबै राजनीतिक पार्टीहरुलाई राष्ट्रिय एकताको निम्ति आभार व्यक्त गरेको छ। जनचेतना जागृत गर्ने र यो प्रक्रियामा साथ दिने सबै बुद्धिजीवी र नागरिक समाजलाई र सांसदहरुलाई पनि धन्यवाद दिएको छ। र अब भारतसँग राजनीतिक कूटनीतिक वार्ताद्वारा नै यो समस्याको, नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा हल निकाल्ने आवश्यक भएको निष्कर्ष पार्टीले निकालेको छ। र सरकारले त्यस दिशामा जो पहलकदमी गरेको छ, त्यसलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने पनि अपेक्षा गरेको छ। र सरकारले अहिलेसम्म यस सम्बन्धी जे काम गरेको छ, त्यसलाई सकारात्मक भन्दै उच्च मूल्यांकन गरेको छ।
८. कोभिड १९ का बारेमा सरकारले अहिलेसम्म यसको रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा जे नीति, योजना, कार्यक्रमहरु र निर्णयहरु अगाडि बढाएको छ, त्यसलाई सकारात्मक रुपमा लिँदै त्यसको प्रभावकारी नियन्त्रणका लागि र यसबाट उत्पन्न समस्याहरुको सम्बोधन र समाधानका लागि राष्ट्रिय एकताका साथ अगाडि बढ्ने दृढता पनि बैठकले प्रकट गरेको छ। यससँग सम्बन्धित कुराहरुको हकमा अझै व्यवस्थित ढंगले रोकथाम, नियन्त्रण र उपचारको प्रक्रिया अगाडि बढाउने, फ्रन्टलाइनमा खटिने चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुको सरोकार विषय, उनीहरुको मनोबल उठाउने विषयहरुलाई गम्भीर ढंगले सम्बोधन गर्ने र अहिले देखा परेका जति समस्याहरु छन्, त्यसलाई पनि दृढतापूर्वक समाधान गर्ने निष्कर्ष पनि निकालेको छ।
९. एमसिसीको हकमा यसलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ। तर के संशोधन र परिमार्जन गर्ने भन्ने कार्यका पार्टीले झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको सुझाव प्रतिवेदनलाई समेत ध्यान दिई पार्टीको बैठकमा छलफल गरेर पार्टीले यस सम्बन्धमा छिट्टै निष्कर्ष निकाल्ने छ र त्यसै आधारमा यो प्रक्रिया अगाडि बढाइने छ।
वि.सं.२०७७ भदौ २६ शुक्रवार १८:०८ मा प्रकाशित





























