३१ भदौ, पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजका सस्थापक सल्लाहकार कृष्ण तिवारी र उनकी श्रीमती पर्वत समाज बेल्जियमकी उपाध्यक्ष दुर्गा कुमारी तिवारीले बुबा आमाको स्मृतिमा अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।
हाल बेल्जियममा व्यवसाय सन्चालन गर्दै आएका पर्वत सरौंखोला वडा नं ६ का तिवारी दम्पत्तीले पर्वत अस्पतालले स्थापना गरेको गरिव, असहाय, लक्षित विपद् कोषमा स्वर्गीय बुवा श्रीकृष्ण तिवारी र आमा विष्णु कुमारी तिवारीको स्मृतिमा १० हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
अस्पतालले स्थापना गर्न लागेको कोषको उद्धेश्य र औचित्य उपयुक्त लागेर भावनात्मक रुपमा जोडिएर सहयोग गरेको भन्दै पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडीले धन्यवाद व्यक्त गरेका छन् ।
‘पर्वत अस्पतालका गतिविधि र सुधार अभियानबाट प्रभावित भएर स्वयम् सम्पर्कमा आउनु भएकोमा हामी आभारी छौं,’ अध्यक्ष पहाडीले भनेका छन्,‘साथै सानो तिनो उपचार समेत गर्न असमर्थहरुलाई सहयोग गर्ने कल्याणकारी अभियानमा सहयोग गर्न चाहनेहरुलाई हामी स्वागत गर्न चाहन्छौं ।’
वि.सं.२०७७ भदौ ३१ बुधवार १६:१० मा प्रकाशित




























