२० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रदेश ५ को संसदभित्र सोमबार भएको घटनामा आत्मालोचना गर्दै गल्ति गर्नेलाई कारबाहीको माग गरेका छन् ।
नेता थापाले प्रदेश ५ को संसदभित्र प्रतिपक्षीबाट भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत भएको भन्दै घटनामा आफूहरुले आत्मालोचना गर्दै गल्ति गर्नेलाई कारबाही गर्नैपर्ने समेत बताएका छन् ।
‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट आज भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन् । आजको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ,’ घटनापछि सोमबार राति ट्विट गर्दै नेता थापाले लेखेका छन् ‘हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ति गर्नेलाई कारबाही पनि गर्नै पर्छ ।’
प्रदेश ५ को राजधानी दाङ बनाउने भनेर गरिएको प्रस्तावका विरोधमा रुपन्देहीमा व्यापक विरोध भइरहेको छ । विरोध बाहिर सडकमा मात्र भएन । सोमबार संसदभित्र समेत प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसदहरुले त्यसको विरोध गर्दै आफूबस्ने कुर्सी र माइक समेत भाँचे ।
सोमबार संसदभित्र प्रतिपक्षी दलका सांसद वसीउद्धिन खाँले कुर्सी तोडफोडको सुरुवात गरेका थिए । उनीसँगै कांग्रेसकै रुपन्देही ४ (क) का अष्टभूजा पाठक र नवलपरासी २ (ख) का वैजनाथका कलवारलगायतले कुर्सी र माइक पनि भाचेका थिए ।
घटनापछि साँसद खाँले आन्तरिक मामिला तथा कानुनमन्त्रीको भनाईले आफूहरुलाई उत्तेजित गराउँदा कुर्सी तोडेको स्वीकार्दै क्षतिपूर्ति तिर्न तयार रहेको समेत बताएका छन् ।
प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट आज भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्।आजको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।
— Gagan Thapa (@thapagk) October 5, 2020
वि.सं.२०७७ असोज २० मंगलवार ०७:५३ मा प्रकाशित






























