१६ कात्तिक, गोकर्ण । नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगस्थित उत्तरवाहिनी क्षेत्रको पर्खाल भत्कँदा जङ्गली जनावरले अन्नबाली नाश गर्न थालेको छ ।
पर्खाल भत्किएको वर्षौं बितिसक्दा पनि पुनःनिर्माण नगरिँदा गोकर्णेश्वर नगरपालिका–४ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वाग्मती फाँटमा लगाइएको अन्नबाली निकुञ्जबाट निस्कने जङ्गली जनावरले खाने गरेको हो ।
कागेश्वरी मनोहरा नगरपालिका–५ कोलमतेश्वरका भगवान् सिम्खडा निकुञ्जबाट रातिको समयमा निस्कने जनावरले अन्नबाली नष्ट गर्ने गरेको गुनासो गर्दछन् ।
निकुञ्जको करीब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये उत्तरवाहिनी क्षेत्रको धेरै भाग भत्किएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ पर्खाल भत्किएर किसानले खेतबारीमा लगाएको अन्नबाली नष्ट भएको विषयमा कार्यालयमा पटकपटक जानकारी गराइएको बताए ।
दशैँअघि कार्यालयका सहसचिव बाबुराजा श्रेष्ठले यस क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका थिए ।
वि.सं.२०७७ कात्तिक १६ आइतवार १२:५९ मा प्रकाशित






























