महान् अक्टोबर समाजवादी क्रान्तिले बिश्वभरीका मजदूर किसान लगायत सम्पूर्ण श्रमजीवी जनतलाई आफ्नो राज्यसत्ता कायम गर्ने, शोषणरहीत बैज्ञानिक समाजबादको निर्माण गर्ने र एउटा सभ्य, सुसँस्कृत, समुन्नत मानबीय समाजको निर्माण गर्ने जुन सन्देश दियो त्यसको दूरगामी प्रभाव बिश्वभरी प¥यो । सोभियत समाजबादको निर्माण र बिकासले त्यसको अझ पुष्टी ग¥यो ।
बिश्वमा सामन्तबादलाई समूल नष्ट गर्न फान्सेली पूँजीवादी क्रान्तिको जति ठूलो महत्व छ पूँजीवाद–साम्राज्यवादलाई समाप्त पार्न र बैज्ञानिक समाजवादी समाजको निर्माण गर्न महान अक्टोबर समाजबादी क्रान्तिको त्योभन्दा ठूलो महत्व बिश्वमा रहेको छ । किनभने बिश्व समाज दास युगदेखि पूजीवादी युगसम्म शोषण उत्पीडनमा आधारित समाजको रुपमा रहेको हो र समाजवादी क्रान्तिपछि नै शोषण उत्पीडनमुक्त मजदूर किसान श्रमजीवी बर्गको पहिलो राज्य सत्ता बिश्वमा बिकसित भएको हो । त्यसैले यो समाजवादी क्रान्ति पूँजीवादी क्रान्तिभन्दा गुणात्मक किसिमले नै माथिल्लो बिकसित सभ्यता र अझ माथिल्लो चरणको बिश्वको बिशिष्ठ गुणले युक्त भएको एउटा युगान्तकारी क्रान्ति थियो, हो । मार्क्सको शब्दमा भन्ने हो भने ‘पुराना सबै दुःख कष्टबाट मुक्त’ समाजको स्थापना गर्ने नयाँ युगनिर्माणकारी क्रान्ति हो यो अक्टोबर समाजबादी क्रान्ति ! यस क्रान्तिले बिश्वमा शोषित, उत्पीडित तथा पद दलित बिभिन्न तह र तप्काका जनतालाई सुख, सम्बृद्धि र सुनिश्चित भबिष्य निर्माणको नबीन ऊर्जा दियो । आफ्नो जीवन र समाज परिवर्तनप्रति अत्यन्तै अदम्य उत्साह र भबिष्यप्रति अपूर्ब आशा जगायो ।
बिश्व र्सबहारा बर्गको मुक्ति र क्रान्तिको बाटो देखाउने बिश्व क्रान्तिका नेता लेनिनको नेतृत्वमा रहेको सोभियत कम्युनिष्ट पार्टी अगुवाइमा रुसमा सम्पूर्ण श्रमजीवी जनता—मजदुर, किसान, मध्यम बर्ग(राष्ट्रिय पूँजीपति) सीपाही, बुद्धिजीवी तथा रुसको जारशाहीबाट शोषित उत्पीडित सम्पूर्ण तह र तप्काका जनता सम्मिलित त्यो रुसी अक्टोबर क्रान्ति रुसको पुरानो पात्रो अनुसार १९१७ को नोभेम्बर ७ का दिन सम्पन्न भएको थियो । १९१७ मा रुसमा सम्पन्न यो महान क्रान्तिले रुसमा रोमानोभ बंशको तीन सय बर्षदेखि चल्दै आएको राजतन्त्रलाई समूल नष्ट पारेको थियो र बिश्वकै इतिहासमा पहिलो पटक ‘मजदूर–किसान’को राज्य खडा गरेको थियो । लेनिनको देहावसान पछि सोभियत संघका अर्का क्रान्तिकारी नेता स्टालिनको नेतृत्वमा सोभियत समाजवादको निर्माण गर्दै र सोभियत संघलाई बाह्य र आन्तरिक प्रतिकृयावादी पुनरुत्थानाबादी शोषक बर्गीय शक्तिको निरन्तरको आक्रमण र हमलाबाट जोगाउदै सोभियत संघलाई अभूतपूर्ब बिकासको बाटोमा अग्रसर तुल्याइयो । वास्तवमा ३०० बर्षमा पूँजीवादले गर्न नसकेको चौतर्फी बिकास सोभियत समाजवादले ५० बर्षमा हासिल गरेको बस्तुगत तथ्य स्वयं बिश्वका बिज्ञ पूँजीपति बिशेषज्ञहरुले स्वीकार गरेको थियो । समाजबादको बिकासले हरेक क्षेत्रमा पूँजीवादको एकाधिकारलाई तोडिदिएको थियो भने शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, अन्तरिक्ष अभियान आदिको क्षेत्रमा सोभियत समाजवादले पूँजीवादलाई उछिनिसकेको पनि थियो । बिश्वमै पहिलो पटक अन्तरिक्षमा स्पूतनिक नामको यान छोड्ने काम सोभियात समाजवादले नै गरेको थियो । अन्तरिक्ष यात्रामा पुगेर फर्किएका बिश्व प्रसिद्ध रुसी बैज्ञानिक यूरी गगरिनसँग राज्यले खुशी भएर के माग्नु हुन्छ भनेर ती बैज्ञानिकसँग प्रश्न गर्दा उनले मात्र ‘आफु कम्युनिष्ट पार्टी सदस्य हुन चाहेको’ इच्छा जाहेर गरेका थिए । त्यतिबेला कम्युनिष्ट पार्टी एउटा सदस्य हुनुको कति ठूलो गौरब र गरीमा रहेको थियो भन्ने कुरा यसबाट पुष्टी हुन्छ ।
वास्तवमा सन् १९१७ को फेब्रुअरीमा रुसमा पूँजीवादी क्रान्ति नै सम्पन्न भएको थियो । त्यसले रुसी राज्यसत्ता अस्थाईरुपमा पूँजीवादी अधिनायकत्वको त्यो संस्थाको हातमा सुम्पिएको थियो जसले जारशाहीबाट रुसी राज्यको शासन यन्त्र आफ्नो हातमा लिएको थियो । त्यतिबेलाको राजनीतिक संघर्षमा रुसी र्सबहारा बर्गको हितलाई लेनिन नेतृत्वको बोल्शेभिक पार्टीले प्रतिनिधित्व गर्दथ्यो । सामन्ती जारशाही शासनको बिरुद्धको संर्घष्मा उनकै नेतृत्वमा पेत्रोग्राद(१९२४ मा यसलाई लेनिनग्राद भनिएको थियो भने १९९१ पछि सेण्टपिटर्सबर्ग नै भनियो) का मजदूर सोभियतहरु(रुषी भाषामा परिषद)को स्थापना गर्न थालियो जुन सोभियतमा आरम्भदेखि नै ती सिपाहीहरु पनि सहभागी थिए जो वास्तवमा सैनिक पोशाकमा किसानहरु नै थिए । रुसी मजदुर बर्गले त्यसैबेलादेखि नै टे्रड यूनियनहरु कायम गर्न थाल्यो । कुनै आदेश बिना नै ८ घण्टाको कामको दिन लागु गरियो र क्रान्तिको रक्षाका लागि ‘लाल गार्ड’को पनि गठन गरियो । यसरी र्सबहारा मजदूर र किसान जन समुदायको क्रान्तिकारी जनवादी अधिनायकत्व जुन पेत्रोग्रादमा स्थापना गरिएको थियो त्यसलाई रुसभरी स्थापित सोभियतहरुले साथ दिइरहेका थिए । कुनै राज्यसत्ता त थिएन तर शस्त्रास्त्रले सुसज्जित जनताले त्यसको समर्थन गरिरहेका थिए र वास्तवमा अधिकार पनि तिनकै हातमा थियो । यसरी फेब्रुअरी क्रान्तिले दोहोरो शासन कायम गरेर नयाँ क्रान्तिका लागि स्वयम नै बिऊ रोपेको थियो । यस्तो क्रान्तिको अनिवार्यता यही कुराले निर्धारण गरेको थियो कि जारशाहीका बिरुद्ध संघर्ष गरिरहेका बर्गहरुमा कुनै बर्ग पनि फेब्रुअरी क्रान्तिको परिणामबाट सन्तुष्ट थिएनन् । अप्रिल १९१७ मा निर्वासित भएका नेता लेनिन रुस फर्किए पछि जनवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा परिणत गर्ने स्पष्ट रुपरेखाको योजना बोल्शेभिक पार्टीलाई प्राप्त भयो ।
अक्टोबर महिनासम्म रुसको राजनीतिक संकट अझ गहिरो भएर गएको थियो । अस्थाई सरकारले जुन लडाई चलाएको थियो त्यसले गर्दा देशमा अकाल र बिनाशको माहोल ब्याप्त थियो । मजदूर बर्ग पूँजीपति बर्गका बिरुद्ध अझ बढी सशक्तताकासाथ संघर्षरत हुन थालेको थियो । पेत्रोग्राद तथा मास्कोका सोभियतहरुका वरिपरी देशका अन्य औद्योगिक केन्द्रका सोभियतहरु सबै बोश्लेभिक बनिसकेका थिए । सरकारबाट जमिन नपाएका रुसी किसानहरुले बोश्लेभिकहरुको आह्वानमा आन्दोलित हुदै सामन्त बर्गको जमिन कब्जा गर्न शुरु गरेका थिए । मूख्य मूख्य मोर्चा भित्र रहेका नगर सेनाका बटालियनहरुमध्ये पनि धेरैजसो जनताको हित बिरोधी लडाईबाट थकित भएका थिए र बोल्शेभिकहरुकै बाटोमा लागिसकेका थिए । मजदूर बर्गको अगुवाईमा अधिकांश जनताको समर्थनको साहारा लिएर बोल्शेभिकहरुले लेनिनको नेतृत्वमा सशस्त्र ब्र्रिोहको लागि जनतालाई खुल्ला आह्वान गरे । यस क्रममा १९१७ को अक्टोबर २४ का दिन लेनिन स्मोल्नी भवन पुगे । लाल गार्डका सैनिक तथा बिभिन्न कारखानाका प्रतिनिधिहरु पनि हरेक क्षेत्रबाट त्यहाँ उपस्थित थिए । सर्बहारा बिद्रोहको मूख्य कार्यालय, सैनिक क्रान्ति समितिको बैठक त्यसै भवनको तेश्रो तल्लामा निरन्तर चलिरहेको थियो । त्यो भवनमा पुग्ने बित्तिकै लेनिनले बिद्रोहको प्रत्यक्ष सञ्चालन आफ्नै हातमा लिए । ततकालै बिभिन्न गाडी र साइकलहरुमा सन्देशबाहकहरु शहरतिर हिडे र राजधानीका कारखानाहरु, टोलटोल, सैनिक संगठनहरुमा सैनिक क्रान्ति समितिले आदेश दिन थाल्यो ।
पेत्रोग्रादको सर्बहारा र रेजिमेण्टहरुले काम गर्न थाले । सैनिक चौकीहरु र सरकारी कार्यालयहरुमाथि उनीहरुले कब्जा गर्न थाले । २५ अक्टोबर बिहानसम्ममा नेवा नदीमाथिका सबै पुलहरु, केन्द्रिय दूर सञ्चार केन्द्र, आकाशबाणी कार्याल, पेत्रोग्राद समाचार समिति, रेडियो स्टेशन, रेलवे स्टेशन, बिद्यूत गृह, बैंक र अन्य महत्वपूर्ण सरकारी कार्यालयहरु नौ सेना, लाल गार्ड र सीपाहीहरुले कब्जामा लिइसकेका थिए । शीत महल जहाँ अस्थाई सरकार रहेको थियो र फौजी इलाकाका मूख्य कार्यालहरुलाई छाडेर बाँकी सबै शहर हतियारबन्द सर्बहारा र क्रान्तिकारी सैनिकको हातमा आइसकेको थियो । अब सरकारी शीत महल कब्जा गर्न लेनिनको आदेशका निम्ति नौसेना, लाल गार्ड र क्रान्तिकारी सीपाहीहरु तयार थिए । यसरी सर्बहारा बर्गको बिद्रोहले बिजय पाएको थियो । भोली पल्ट सबेरै सैनिक क्रान्ति समितिले लेनिनले ‘रुसी नागरिकहरुको नाममा’ लेखेको ऐतिहासि ’आहवान’ प्रकाशन गरे । त्यसमा आम जन साधारणलाई यो खबर दिइएको थियो कि केरेन्स्की नेतृत्वको अस्थाई सरकारको सत्ता जनताले पल्टाएका छन् र राज्यसत्ता पेत्रोग्रादका सर्बहारा र नगर सेनाको अगुवाई गर्ने ‘सैनिक क्रान्तिकारी समिति’को हातमा आइसकेको छ । यो क्रान्तिको बिजयको खबर तारद्वारा रुसका कुनाकुना र सबै मोर्चाहरुमा पु¥याइयो । त्यसै दिन दिउसो लेनिनले पेत्रोग्राद नगर सोभियतको असाधारण बैठकमा सोभियत शासनको कत्र्तब्यका बारेमा महत्वपूर्ण भाषण दिए । त्यसको सार थियो : ‘मजदूर र किसानको क्रान्ति सफल भएको छ’ । अनि २६ अक्टोबरका दिन बिहान सबेरै ५ बजे सोभियतहरुको दोश्रो अखिल रुसी काग्रेसको अधिवेशनमा के सूचना सुनाइयो भने ‘अस्थाई सरकारको आखिरी किल्ला शीत महलमाथि पनि जनताले कब्जा गरे । केन्द्रका अरु अरु स्थानमा पनि राज्य शासन सोभियतहरुको हातमा आइसकेको छ’ ।
यसरी सफल भएको श्रमजीवी जनताको महान् अक्टोबर समाजवादी क्रान्तिले बिश्वभरीका मजदूर किसान लगायत सम्पूर्ण श्रमजीवी जनतलाई आफ्नो राज्यसत्ता कायम गर्ने, शोषणरहीत बैज्ञानिक समाजबादको निर्माण गर्ने र एउटा सभ्य, सुसँस्कृत, समुन्नत मानबीय समाजको निर्माण गर्ने जुन सन्देश दियो त्यसको दूरगामी प्रभाव बिश्वभरी प¥यो । सोभियत समाजबादको निर्माण र बिकासले त्यसको अझ पुष्टी ग¥यो । तर गम्भीर सैद्धान्तिक बिचलन तथा आन्तरिक र बाह्य षडयन्त्रका कारणले ७० बर्षम्म चलेको सोभियत संघ अन्ततः बिघटनको सँघारमा पुग्यो । यद्यपि सोभियत समाजवादले बिश्वलाई ठूलो शिक्षा दिएको छ र मानब समाजको गन्तब्यलाई प्रष्टसँग उजागर गर्दै फेरि पनि बिश्वको एक मात्र सुनिश्चित भबिष्यको आसा र भरोसाको बिकल्प बैज्ञानिक समाजवाद नै हो भन्ने प्रेरणा निरन्तर दिइरहेको छ । महान अक्टोबर समाजबादी क्रान्तिको यो धेयलाई सही रुपमा बुझेर अघि बढौं !
वि.सं.२०७७ कात्तिक २२ शनिवार १०:१७ मा प्रकाशित





























