२६ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजकुमार शेख मोहम्मद विन अव्दुल्लाह अल थानीले आमादव्लम हिमालको आरोहण गरेका छन् ।
सातै महादेशका ठूला हिमाल चढिसकेका उनी संसारकै सबैभन्दा सुन्दर हिमाल आमादव्लम चढ्न नेपाल आएका हुन् ।
अमेरिकन र क्यानेडियन टोलीसँगै दशै आगाडि नेपाल आएका उनी एकसाता क्वारेन्टिनमा बसेर दशैंको टिकाको दिन हिमाल चढ्न लुक्ला हिँडेका थिए । राजकुमारको टोली बुधबार बिहान ११ः२० मा आमादब्लमको चुचुरोमा पुग्न सफल भएको थियो ।

उनीहरुको आरोहणको व्यवस्थापन गरेको हिमालयन गाइड्स नेपालका भोला पौडेलका अनुसार राजकुमारको टोली पर्सि काठमाडौं फर्कदैछ । यसअघि सगरमाथा चढिसकेका राजकुमार अब्दुल्लाह यो पटक संसारको सबैभन्दा सुन्दर तर आरोहणका लागि कठिन मानिने हिमालको चुचुरो चुम्न नेपाल आएका हुन् ।
कोरोना संक्रमण र त्यसको त्रासका बीचमा पनि संसारभरी नेपाल ‘सेफ’ छ भन्ने सन्देश दिन आफूहरुले आरोहणको व्यवस्थापन गरेको पौडेलले संसारन्युजलाई जानकारी दिएका छन् । ‘राजकुमारको टोलीको यो आरोहणपछि संसारभर राम्रो सन्देश जावोस् भन्ने उदेश्यले यो आरोहणको व्यवस्थापन गरेका हौं ।’ पौडेलले भने ।

स्मरण रहोस् यसअघि बहराइनका राजकुमारसहितको १८ जनाको टोलीले पनि नेपालको पर्वतारोहण गरेर फर्किसकेको छ । कोरोना महामारीका बेला पनि खाडी देशका राजकुमारहरुको यो आरोहणले खाडी क्षेत्रबाट नेपालमा पर्यटक भित्राउनका लागि सकारात्मक सन्देश जाने पर्यटन क्षेत्रका विज्ञहरु बताउँछन् ।
वि.सं.२०७७ कात्तिक २६ बुधवार १४:५१ मा प्रकाशित






























