सक्ने भए टिपेक्स लगाएर मेटेको भए पनि हुन्थ्यो साथी हो । इतिहास मेट्न दुस्साहस गर्ने साथीहरूले कृष्ण अधिकारीको नाममा जाबो २० रुपैयाँँको टिपेक्स लगाउन किन सकेनन् ?
आज यो पुस्तक मेरो हातमा पर्यो । पुस्तकमा संयुक्त विद्यार्थी आन्दोलनका सहयात्रीप्रति र आन्दोलनमा अग्रमोर्चामा खटिएका नेतामाथि गरिएको ठगी, बेइमानी र धुर्तता छताछुल्ल रहेछ ।
वि.सं. २०६२/६३ को आन्दोलनमा नेविसंघ, अनेरास्ववियुसहित अखिल (एकीकृत), विभाजनपछि अखिल (छैठौं) र त्यतिबेलाका अध्यक्ष कृष्ण अधिकारीको नेतृत्वदायी र संयोजनकारी भूमिका थियो । उहाँकै नेतृत्वमा आन्दोलनमा टाउका फोर्ने र हिरासत बस्ने हामी पनि थियौं । बरु अखिल (क्रान्तिकारी) संस्थागत रुपमा सामेल थिएन । आठ विद्यार्थी संगठनको नामबाट प्रकाशित यो पुस्तकमा अखिल (छैठौं)लाई समावेश गरिएको रहेनछ । वि.सं. २०६७ मा यो पुस्तक प्रकाशित हुँदा हामीले १६ औं राष्ट्रिय सम्मेलनसमेत गरिसकेका थियौं ।
अखिल(छैठौं)ले आन्दोलनमा खेलेको सम्पूर्ण भूमिकालाई निस्तेज पारिएको रहेछ । यो पुस्तकमा त्यतिबेलाका सबै अध्यक्ष र पूर्व अध्यक्षहरुको लेख छापिएको छ । तर कृष्ण अधिकारीको लेख मागिएको समेत रहेनछ । अखिल (छैठौं)को नामनिशान मेटाउने प्रयत्न गरिएको रहेछ । त्यतिबेलाका वक्तव्यहरुमा कृष्ण अधिकारीको मेटाइएको रहेनछ । सक्ने भए टिपेक्स लगाएर मेटेको भए पनि हुन्थ्यो साथी हो । इतिहास मेट्न दुस्साहस गर्ने साथीहरूले कृष्ण अधिकारीको नाममा जाबो २० रुपैयाँँको टिपेक्स लगाउन किन सकेनन् ?
पुस्तकमा कृष्ण अधिकारीको नाम मेटेर वक्तव्यहरु किन छापिएन ? आज मैले यो प्रश्न विक्की यादव, लेखनाथ न्यौपाने, प्रदीप पौडेल, रामकुमारी झाँक्री, ओम अर्याल, पदम जोशी र नारायण कोजू तथा सम्पादकहरु माधव ढुंगेल, मनोजमणि आचार्य, जागृत रायमाझी र हिमाल शर्मालाई सोध्न चाहन्छु । अखिल (छैठौं) र कृष्ण अधिकारीको नामनिशान मेटाउन तपाइँहरुलाई अलिकति लाजशरम भन्ने केही लागेन ? अलिकति ग्लानी पनि महसुस भएन ? तपाइँहरुलाई त्यतिबेला कस्तोखालको नैतिकताको भूत सवार भयो ? कि अखिल (छैठौं) प्रतिगामी कित्तामा गएको महसुस भयो ? मेरो मनमा दर्जनौं प्रश्नहरु उठेका छन् ।
त्यतिबेला कृष्ण अधिकारी नभएका बैठक फिक्का हुन्थे । डिल्लीबजारमा रहेकोे कार्यालयबाट नेपाल बन्दको घोषणा हुन्थ्यो । आन्दोलनमा सबैका दाइ कृष्ण अधिकारी नै थिए । तिनै अधिकारीलाई त्यसरी निस्तेज कसरी पार्न सक्नुभयो साथीहरू ?
तपाइँहरु र कृष्ण अधिकारीसँगै मैले पनि टाउको फोरेको हुँ, हिरासत बसको हुँ । आन्दोलनमा एक दिन पनि गयल नभइकन हाजिर भएको हुँ । समयको कालखण्डमा म अध्यक्ष भएको संगठनको नाम निशाना मेटाउने प्रयत्न भएको देख्दा अखिल (छैठौं)को इतिहास तपाइँहरुको एउटा पुस्तकले मेटाउन सक्दैन भन्ने कुरा जानकारी हुँदाहुँदै पनि धेरै पीडाबोध भयो ।
युवा पुस्ताका नेतृत्वले आन्दोलनमा सँगसँगै टाउका फोर्ने, सँगसँगै जेल बस्ने आफ्नै सहयात्रीको इतिहास मेटाउने यति ठूलो दुस्साहस गर्न सक्छ भन्ने मैले कल्पना पनि गरेको थिइन । यसको जवाफ त्यतिबेलाको नेतृत्व र सम्पादक समूहले हामीलाई दिन सक्नुपर्छ ।
वि.सं.२०७७ मंसिर २ मंगलवार १९:४१ मा प्रकाशित






























