२९ पुस, बैतडी। देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर बैतडीको पाटन नगरपालिकाको तेस्रो नगरपरिषद् बिहीबार सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि रु १२ करोड ६७ लाख आठहजार दुईसय २० को बजेट सार्वजनिक गर्दै नगरपरिषद् सम्पन्न भएको हो । परिषद्ले चालुतर्फ, पुँजीगततर्फ, सामाजिक सुरक्षातर्फ, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले चालु आवकोे संशोधित बजेट र आगामी आवकोे बजेट प्रस्तुत गर्नुभएको हो ।
देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर पाटन भएकाले पनि नगरपरिषद्ले नमुना सहरलाई दृष्टिगत गर्दै आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको कार्यकारी अधिकृत ओडले बताउनुभयो ।
नगरपालिकाले नगरपरिषद्बाट विभिन्न पाँचओटा कार्यविधि र नगर यातायात गुरुयोजना–२०७३ समेत पारित गरेको छ । पारित भएका कार्यविधि र नगर यातायात गुरुयोजनाले नगरपालिकालई व्यवस्थित गर्ने विश्वास लिइएको छ ।
पाटन नगरपालिकाको तेस्रो नगरपरिषद्ले ३१ ओटा विभिन्न नीतिलाई अङ्गिकार गर्ने भएको छ । नगरपालिकालाई ५ वर्षभित्र सडक सञ्जालमा जोड्नेदेखि लिएर शून्यफोहर नगरपालिका बनाउने सम्मका नीति अख्तियार गरिएको छ ।
यस्तै, नगरपालिकामा सञ्चालन हुने हरेक योजनालाई प्रभावकारी र पारदर्शी बनाउनका लागि पनि नीतिमै उल्लेख गरिएको छ । कार्यकारी अधिकृत ओडको अध्यक्षतामा सम्पन्न भएको तेस्रो नगरपरिषद्मा बैतडी क्षेत्र नं १ का पूर्वसभासद् नरेन्द्र कुँवर प्रमुुख अतिथि रहनुभएको थियो ।
परिषद्मा प्रजिअ किशोरकुमार चौधरी विशिष्ट अतिथि रहनुभएको थियो भने विभिन्न राजनीतिक दलका पदाधिकारी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रलगायत नगरवासीको सहभागिता रहेको थियो । परिषदमा सहभागीले नगरपालिकाले प्रस्तुत गरेका नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिएका छन् । रासस
––––––
वि.सं.२०७३ पुस २९ शुक्रवार ०२:५४ मा प्रकाशित