
काठमाडौं । नेकपाको स्थायी समिति बैठकमा उपस्थित नभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अनुपस्थितिको कारण खुलाउँदै पत्र पठाएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ओलीले पठाएको पत्र बाचन गरेपश्चात नै बैठकको सुरुवात गरिएको थियो ।
उनका अनुसार ओली निकट मानिने नेता ईश्वर पोखरेलले पत्र बाचन गरेर सुनाएका थिए । ‘आजको बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली उपस्थित हुनु भएन्, उहाँले आफ्नो अनुस्थितिको कारण खुलाउँदै बैठकलाई सम्बोधन गरेर एउटा पत्र लेख्नु पठाउनु भएको छ’, बैठकपछि पत्रकारसँगको कुराकानीमा उनले भनेका छन्, ‘बैठकको प्रारम्भमै सचिवालयका सदस्य कमरेड ईश्वर पोखरेलले बाचन गरेर स्थायी कमिटीको बैठकलाई जानकारी गराउनु भएको थियो ।’
उनका अनुसार ओलीले पत्रमा प्रचण्डको प्रस्ताव छलफल गर्न नसकिने भन्दै आफुँ उपस्थित नभएको बताएका छन् । ‘कमरेड ओलीले आफ्नो पूर्वमान्यता अर्थात अध्यक्ष कमरेड प्रचण्डको प्रस्तावलाई औपचारिक बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसैकारण आफुँ बैठकमा नआएको उल्लेख गर्नुभएको छ’, पत्रबारे प्रवक्ता श्रेष्ठले भनेका छन् ।
यसअघि शनिबार बसेको सचिवालय बैठकमा पनि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव छलफल हुन नसक्ने भन्दै फिर्ता हुनुपर्ने अडान दोहोर्याएका थिए । उनले स्थायी समिति बैठकको पनि औचित्य नरहेको बताएका थिए ।
ओलीले बैठक गर्ने विषयमा असहमती जनाए पनि प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले बैठक बोलाएका हुन् । आजको बैठकमा ओलीबाहेकका ४३ स्थायी समिति सदस्य उपस्थित भएका थिए । बैठकमा ओली निकट मानिने सदस्यहरु पनि उपस्थित थिए ।
प्रधानमन्त्री ओली भने बैठक सुरु हुने बेलामा राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । जसपश्चात नै उनले पत्र पठाएर नआउने जानकारी गराएका थिए ।