श्रीमान मरेपछि जिन्दगीको खुशी सकियो भनेर सिन्दुर पुछिदिने, चुरापोते श्रीमानसँग चढाइदिनुपर्ने परम्पराविरुद्ध उनी उदाहरणीय पात्र हुन् । सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरुले उनको निर्णयको समर्थन जनाएका छन् । तर रेनुले गरे जस्तो परिवर्तनलाई यथार्थमा व्यवहारमै ल्याउने गरी निर्णय गर्न हामी धेरैले अझै सक्दैनौँ । यसले के संकेत गर्दछ भने त्यस्ता परम्परा नराम्रा हुन् भन्ने मनले मान्दा मान्दै पनि प्रचलनविरुद्ध जाने आँट हामी गर्न सक्दैनौँ ।
सामाजिक सञ्जालमा सोमबार दुई महिलाको चर्चा रह्यो । केही वर्षअघि श्रीमान गुमाएकी नायिक स्वेता खड्काले विवाह गरेकी छन् । उनको वैवाहिक जीवन सफलताको शुभकामनाका सन्देशहरुले सञ्जालहरु रंगिरहेका छन् । अर्कोतर्फ आज बिहानै एक महिलाको साहसिक निर्णयको समाचारलाई धेरैले स्वागत गरिरहेका छन् ।
झापाको विर्तामोड नगरपालिका ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेको खबर सलाम योग्य मात्र छैन, समाज रुपान्तरणको आन्दोलनमा कैयौँ ईटा थपेकी छन् ।
पुरानो सामाजिक मान्यताबाट बुझ्दा दुवै महिलाको निर्णय साहसिक हुन् । हिजोका तुलनामा श्रीमान मरेका विधवाले रातो लगाउने र पुनः विवाह गर्ने क्रम बढ्दै गएको छ । अझ स्वेता खड्का जस्तो सेलिब्रेटीले विवाह गर्नु खासै ठूलो कुरा मानिदैन पनि । विधवा भएर पुनः विवाह गर्नेको सूचिमा उनी पनि थपिँदा महिलामाथि थोपरिएका सामाजिक कुरुति क्रमशः हट्दै जान भने थप बल पुगेको छ ।
तर रेनुको निर्णयलाई भने सामान्य मात्र मान्न सकिन्न । श्रीमान मरेपछि जिन्दगीको खुशी सकियो भनेर सिन्दुर पुछिदिने, चुरापोते श्रीमानसँग चढाइदिनुपर्ने परम्पराविरुद्ध उनी उदाहरणीय पात्र हुन् । सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरुले उनको निर्णयको समर्थन जनाएका छन् । तर रेनुले गरे जस्तो परिवर्तनलाई यथार्थमा व्यवहारमै ल्याउने गरी निर्णय गर्न हामी धेरैले अझै सक्दैनौँ । यसले के संकेत गर्दछ भने त्यस्ता परम्परा नराम्रा हुन् भन्ने मनले मान्दा मान्दै पनि प्रचलनविरुद्ध जाने आँट हामी गर्न सक्दैनौँ । विवाहमा वा अन्य खुशीका कार्यहरु गर्दा कसैले कुनै पुरानो परम्परा नमान्दा खासै टिकाटिप्पणीको विषय बन्दैन । ‘नगरे ठिकै छ’ भन्ने अर्थमा सबैले सहजै स्वीकार्छौ तर मृत्युको दुःखमा हिजो देखिका परम्परा विपरित जाने कुरा निकै गाह्रो हुन्छ ।
मान्छे मरेपछि गर्ने कर्मले मरेको व्यक्ति स्वर्ग वा नर्कमा जान्छ भन्ने कुरामा म विश्वास गर्दिन । तर पनि समाजका अगाडि मान्दिन, विश्वास गर्दिन भन्न नसकिने रहेछ । दुःखमा रहेको बेला यस्ता कुरा गर्दा कसैको मन झन दुख्छ की भन्ने डर अगाडि आउँदो रहेछ । आफन्तको चित्त दुखेको हेर्न सकिँदो रहेनछ ।
मेरो तत्कालको अनुभव छ । करिब दुई महिना पुग्न लाग्यो, मेरो बुबाको मृत्यु भएको । बुबा पनि मरेपछि भन्दा जिउँदैमा स्वर्ग नर्क हुन्छ भन्ने कुरामा विश्वास गर्नुहुन्थ्यो । तर पनि बुबाको मृत्युपछि समाजले गर्ने निर्णय विरुद्ध जान सकिएन । आमाले लगाइ रहनु भएको चुरापोते बुबा सँग जलाइयो । बुबालाई जलाएर आएपछि आमाले लगाउनु भएको कपडा बारीमा गाडियो, तर पनि मैले त्यो कपडालाई नगाडौँ भन्न सकिन, तर मेरो मनले अझ पनि ती कपडा धोइवरी आङ नाङ्गो हुनेहरुलाई दिन पाएको भए हुन्थ्यो भन्ने भित्रभित्र पीडा र छट्पटी अहिले पनि भैरहेको छ । तर त्यत्तिखेर मनले प्रचलन अस्वीकार गर्दागर्दै पनि बुबाको मृत्युको पीडा, अनि फेरि यस्ता विषय उठ्दा पक्कै पनि समाजका लागि टिकाटिप्पणीका विषय बन्छ, जसले परिवारमा थप पीडा हुन्छ भन्ने लाग्यो र चुप लागेर बसेँ । तर पछि सुतेका म्याटहरु, लगाएका कपडाहरु पोल्दा एकातिर वातावरण प्रदुषण हुने अर्कोतर्फ कपडा नभएर नाङगो आङ भएकालाइ सम्झेर पोल्नु हुँदैन, बरु कसैलाई दिँदा हुन्छ भन्नेमै सबैको मन्जुरी भयो र केही पोलिएन । यति गर्दा भने मनलाई केही शान्ति मिल्यो ।
मनले नमान्दा नमान्दै पनि परिवेशले मान्नै पर्ने यस्ता परम्पराहरु समाजमा जडको रुपमा बस्दै आएका छन् । पुरुषप्रधान समाजमा महिला भनेपछि त्यसै त दोसो दर्जामा गनिन्छन् भने अझ पति बिनाको जिन्दगी कस्तो होला हामी सबै अनुमान गर्न सक्छौँ । पतिको मृत्युसँगै महिलाको जिन्दगी नै सकिएको मान्ने परम्परा छ । रातो लगाउँदा राम्री देखिने, राम्रो देखिँदा परपुरुषको आँखा लाग्ने भएर ‘राम्रो भएर हिड्न नपाउने’ सोचमा विधवाले चुरापोते लगाउन नहुने सेतो पहिरनमा बस्नु पर्ने नियम बनाइएको हो । गलत परम्परा मान्दा मान्दै पनि सकरात्मक रुपमा सोच्दा श्रीमानको मृत्युपछि श्रीमतीले पनि घर छोडेर अन्त हिडिन् भने बच्चाबच्चीको अवस्था बिजोग हुन्छ भन्ने अर्थमा विधवाले विवाह गर्न हुँदैन भन्ने परम्परा बनाइएको पनि हुनसक्छ । किनकी बाबु बिनाको घर सम्हाल्न आर्थिक रुपमा कठिन त होला तर आमाबिनाको बच्चा हुर्काउने कुरा अत्यन्त गाह्रो हुन्छ । तर यसको अर्थ यो होइनकी महिलाले आफ्नो खाने, हिड्ने, लगाउने कुरामा पनि समाजले बन्देज लगावोस् । यहाँ नेर मननीय कुरो के हो भने श्रीमान जीउँदो छँदै निधारभरी टीका, पोते र सिन्दुर घसेका महिलाहरुले पनि व्यवहारमा एकलपति अँगालेको नपाइन सक्छ भने श्रीमानको मृत्युपछि पनि श्रीमानको सम्मानमा समर्पित भएर बसेको पनि पाइन्छ नै ।
गुमाउने बित्तिकै महिला अवला र कमजोर मानिन्छिन् । यस्तो अवस्थामा प्रचलन विपरित अर्थात् चलिआएको चलन विपरित अझ श्रीमान मरेपछि घाटबाटै सिन्दुरपोते सहित घर फर्किएर रेनुले देखाएको साहस उदाहरणीय हो र हुनुपर्दछ पनि ।
समाजको पुरानो अचाक्ली तोडन सुरुवात कसैले न कसैले गर्नै पर्दथ्यो, त्यो रेनुले गरिन् । रेनुको यो साहसिक निर्णयमा पक्कै पनि क्रमशः ईटा थपिँदै जाने छन् । उनी आफ्नो निर्णयमा अडिग छन् र खुशी हुन सकिन भने भोलिका दिनमा पनि उनले यस्ता अन्य परिवर्तनशिल निर्णय गर्ने नै छिन् । उनले समाज परीवर्तनका लागि सचेततापूर्वक यस्तो गरेकी हुन भने भन्नैपर्दछ वाह ! रेनु ।
मान्छे परिवार र समाजबाट छुटिएर बस्न सक्दैन् । जति नै सेलिब्रेटी भएपनि स्वेतालाई समाजका त्यस्ता कतिपय प्रचलनले समस्यामा पारेको थियो नै र आउँदा दिनमा पनि कतिपय अवस्थामा विगतले दुःख दिन पनि सक्छ त्यस्तो अवस्था आए भागेर र पछि हटेर होइन डटेर अघि बढ्नु पर्दछ । पुनविवाहको आँट गर्ने अवस्था आयो भने भागेर र आफै आफैँमा पिडित भएर बस्ने होइन भन्ने कुरा अब सामान्य भैसकेको छ । खुलेर जिउनु पर्दछ, उनी यो समाजले आशा गरेकी एक प्रतिभा भएको कारण पनि यो आँटलाई सकरात्मक र उदाहरणिय पाठमा बदल्ने काम स्वेताले पक्कै गर्नेछिन ! बधाई छ र दाम्पत्य जीवनको सफलताको शुभकामना पनि ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार ०९:४५ मा प्रकाशित






























