२८ मंसिर, काठमाडौं । पुननिर्माणको काम धमाधम भईरहेको ऐतिहासिक सम्पदा धरहरामा तीन महिनाभित्र गजुर राख्न मिल्ने भएको छ । पुननिर्माणको काम गरिरहेको रमन कन्स्ट्रक्सनका अनुसार हालको गतिमा काम भएमा तीन महिनाभित्र गजुर राख्न सकिने भएको हो ।
कम्पनीले जनाएअनुसार हालसम्म १९ औं तलाको ढलानसहितको काम सम्पन्न भईसकेको छ । ‘कोभिडका कारण काम समयमा सम्पन्न गर्न नसकिए पनि अबको तिन महिनाभित्र २२ तला सम्पन्न गरि गजुर राख्न सकिन्छ’, कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले भने ।
कन्स्ट्रक्सनले २०७५ असोज २० देखि पुननिर्माण कार्यको थालनी गरेको थियो । तर, पछिल्लो कोरोना महामारीका कारण भएको लकडाउनले निर्माणको काम प्रभावित हुन पुगेको थियो ।

यसबीच समयमा काम सम्पन्न गर्न नसेकपछि रमनले थप २१ महिनाको समय प्राधिकरण समक्ष मागेको थियो । तर, प्राधिकरणले भने ९ महिनाको समय सिमा मात्र रमनलाई दिएको छ ।
प्राधिकरणले थप गरेको समय सीमाभित्र सम्पूर्णकाम सम्पन्न गर्न नसकिने भएपनि मुख्यकाम सम्पन्न गर्ने गरि काम भैरहेकोे प्रोजेक्ट म्यानेजर श्रेष्ठले बताए । ‘थप गरिएको समयमा धरहराको मुख्यकाम सकाउने गरिकाम भइरहेपनि पछि थप गरिएको कामको लागि भने त्यो समय सीमा पर्याप्त छैन् ।’
उनका अनुसार धराहरा पुननिर्माणको ५२ प्रतिशत भौतिक काम सम्पन्न भइसकेको छ । धरहराको डबल बेसमेन्ट पार्किङसहित २० तला सम्पन्न हुने क्रममा रहेको छ ।
धरहरा पुननिर्माण प्रोजेक्ट अन्तरगतकै मुख्य म्यूजियम निर्माणको साइट केहिसमय अघि मात्र पाएको र त्यसको कामपनि धमाधम भै रहेको उनले बताए । मुख्य म्यूजियम रहने स्थानमा ट्रिपल बेसमेन्टसहितको पार्किङ बन्ने छ । जहाँ ४०० साना गाडि र ७०० बाईक अटाउने छ ।

त्यस्तै सुन्धारालाई जिबित राख्नको लागि आवश्यक सर्बेको काम सम्पन्न भएको र पुरानो धरहरा लाई संरक्षण गर्नको लागि प्राधिकरणसँग समन्वयन भै रहेको श्रेष्ठले बताए ।
२२ तलको धरहरा पुननिर्माणका लागि रमनले ३ अर्ब ४५ करोड भ्याटसहितमा निर्माणको ठेक्का पाएको थियो । त्यसबाहेक रमनले पछि थप ५० करोडमा म्युजियलगायतको संरचना निर्माणको थप काम पाएको थियो । प्रोजेक्ट म्यानेजर श्रेष्ठका अनुसार रमनले पाएको पुननिमार्णको सम्पूर्ण काम सम्पन्न गर्नको लागि अझ्mै १५ देखि १६ पहिनाको समय लाग्ने छ ।
सम्बन्धित समाचार
वि.सं.२०७७ मंसिर २८ आइतवार १६:२३ मा प्रकाशित






























