
पुस १, काठमाडाैं। संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारीपछि तिव्र असन्तुष्ट बनेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरु सक्रिय बनेका छन् । स्थायी समिति बैठकअघि सहमत गराउन उनीहरु सक्रिय बनेका हुन् ।
स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्डलाई भेट्न बुधबार बिहानै खुमलटार पुगेका थिए । उनले प्रचण्डलाई अध्यादेशबारे अर्का अध्यक्षसँग छलफल गर्न आग्रह गरेको बुझिएको छ ।
यसअघि अध्यादेश जारी भएलगत्तै पनि सुवासचन्द्र नेम्वाङ्ग प्रचण्डलाई सोही आग्रह लिएर खुमलटार पुगेका थिए । तर, प्रचण्डले छिनोफानो बैठकबाटै हुने निष्कर्ष सुनाएको बुझिएको छ ।
स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले अध्यादेश खारेज गर्न निर्देशन दिने तयारी गरे लगत्तै ओली पक्षीय नेताहरुले प्रचण्डलाई मनाउन सक्रियता बढाएका हुन् । अध्यादेश जारी लगत्तै प्रचण्डसहितका नेताहरुको भेलाले अध्यादेश खारेज गर्न बैठकबाट निर्देशन दिने निष्कर्ष निकालेको थियो ।
नेकपाको स्थायी समिति बैठक अपरान्ह १ बजे बस्ने कार्यतालिका छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्ने यसअघिकै बैठकले तय गरेको थियो ।