पुस ९, काठमाडौं । गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता रामबहादुर थापा ‘बादल’ले प्रचण्ड–नेपाल समुह दुश्मनको जालमा परेको टिप्पणी गरेका छन् । बिहिबार ओली पक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
बादलले प्रचण्ड–नेपाल समुहको ध्यान क्रान्तिका उपलब्धिहरु उल्ट्याउन केन्द्रित रहेकोसमेत आरोप लगाए । ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ, उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ’, बादलले भने ।
बादलले नेकपा विभाजन नभएको भन्दै प्रचण्ड–नेपाल समुह जानु गुट अलग भएको मात्रै भएको टिप्पणी गरे । नेकपाभित्र देखिएको पछिल्लो घटनाले प्रतिक्रियावादीले उत्सव मनाईरहेको बादलको भनाई छ । ‘नेकपाबाट एउटा गुट अलग भएको छ’, उनले भने, ‘प्रतिक्रियावादीहरूले उसमा खुशी र उत्सव मनाइरहेका छन्, जनतना दुखित भएका छन् ।’
संसद विघटन क्रान्तिकारी कदम
गृहमन्त्रीसमेत रहेका नेता बादलले संसद विघटन गर्ने कदम क्रान्तिकारी भएको बताएका छन् । उनका अनुसार संसद विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको हो ।
बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ ।’
वि.सं.२०७७ पुस ९ बिहीवार १५:२२ मा प्रकाशित






























