back
CTIZAN AD

घरघरमा पानी पुग्दा स्थानीयवासी हर्षित

वि.सं.२०७७ पुस १० शुक्रवार

630 

shares

१० पुष, बागलुङ । सुखौरा भन्ने बित्तिकै बागलुङको दक्षिणको सबैभन्दा दुर्गम गाउँका रूपमा परिचित छ । बरेङ गाउँपालिका–५ सुखौरा दुर्गम भनेपछि केही अभाव नहुने कुरै भएन तर सुखौरासँग जोडिएको अर्को चरम अभाव भनेको खानेपानीको समस्या हो ।

हिउँदको समयमा दुई घण्टा लगाएर खानेपानी बोक्नु सुखौरावासीको नियति नै हो । सुखौरामा ४० वर्षदेखि खानेपानीको चरम अभाव छ । सुखौराको एक÷दुई टोलमा होइन, साविक सुखौरा गाविस नै पानीको हाहाकारमा बाँच्दै आएको छ ।

सुक्खा क्षेत्र भएकाले सुखौरा आसपासमा पर्याप्त खानेपानीको स्रोत नहुँदा समस्या झेल्दै आएका सुखौरावासीको सपना भने अबको एक वर्षमा पूरा हुने भएको छ । सुखौराको २५८ घरमा लिफ्टमार्फत खानेपानी ल्याउने काम दुई वर्ष अघिदेखि शुरु भएसँगै सुखौराका जनताले सुखको सास फेर्ने भएका छन् ।

जिल्लाको सबैभन्दा बढी खानेपानीको अभाव भएको यस क्षेत्रमा गण्डकी प्रदेश सरकारले दुई वर्षदेखि लिफ्टमार्फत खानेपानी पुर्याउने गरी आयोजना सञ्चालन गरिरहेको छ ।

रु सात करोड ९८ लाखको लागतमा सुखौराका एक हजार ५४८ जनसङ्ख्यालाई पुग्ने गरी बृहत् खानेपानी आयोजनाको काम धमाधम चलिरहेको छ । सुखौराको धम्पु र बाहुनडाँडामा सात वर्षअघि खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत सोलारबाट ५६ घरमा खानपानी पुर्याए पनि अन्य घरमा चरम सङ्कट रहँदै आएको छ ।

आयोजनाको काम धमाधम निर्माण भइरहको र अहिलेसम्म ६० प्रतिशत आयोजनाको काम सकिएको खानपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर विक्रम शाहले जानकारी दिए ।

“आयोजना दु्रतगतिमा अगाडि बढेको छ, खानेपानीको सङ्कट भएको सुखौरामा एक वर्षको सेरोफेरोमा लिफ्टमार्फत पानी वितरण गर्छौँ”, शाहले भने, “खानेपानीको स्रोत नभएको सुक्खाग्रस्त क्षेत्रमा लिफ्टमार्फत खानेपानी पुर्याउने गण्डकी प्रदेश सरकारको योजनाअनुसार सुखौराका जनतालाई खानेपानी प्रदान गर्न थालिएको हो ।”

सुखौराका अधिकांश समुदायले हिउँदको फागुन, चैत, वैशाख र जेठ महिनामा दुई घण्टा हिँडेर पानी ल्याउने गरेको स्थानीय अमृता पुनले जानकारी दिए । “अन्यत्र विकासका ठूलाठूला काम भएको सुनिन्छ, हाम्रो गाउँमा खानेपानी ल्याउनै दुई घण्टा हिँड्नुपर्ने समस्या छ”, उनले भने, “गृहिणी महिलाको जीवन पानी बोकेरै जाला कि भन्ने थियो तर अहिले लिफ्टमार्फत पानी आउने भएको छ, हाम्रा धारामा खानेपानी नै ठूलो विकास हो ।”

हिउँदको समयमा खानेपानी बोक्दाबोक्दै अन्य काम गर्न नभ्याउने समस्या भएको स्थानीय कुमारी पुर्जाले बताइन् । “दैलोमै खानेपानी आउने सपना पूरा हुने भएको छ, खानेपानी आयोजनाको श्रमदानमा खटिरहेका छौँ” पुर्जाले भनिन्, “अबको एक वर्षमा धारामा पानी आउने आस छ, खानेपानीको ४० वर्षदेखिको सपना पूरा हुने भएको छ ।

खानेपानी आयोजना शुरु भएको २०७५ चैतदेखि अहिलेसम्म रु दुई करोड ६२ लाख ३८ हजार खर्च भइसकेको बरेङ सुखौरा लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष अनिल भट्टराईले जानकारी दिए ।

सात वर्ष दुबईमा बसेर घरमा आएका भट्टराईले पुनः विदेश जाने प्रक्रिया बढाएको समयमा खानेपानी आयोजना बन्ने भएपछि विदेश त्यागेर खानेपानी आयोजनालाई सार्थकता तुल्याउन लागिपरेको बताए ।

“देश विदेशको विकास हेरियो, आफ्नो गाउँमा खानेपानी बोक्न दुई घण्टा लाग्छ”, भट्टराईले भने, “बसाइँसराइले गर्दा समितिमा बसेर खट्ने मान्छे गाउँमा नभएकाले आफँै अध्यक्ष भएर काम गरिरहेको छु, अबको एक वर्षमा आयोजना सक्ने लक्ष्य छ ।”

उनका अनुसार तम्मुखोला छेउमा रहेको मुहानमा एक लाख लिटरको ट्याङ्की निर्माण गरी एक हजार २५० मिटरमाथि पुर्याएर सुखौरा गाउँलाई वितरण गर्ने गरी आयोजना निर्माण भइरहेको छ ।

मुहानको पानीलाई ६४५ मटिरमाथि पुर्याएर ट्याङकीमा हालिन्छ, त्यहाँबाट केही गाउँमा वितरणपश्चात पुनः ६४० मिटरमाथि पुर्याएर सुखौराको पूरै गाउँलाई खानेपानी पुर्याइन्छ ।

खानेपानीको मुहान र धम्पुगाउँमा एक÷एक लाख लिटरको ट्याङकी, एक हजार २५० मिटर स्टिल तथा जीआइ पाइप, १५ किलोमिटर वितरण पाइप, १५ शाखा ट्याङ्की, लिफ्टका लागि आवश्यक केन्द्रीय विद्युत्को दुई किलोमिटर प्रसारण लाइन निर्माण, नौ वितरण इन्टेक, मुहानमा शौचालयसहितको एककोठे भवनलगायतका संरचना निर्माण भइसकेका छन् ।

यस वर्ष आयोजना अगाडि बढाउन रु ७४ लाख बजेट विनियोजन भएको छ । अर्को आर्थिक वर्षभित्र बजेट पुगेमा आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको बरेङ–५ सुखौराका वडाध्यक्ष अम्मरबहादुर सरबुर्जाले जानकारी दिए ।

उनले खानेपानी नै सुखौराको मुख्य विकास रहेको भन्दै यहाँका स्थानीयवासीले घरमै पानी आउँदा विकासको महसुस गर्ने आशा व्यक्त गरे । स्थानीयवासीले २० प्रतिशत श्रमदान गर्दै आएका छन् ।

प्रविधिका कारण बस्तीमुनिको पानी बस्तीभन्दा ५०० मिटर माथि पुर्याइनेछ । खानेपानी अभावमा गाउँमा हुनेखाने बसाइँ सरेर बुटवल, पोखरालगायत शहरमा जाने गरेका छन् ।

खानेपानी आएमा बसाइँसराइ रोकिनेमा स्थानीयवासी आशावादी छन् । गाउँमा विद्युत् तथा सडक पुगे पनि खानेपानीको अभावमा सिङ्गो गाउँ छटपटिएको छ । अहिलेको सरकारले जनताको खानेपानी समस्याका विषयमा सुनेको भन्दै स्थानीयवासी हर्षित छन् ।

अब सुखौरावासीको घरघरमा खानेपानी पुग्नेछ । आयोजनामा २२ र २५ हर्सपावरका दुई मोटर जडान, पाइप लाइनका पिलर, वितरण पाइप लाइन र धारा निर्माणको काम मात्रै बाँकी छ ।
रासस

वि.सं.२०७७ पुस १० शुक्रवार १३:१९ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...