
बितेको १२ घण्टामा अमेरिकको राजधानी वाशिङ्गटन डीसीमा घटेका घटनाक्रमले बिश्वमा प्रचलित संसदीय लोकतन्त्रको शक्ति, त्यसको सीमा र कमजोरीहरुलाई राम्रैसँग उदाङ्गो पारिदिएको छ । संसारकै सबैभन्दा पुरानो लोकतन्त्र भएको दाबी गर्ने गरेको अमेरिकाले नब बर्ष २०२१ को जनवरी ६ दिन जस्तो किसिमको अप्रत्याशित, असाधारण र अस्वीकार्य राजनीतिक संकटको साक्षी बनेर अंकित भयो त्यसले देशलाई कुनै पनि अन्यौलपूर्ण र अध्यारो दिशामा लैजान सक्तथ्यो । चरम सत्ता आसक्त डोनाल्ड ट्रम्पले सत्ता नछोड्ने जुन जिद्दी लिइरहेका थिए त्यसबाट यो स्थिति उत्पन्न भएको कुरा जगजाहेर छ । त्यसले गर्दा २२० बर्षको अमेरिकी इतिहासमा एउटा कालो धब्बा त लाग्यो नै । तथापि स्थिति अहिले सम्हालिएको छ ।
यसलाई राजनीतिक बुद्धिमत्ता र संयमको बिजय भएकोरुपमा पनि हेरिदैछ । राष्ट्रपतिमा ट्रम्पलाई हराएर बिजयी बनेका नब निर्बाचित राष्ट्रपति नो बाइडेनले अब अमेरिकाको संबिधानमै निर्धारित समयमा २० जनवरीका दिन पदभार सम्हाल्ने कुरा सुनिश्चित बनेको छ । ट्रम्पले शान्तिपूर्ण सत्ता हस्तान्तरणको हुने कुरा सार्वजनिक गरिसकेका छन् । अब बितेको दुइ महिनादेखि अमेरिकामा जारी राजनीतिक संकट र अनिश्चितताको अन्त्य हुने भएको छ ।
अमेरिकी इतिहासमा एउटा कालो दिनको अन्त्य त भएको छ तर अमेरिकी समाजमा जुन अन्तरबिरोधहरु बर्षौ बर्षदेखि समाधानहीन रहेका र बढ्दै गएका छन् तिनको समाधान सही किसिमले भएन भने जनवरी ६ का दिन देखिएजस्तै किसिमका हिंसात्मक नाटकीय घटनाहरु आगामी दिनमा पनि नदोहोरिएलान् भन्न सकिन्न ।
तर यो संकट टरे पनि कुन गम्भीर यक्ष प्रश्न बाँकी नै छ भने राजनीतिकरुपले नराम्रोसँग बिभाजित गरिएको अमेरिकी समाज पुराना कुराहरुलाई छाडेर नयाँ अध्यायको आरम्भ गर्न अग्रसर होला ? यो प्रश्न बनकाे छ । किनभने ट्रम्पले शान्तिपूर्ण सत्ता हस्तान्तरणको कुरा स्वीकारे पनि आफ्नो संघर्ष जारी रहने घोषणा पनि सँगसँगै गरेका छन् । यो संघर्ष बैध मत गणनामा मात्र सीमित नरहने कुरा निश्चित छ । डोनाल्ड ट्रम्प आफ्नो बितेको चार बर्षको कार्यकालभरी अमेरिकी राजनीति र सामाजिक जीवनमा बर्चश्व राख्दै आएका प्रतिष्ठानसँग जुध्दै आएका हुन् । दक्षिणपन्थी त्यो रुझासँगै उनले ७ करोड मत पनि चुनावमा प्राप्त गरेकै छन् । यो शक्तिका आधारमा उनले आउदा दिनमा कस्तो संघर्ष गर्ने हुन् त्यो बिश्वकै लागि पनि प्रतिक्षाकै बिषय छ ।
यस स्थितिमा नब निर्बाचित डेमोक्रेटिक राष्ट्रपति बाइडेनका अगाडि पनि ठूलो चूनौति रहेको छ । उनले बिभिन्न स्तर र आधारमा बिभाजित गरिएको र बिषाक्त बनाइएको अमेरिकी समाजलाई कसरी एकजुट पार्ने र सम्हाल्ने हुन् त्यो कम महवपूर्ण छैन । बद्लिदो बिश्व परिप्रेक्षमा अमेरिकी नयाँ प्रशासन कसरी अगाडि बढ्छ त्यसले धेरै अर्थ राख्दछ ।
जे होस्, अमेरिकी इतिहासमा एउटा कालो दिनको अन्त्य त भएको छ तर अमेरिकी समाजमा जुन अन्तरबिरोधहरु बर्षौ बर्षदेखि समाधानहीन रहेका र बढ्दै गएका छन् तिनको समाधान सही किसिमले भएन भने जनवरी ६ का दिन देखिएजस्तै किसिमका हिंसात्मक नाटकीय घटनाहरु आगामी दिनमा पनि नदोहोरिएलान् भन्न सकिन्न ।
अहिले अमेरिकी कंग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन तीब्र आग्रह गरेका छन्। अस्ति जनवरी ६ बुधवारका दिन अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले कब्जा गरेपछि विपक्षीहरूले यस्तो आह्वान गरेका हुन्।
यस घटनापछि डेमोक्रेटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका थिए । संसदकी सभामुख न्यान्सी पेलोसीले यदि उनलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समेत समर्थन आवश्यक हुन्छ। तर हालसम्म केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने कुरामा साथ दिएका छन्।
ट्रम्प समर्थहरुको झडपमा परेर चार जनाको निधन भएको छ भने हालसम्म ६८ जना पक्राउ परेको बताइएको छ । तर उता अमेरिकी प्रहरीले पनि राम्रोसँग सुरक्षा दिन नसकेको भनेर त्यो कारबाही व्यापक छानबिनको दायरामा आएको छ।
प्रहरी अधिकारीहरूले दङ्गा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा व्यापक आलोचना खेपिरहेका छन्।
यस स्थितिमा हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम्मेवार सुरक्षा प्रमुखले राजीनामा दिइसकेका छन्। सुमरले सिनेटका सुरक्षा प्रमुखलाई पनि हटाउनुपर्ने माग गरिसकेका छन्।
नब निर्बाचित राष्ट्रपति जो बाइडनले यो परिघटना सम्वन्धमा भनेका छन् –“यदि ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी थिए भने क्यापिटलमा हिजो हुलदङ्गा गर्नेहरूलाई भन्दा अलग व्यवहार गरिदैँन थियो भनेर मलाई कसैले भन्नसक्ने छैनन्।’’
उता यूएस क्यापिटल हिलका प्रहरीका प्रमुखले चाहिँ आफ्ना अधिकारीहरूले अपराधिक र दङ्गायुक्त व्यवहारको सामाना गरेको र अधिकारीहरूको कार्य नायकले गर्नेजस्तै भएको बताएका छन् ।
तर सभामुख पेलोसीले भने उनलाई राजीनामा गर्न आह्वान गरिसकेकी छन्।
वाशिङ्गटन डीसी प्रहरी यूनियनले भने त्यस्तो घटनाका लागि क्यापिटल प्रहरी जनशक्ति र स्रोतका हिसाबले कमजोर रहेको औंल्याएको छ ।
यो हमलाकारी घटनालाई लिएर ट्रम्प प्रशासनका कैयौँ अधिकारीहरूले राजीनामा दिएका छन्। त्यसरी राजीनामा दिनेमा यातायातमन्त्री एलेन चाओ अन्तिम उच्च अधिकारी भएकी छन्।
राष्ट्रपति ट्रम्पलाई हटाउनुपर्ने माग गर्नेमा बाइडनको डेमोक्रेटिक पार्टीका सांसदहरू धेरै रहेका छन्। चक सुमरले एकदिन पनि ट्रम्पलाई राष्ट्रपतिका रूपम राख्नु नहुने बताइसकेका छन् ।
ट्रम्पले यही जनवरी महिनाको २० तारिखका दिन राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ । तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग अहिले तीव्र बन्दै गएको देखिएको छ ।
चक सुमरले ट्रम्पको मन्त्रिमण्डललाई अमेरिकी संविधानको २५औँ संशोधनलाई प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन माग गरे। अमेरिकी संबिधानको उक्त संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा राष्ट्रपतिलाई हटाएर उपराष्ट्रपतिले कार्यभार सम्हाल्न सक्नेछन् ।
त्यसका लागि उपराष्ट्रपति माइक पेन्सले कम्तिमा ८ जना मन्त्रिमण्डलका सदस्यसहित ट्रम्पसँग सम्बन्ध तोड्नुपर्नेछ। तर त्यो अहिले नै सम्भव नदेखिएको बताइन्छ ।
यता मेरिल्यान्डका रिपब्लिकन गभर्नरले समेत ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनुपर्ने बताइसकेका छन्।
बुधवार अमेरिकी संसद् भवनमा हमला भएपछि फेसबुक र ट्विटरले ट्रम्पलाई निश्चित समय केही पनि लेख्न नमिल्ने गरि प्रतिबन्ध लगाइसकेका छन् ।
फेसबुकले पनि अनिश्चितकालका लागि ट्रम्पलाई प्रतिबन्ध लगाइदिएको छ।
फेसबुकका प्रमुख मार्क जकरबर्गले एउटा वक्तव्य निकालेर त्यसको जानकारी दिएका हुन्।
जुकरबर्गले ट्रम्पले संसद् भवनमा भएको हमलाको निन्दा गर्नुको साटो समर्थकहरूको प्रशंसा गरेकाले उनको पोस्ट हटाउनु परेको उल्लेख गरेका छन्।
वि.सं.२०७७ पुस २४ शुक्रवार ११:२७ मा प्रकाशित





























